विदेशिँदै युवा : बाध्यता कि नैराश्यता ?

लोकपथ
910
Shares

दिवस ढकाल

नेपालमा युवा पलायन अहिले केवल व्यक्तिगत रोजगारीको खोजीको मुद्दा होइन, यो एक समष्टिगत संकटको संकेत हो । राज्य र व्यवस्था प्रतिको विश्वास गुम्दै जानु, अवसर र भविष्यको अभावले आज लाखौँ नेपाली युवा उज्वल जीवन र सुरक्षित भविष्यको आशामा विदेश जान बाध्य छन् ।

कोही पढाइका लागि, कोही रोजगारीका लागि, त कोही केवल ‘अब नेपालमा केही हुँदैन’ भन्ने गहिरो मनोदशाले देश छाडिरहेका छन् ।

यो लहर सामाजिक परिवर्तन होइन, सामाजिक पछौटेपनको चर्को दर्पण हो । युवा जोश, उर्जा र नवप्रवर्तनको स्रोत हुन् । ती युवाशक्ति विदेसिएको मतलब देशले आफ्ना मेरुदण्डहरू गुमाउँदैछ भन्ने हो ।

पलायनको मनोविज्ञान : सपना कि मोह ?

युवाहरूले विदेश जानुका पछाडि आर्थिक पक्ष मात्र होइन, सामाजिक, राजनीतिक र मनोवैज्ञानिक पाटाहरू पनि छन् ।एकातिर समाजमा विलासी जीवन र चाँडो धनी बन्ने झिनो सपना छ । अर्कोतिर, देशमै केही नहुने, नपाउने, अनि आफूले जे गर्दा पनि अवसर नआउने भन्ने निराशा छ।

यो निराशा केवल बेरोजगारीको कारण होइन । यो सरकारको असक्षमता, प्रणालीको अपारदर्शिता र नीतिगत अन्यायको परिणाम हो । जब नागरिकता बनाउने जस्तो सामान्य सेवामा पनि पहुँच पाइँदैन, अनि त्यही नागरिकता बोकेर विदेश गएर श्रमिक बन्नु युवा पुस्तालाई सहज लाग्न थाल्छ ।

आँकडाहरू के भन्छन् ?

नेपाल राष्ट्र बैंकका अनुसार, २०८०–८१ मा वैदेशिक रोजगारबाट आएको रेमिट्यान्स देशको कुल गार्हस्थ उत्पादनको २२ प्रतिशत पुगेको छ । अध्यागमन विभागका पछिल्ला तथ्यांक अनुसार २०७९–८० मा करिब ८ लाख ५० हजार नेपाली विदेशिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले वृद्धि भएको हो ।

तर गहिरिएर हेर्दा यो संख्या उत्सव होइन, चेतावनी हो । रेमिट्यान्सले तात्कालिक आर्थिक राहत दिन सक्छ, तर दीर्घकालीन रूपमा देशको उत्पादनशील श्रमशक्ति र नवप्रवर्तन क्षमताको नोक्सान गर्छ । खासगरी २०–३४ वर्ष उमेर समूहका १९.८ प्रतिशत पूर्ण बेरोजगार र ३६ प्रतिशत अर्धबेरोजगार छन् ।

यसले देशको श्रम बजार कति थला परेको छ भन्ने देखाउँछ ।

गाउँ सुनसान, शहर बेचैन

गाउँहरूमा आज बाँझो जमिन, बन्द घर र वृद्धहरू मात्रै छन् । आधारभूत पूर्वाधारहरू (सडक, इन्टरनेट, बिजुली) रहे पनि सिँचाइ, रोजगारी, र सेवा नहुँदा ती ठाउँहरू बसोबास योग्य छैनन् । गाउँबाट शहरमा, सहरबाट विदेश यही चक्र चलिरहेको छ ।

शहरहरूमा चाहिँ ती युवाको अभाव छ जसले उद्यम गर्न सक्थे, नेतृत्व गर्न सक्थे, उत्पादन गर्न सक्थे । देशको श्रमशक्ति विदेशमा र भोलिका नागरिक नेतृत्वबाट विमुख छन् । त्यसैले अहिलेको संकट केवल आर्थिक होइन, सामाजिक पनि हो ।

नेपालको बुढो राजनीति र युवाको दूरि

राजनीति परिवर्तनको साधन हो,  भनेर आन्दोलनमा होमिएका युवाहरू आज निराश छन् । पुराना अनुहारहरू, पुराना सोच र ‘नतिजा नभएको परिवर्तन’ ले युवालाई राजनीतिबाट टाढा पारेको छ । लोकतन्त्रको सपना देखेर सडकमा निस्किएका ती युवाहरू आज काण्डै काण्ड, ठेक्का–घोटाला, भ्रष्टाचार, नेतृत्वले गरेको गैरजिम्मेवार राज्य सन्चालन र पहुँचको राजनीति देखेर उदास छन् ।

राजनीतिको यो चरित्रले शिक्षित र सचेत युवालाई राजनीतिबाट मात्र होइन, देशबाटै टाढा पुर्‍याइरहेको छ । यसरी राजनीति र राष्ट्र दुवैका लागि युवाको दूरी आत्मघाती छ ।

समाधान खोज्ने दिशाहरू

युवा पलायनको अन्त्य तबमात्र सम्भव हुन्छ, जब देशमै उनीहरूले अवसर देख्न सक्छन् । त्यसका लागि नीति, संरचना र सोचको आमूल परिवर्तन आवश्यक छ ।

देशभित्रै रोजगारी सिर्जना गर्ने उत्पादनशील उद्योगहरूमा लगानी हुनुपर्छ । स्थानीय स्तरमा स्वरोजगार र उद्यमशीलता प्रवर्द्धन गरिने वातावरण बन्नुपर्छ । शिक्षित युवाको नीतिगत सहभागिता सुनिश्चित गर्न विशेष कार्यक्रमहरू ल्याइनुपर्छ । वैदेशिक सीप लिएर फर्केका युवालाई पुनःस्थापित गर्ने योजना चाहिन्छ ।

के अब अवसर देशमै देखाउने बेला हो ?

विदेशिँदै गरेका युवाहरूको प्रवाह रोक्ने प्रयास गर्नु समाधान होइन । उनीहरूलाई देशमै सम्भावना देखाउने वातावरण सिर्जना गर्नु नै दीर्घकालीन समाधान हो ।

नेपालले आफूलाई ‘श्रमिक आपूर्ति गर्ने देश’ को रूपमा होइन, ‘सीप र सम्भावनाको देश’ को रूपमा पुनःस्थापना गर्नु पर्दछ ।

यदि यो क्षणलाई पनि हामीले बेवास्ता गर्यौं भने, भविष्यमा हामीले श्रमिक मात्र विदेश पठाउने, तर नेतृत्व, नवप्रवर्तन र स्वाभिमान गुमाउने राष्ट्रका रूपमा इतिहासमा दर्ज हुने स्थिति आउने निश्चित छ ।

(ढकाल हाल अध्ययन र वैदेशिक रोजगारीका लागि जापानमा रहेका छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?