काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा विघटित प्रतिनिधिसभाका मुख्य दलका शीर्ष नेताहरू सहभागी नहुने भएका छन् । कांग्रेस, तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) र रास्वपाका दोस्रोदेखि तेस्रो तहका नेताहरू मात्रै शुभकामना मन्तव्य दिन महाधिवेशनस्थलमा जाने भएका छन् ।
भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा हुने उद्घाटन समारोहमा विभिन्न १६ वटा राजनीतिक दल र ६ वटा सामाजिक संघ/संस्थालाई बोलाइएको छ ।
शुभकामना मन्तव्य दिन विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् । एमालेले सभापति देउवाकै नाममा पत्र पठाएको भएपनि कांग्रेसबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहभागी हुँदैछन् ।
यस्तै, एमालेले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएको थियो । तर, सो पार्टीबाट नेता देव गुरुङ सहभागी हुने भएका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट महामन्त्री कवीन्द्र बुर्लाकोटी उपस्थित हुने भएका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ उपस्थित हुँदैछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लव पनि उपस्थित भएका छन् ।
एमालेले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेलाई पनि आमन्त्रण गरेको थियो । तर, उनले अनुपस्थित हुने जानकारी गराएका छन् ।
एमालेले जनमत पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई समेत आमन्त्रण गरेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउत काठमाडौं बाहिर रहेकाले उनले पनि आफू नजाने सन्देश पठाएका छन् ।
एमालेले नेपाल पत्रकार महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल वार एसोसिएसन, नेपाल उद्योग परिसंघसहितका ६ वटा सामाजिक संस्थालाई समेत बोलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया