एनआईसी एशिया बैंकको सीईओ शाक्यले गरे पदभार ग्रहण

लोकपथ
91
Shares

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका नयाँ प्रमुख कार्यकारी अधिकृत (CEO) सुजित कुमार शाक्यले आज औपचारिक रूपमा पदभार ग्रहण  गरेका छन् ।

बैंकको सञ्चालक समितिको ७३६औँ बैठकको निर्णयअनुसार शाक्यलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो ।

शाक्यसँग झन्डै तीन दशकको बैंकिङ अनुभव छ । उनले भारतको नयाँ दिल्लीस्थित दिल्ली विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातक र इन्स्टिच्युट अफ प्रोडक्टिभिटी एण्ड म्यानेजमेन्ट, लखनऊबाट व्यवस्थापनमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् । 

सन् १९९६ मा तत्कालीन नेपाल-श्रीलंका मर्चेन्ट बैंकबाट बैंकिङ करियर सुरु गरेका शाक्यले हिमालयन बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड, र सन् २००७ देखि बैंक अफ एशिया नेपाल लिमिटेडमा बिजनेस बैंकिङ प्रमुखको रूपमा काम गरेका थिए ।

 शाक्यले तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेड र एनआईसी बैंक लिमिटेडको मर्जर प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । मर्जरपछि बनेको एनआईसी एशिया बैंक लिमिटेडमा उनले सहायक महाप्रबन्धक तथा कर्पोरेट बैंकिङ प्रमुखको रूपमा उल्लेखनीय योगदान दिएका थिए । 

 त्यसपछि शाक्यले सिभिल बैंक लिमिटेड, जनता बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड मा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्य गरेका थिए । प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनु अघि उनी नबिल बैंक लिमिटेडमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए । 

एनआईसी एशिया बैंकले विज्ञप्तिमार्फत शाक्यको दीर्घ अनुभव, विश्लेषण क्षमताको गहिराइ र रणनीतिक दृष्टिकोणले बैंकलाई थप सहज, सबल, गतिशील, विश्वसनीय र परिणाममुखी संस्थाको रूपमा अघि बढाउने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?