जीवन दाहाल
कक्षा ११ मा शिक्षाशास्त्र अंग्रेजी विषय लिएर पढ्न सुरु गरेदेखि नै एकदिन शिक्षण पेशामा होमिनु नै थियो ।
विभिन्न सामुदायिक र संस्थागत विद्यालयहरूमा अध्यापन गर्दै २०७६–४–२२ मा धादिङ जिल्लामा स्थायी शिक्षकको रुपमा सेवा सुरु गरेर हालै त्रिवि सेवा आयोगको सिफारिसमा जुम्ला क्याम्पस जुम्लामा हाजिर भएपछि विद्यालय शिक्षाको स्थायी सेवाबाट अलग भएको छु । स्थायी शिक्षकको रूपमा धादिङ र नुवाकोटमा गरि दुईवटा विद्यालयमा सेवा गर्ने अवसर जुर्यो । यीनै विद्यालयभित्र र बाहिरका ६ वर्षीय अनुभवलाई सकेसम्म वस्तुगत रुपमा पस्कने जमर्को गरेको छु ।
स्थायी शिक्षण पेशामा प्रवेश
नेपालको परिप्रेक्ष्यमा शिक्षणको स्थायी सेवामा प्रवेश गर्न शिक्षक सेवा आयोगको परीक्षाहरू पार गर्नुपर्ने हुन्छ । यस्ता परीक्षाहरूले शिक्षकहरूलाई वास्तविक कक्षामा प्रवेश गर्न मद्दत गरेको देखिँदैन । परीक्षामा कलम र कागजको माध्यमबाट परीक्षार्थीहरूले अन्य विज्ञहरुले तयार पारिदिएका उत्तरहरु घोकेर र सामान्य ज्ञानका शिक्षण पेशा र विषयवस्तुसँग असम्बन्धित ज्ञानहरु लेखेर सफलता पाउदछन् । ज्ञानमा सीमित परीक्षाहरूले वास्तविक कक्षाकोठामा आवश्यक पर्ने शिक्षण सीप कला अभिवृद्धि र क्षमता बढाउँदैन । अर्कोतर्फ शिक्षण सेवामा प्रवेश गर्न लागेका नवप्रवेशीहरूलाई कुनै सेवा प्रवेश तालिम वा अभिमुखीकरण समेत गरेको पाइँदैन । हालैका वर्षहरूमा केही तालिम प्रदायक संस्थाहरूले सेवा प्रवेश तालिमका नाममा विद्यालयमा हाजिर भई कामकाज सुरु गरिसकेको ५–७ महिनापछि पनि तालिम दिएको पाइन्छ जुन विद्यालयमा हाजिर हुनु अगावै हुनु जरुरी हुन्छ । यसर्थ शिक्षक सेवा आयोगले लिने सेवा प्रवेश परीक्षा बढीभन्दा बढी प्रयोगात्मक हुनुपर्दछ भने सेवा सुरु गर्नु पूर्व नवप्रवेशी शिक्षकहरूलाई कम्तिमा एक हप्तादेखि बढीमा एक महिनासम्मको कार्यक्षेत्रमा आधारित तालिम, अभिमुखीकरण वा मेन्टोरिङ दिनुपर्दछ ।
विद्यालय प्रशासन तथा व्यवस्थापन
हाल नेपालमा सञ्चालित सामुदायिक विद्यालयमा प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, लेखापाल लगायत प्रशासनिक जिम्मेवारी बोकेका व्यक्तिहरु हुन्छन् र विद्यालय व्यवस्थापन समिति नामक एक व्यवस्थापन संयन्त्र पनि हुन्छ । शिक्षकहरु सेवामा प्रवेश गर्दा शिक्षक सेवा आयोगको सिफारिसपछि प्रदेश अन्तर्गतको शिक्षा निर्देशनालयले जिल्लामा पठाउँछ र जिल्लाले शिक्षकको योग्यता क्रम बमोजिम स्थानीय तहमा पठाउँछन् । स्थानीय तहमा पुगेपछि शिक्षकहरुलाई गिजोल्न थालिन्छ ।
विद्यालय र गाउँ वा नगर शिक्षा समितिले आफ्नो स्वार्थ अनुरूपका शिक्षक तान्ने वा हाजिर गराउन नमान्ने जस्ता कार्य गर्दछन् ।
यतिबेलाबाटै शिक्षकहरूमा निराशा सुरु हुन्छ । स्थायी जागिरको जोशजाँगर र उत्साह बोकेर आएका शिक्षकहरूले स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र विद्यालयको विशेषगरी प्रधानाध्यापकको राजनीतिक खिचातानीको चपेटामा पर्नुपर्ने हुन्छ ।
त्यसपश्चात् विद्यालयमा हाजिर भइसकेपछि विद्यालयहरूका अन्य व्यवहारहरू पनि त्यति गतिलो पाइँदैन। नयाँ आएका शिक्षकहरुलाई अन्य शिक्षक स्टाफहरूसँग परिचयात्मक कार्यक्रम राख्ने विद्यार्थी र अभिभावकका बारेमा शिक्षकलाई जानकार गराउने, विद्यालयको नीति, लक्ष्य उद्देश्य लगायत सम्पूर्ण पक्षको जानकारी दिने जस्ता कार्यहरू गरिएको पाइँदैन । नवप्रवेशी शिक्षकहरू अन्य जिल्ला वा सोही जिल्लाको पनि टाढाबाट आएका हुनसक्छन् । उनीहरूलाई खाने बस्ने आदि प्रबन्धमा पनि विद्यालय प्रशासनले सकारात्मक भूमिका खेल्नुपर्ने हो । तथापि यस्तो गरेको भने पाइँदैन । साथसाथै हाजिर भएपछि विभिन्न निकायमा पेश गर्नुपर्ने कागजातहरू बनाउने र पेश गर्ने कार्यमा समेत शिक्षक आफ्नो बिदा खर्च गरेर दौडिनुपर्छ ।
शिक्षक स्टाफ कर्मचारी र विद्यालयको वातावरण
सामुदायिक विद्यालयहरूमा यदाकदा बाहेक राम्रो वातावरण पाइँदैन । प्रअ नियुक्तिदेखि शिक्षक प्रतिनिधि छनौट, सहायक प्रधानाध्यापकको व्यवस्था लगायत लेखापाल, करार, राहत तथा विभिन्न अनुदान दरबन्दीमा शिक्षक नियुक्तिमा राजनैतिक र आर्थिक चलखेल हुन्छ । जसले गर्दा उपयुक्त व्यक्ति उपयुक्त स्थान (राइट म्यान इन राइट पोजिसन) मा नहुँदा थप निराशा बढ्छ । प्रअले विद्यालय तथा विद्यार्थीको सर्बाङ्गिण विकासमा ध्यान नदिने, सोर्सफोर्सबाट नियुक्त शिक्षक तथा कर्मचारीहरुले आफ्नो जिम्मेवारी पूरा नगर्ने, स्थानीय शिक्षक कर्मचारीले ‘यो हाम्रो ठाउँ हो ? हामीलाई कसले के गर्छ ? भन्ने सोचले दैनिक पठनपाठनमा इमान्दारिताका साथ सहभागी नहुने, केही लामो समय शिक्षण पेशा रहेका शिक्षकहरूले ‘आफूले धेरै पढाएको र अब नयाँ साथीहरूको पालो’ भन्दै पुरा जिम्मेवारीका साथ कक्षा लिन नमान्ने जस्ता पेशाप्रतिको बेइमानी प्रस्तुत गर्दछन् ।
साथै अन्य जिल्ला वा स्थानीय तहका शिक्षक जसका घर अपायक हुन्छन् उनीहरू लामो बिदापछि विद्यालय फर्कँदा दुई चार दिन ढिलो गरी फर्किने र जाँदा पनि चाँडै जाने गर्दा बिदाका अगाडी र विशेष गरी बिदाका पछाडीका दुई चार दिन प्रभावकारी ढंगबाट अध्यापन भएको पाइँदैन ।
त्यसैगरी विद्यालयभित्रका विभिन्न पदहरू र कार्यभार बाँडफाँडमा प्रशासनले गर्ने विभेदकारी व्यवहारले समेत शिक्षकहरूमा निराशा पैदा हुन्छन् । त्यति मात्र नभएर शिक्षकहरुले आफूले पढाउन सक्ने विषय, तह, योग्यता आदि अनुसारको कक्षा र पिरियड नपाएर प्रशासनले अवैज्ञानिक र स्वेच्छाकारी ढंगबाट कसैलाई काखा कसैलाई पाखाको भावमा कक्षा र पिरियड संख्या दिँदा नैरस्यता झन् बढेर जान्छ । अर्कोतर्फ विद्यालयमा बिदा लिने र बिदा दिने प्रचलन पनि विभेदकारी र स्वेच्छाचारी छ । कतिपय शिक्षकहरू बिना स्वीकृति बिदामा बस्ने गर्नाले ११ र १२ बजेसम्म पनि को उपस्थित को अनुपस्थित जानकारी हुँदैन ।

यसले गर्दा विद्यार्थी र प्रशासन नै अन्योलमा पर्दछन् । खाली कक्षा व्यवस्थापनमा अप्ठ्यारो पर्न जान्छ बिदा स्वीकृती लिन चाहने र जानकारी दिन चाहने शिक्षकहरुलाई प्रशासनले सहज बिना रोकतोक बिदा नदिई विविध नकारात्मक टिप्पणीहरुले निराशा पैदा भई स्वीकृत लिन झन्झटिलो भएकोले पछिपछि बिना जानकारी नै पनि बिदामा बसेको पाइन्छ । यसरी खास बिदा आवश्यक भएकालाई अनावश्यक टाइट र अन्य स्वेच्छाचारीलाई कुनै कारबाही नहुँदा विद्यालयको अवस्था झनै भद्रगोल हुने देखिन्छ । विद्यालयको प्रशासन र व्यवस्थापनका अनेकन विकृति विसंगतिले गर्दा नयाँ जोश र जाँगर बोकेर आएका शिक्षकहरूमा आफूले जानेका सीप ज्ञान र क्षमताको भरपुर प्रस्तुतिकरण गर्ने कुरामा समेत व्यवधान पर्न जाँदो रहेछ । ‘दुई दिनको चुरीफुरी हो’, ‘यहाँ केही हुँदैन’ ‘कुन ग्रहबाट आउनुभयो’ ‘तपाईं पनि एक दुई दिन हो, पछि आफै बुझ्नुहुन्छ’ भन्ने जस्ता निराशापूर्ण बाणीहरूले शिक्षकहरूलाई पहिलो गाँसमै ढुङ्गा लाग्छ । केही शिक्षकहरु त नयाँ शिक्षकले राम्रो गरेमा आफूभन्दा राम्रो हुने, चर्चामा आउने डाहाले समेत खुट्टा तान्ने कार्य गर्न पछि पर्दैनन् ।
विद्यालयमा प्रवेश गरेकै दिन सोधखोज गरेर भएपनि एउटा राजनीतिक दलको ट्याग लगाइदिनुहुन्छ । त्यसपछी विद्यालयका हरेक क्रियाकलाप, कार्यक्रम र निर्णयहरूमा त्यसको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव देखिन्छन् । शिक्षकहरु विद्यालय हाताभित्र विद्यार्थीका विषयवस्तुका बारेमा भन्दा राजनीतिक दल, नेतृत्व र घटनाक्रमको बारेमा टिकाटिप्पणी गरेर समय बिताउनुहुन्छ । सिर्जनात्मक विधि प्रविधि प्रयोग गरी शिक्षण गर्न चाहँदा कसैबाट सकारात्मक सहयोगको साटो नकारात्मक भावका प्रतिक्रिया सुन्न पाइन्छ । यसरी एउटा शिक्षक योग्य, अनुभवी र जिम्मेवार हुँदाहुँदै पनि वातावरणले उसलाई किमकर्तब्यबिमुढ बनाइदिन्छ ।
सरुवा
शिक्षकको अर्को टाउको दुखाइ हो सरुवा प्रक्रिया । राज्यले शिक्षकलाई एउटा विशेष सुविधा घरपायक सरुवा मानेको छ । अन्य रास्ट्रसेवक कर्मचारीले विविध खालका सुविधा पाउँदा पनि शिक्षकहरूले पाउने भनेको उही घरपायक सरुवा हो ।
तर सरुवा प्रक्रिया फलामको चिउरा जस्तै छ । कुनै एउटा दलको झोला नबोकेसम्म सरुवा लगभग असम्भव छ । तर त्यतिले मात्रै पुग्दैन । सरुवा हुनको लागि दुईवटै विद्यालय, दुईवटै पालिका, अझ विद्यालयहरूका व्यवस्थापन समितिका अध्यक्षदेखि सदस्यहरूसम्म सबैको ढोकामा चहार्नुपर्ने बाध्यात्मक परिस्थिति बनेको छ ।
कतिपयले त सहमतिका लागि आर्थिक चलखेल समेत गराउँछन् । जागिर खानभन्दा सरुवा हुन धेरै गाह्रो हुन्छ । घरभन्दा टाढा परिवार छोडेर बस्नुपर्ने पीडा अर्कोतर्फ सरुवाको कहाली लाग्दो प्रक्रियाले शिक्षण पेशा काउसोको माला हुन्छ । त्यसैले त होला धेरै शिक्षकहरुले जागिर नै राजीनामा गरेर विदेश समेत पलायन भएका छन् । त्यस्तै पछिल्लो समय स्थानीय तहहरूले विद्यालय शिक्षामा अनावश्यक हस्तक्षेप गरेर शिक्षकहरुलाई राजनैतिक प्रतिशोधको आधारमा विविध अपायक ठाउँमा सरुवा गर्दा शिक्षण पेशा र स्थानीय तह बीचको सम्बन्धलाई अत्यन्तै तितो रूपमा हेरिएको छ ।
विद्यार्थी र अभिभावक
विद्यार्थी भनेका वास्तवमै काँचो माटो हुन् । तिनलाई कस्तो आकार दिने भन्ने शिक्षक र अभिभावकको भूमिका रहन्छ ।
खासगरी मैले बिताएका यी ६ वर्षहरुमा भेट भएका विद्यार्थीका अभिभावकहरु एकाध बाहेक अशिक्षित वा अर्धशिक्षित छन् ।
यस्ता अभिभावकका लागि आफ्ना बालबालिका भोलि केका लागि तयार गर्ने भन्ने विषय पूर्णतया अनजानको विषय हो । हाल कसरी लाउन खान दिने भन्ने चिन्ता र फुर्सद हुँदा घरको काममा लगाएर थोरै भएपनि सहयोग लिने भन्ने नै उनीहरुको ध्याउन्न हुन्छ ।
यस्तो अवस्थामा शिक्षक र विद्यालयको एकल दायित्व हुन आउँछ । तथापि विद्यालयको कुनै नीति, दृष्टिकोण वा विशेषगरी प्रधानाध्यापकको सामाजिक उत्तरदायित्व बहनमा देखिएको उदासीनताले विद्यार्थीको भविष्य र अभिभावकको आशामा तुसारापात भएको पाइन्छ । हामी शिक्षकहरूले विद्यार्थीमा अनुशासन नभएको पढ्ने, जाँगर नभएको आदिआदि लान्छना लगाएर पन्छिन खोज्छौँ । यो देशव्यापी नै फैलिएको सरुवा रोगझैँ छ । तर मेरो अनुभवमा यी सबैको जिम्मेवारी हामी शिक्षक, विद्यालय प्रशासन, शैक्षिक प्रशासन र समग्र समाजले नै लिनुपर्दछ । मनमा प्रशस्त सृजनात्मक र परिवर्तनकारी शैक्षिक उन्नयनको योजना हुँदाहुँदै पनि त्यस्ता सपनालाई निमोठ्न एक शिक्षक बाध्य हुने रहेछ ।
माथिका फरकफरक शीर्षकहरूमा व्यक्त मेरा अनुभवहरू नकारात्मक देखिएका हुनसक्छन् । तथापि मैले यी ६ वर्षमा गरेका अनुभवहरूले वास्तवमै नेपाली विद्यालय शिक्षण र शिक्षामा खासगरी सामुदायिक विद्यालयको क्षेत्रमा पूर्णतः निराशा भेटेको छु । सबै विद्यालयहरुलाई एउटै कडिमा राख्न नमिले पनि अधिकांशका सत्य यिनै वा यिनैका वरिपरि छन् ।
(लेखक दाहाल त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन् । उनी हाल कर्णाली प्रदेश अन्तर्गतको जुम्ला क्याम्पसमा कार्यरत छन् । यो लेखकको निजी विचार हो ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया