काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघ्चीले संयुक्त राज्य अमेरिकाले इरानका शान्तिपूर्ण आणविक पूर्वाधारमा आक्रमण गरेर अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन गरेको आरोप लगाउँदै आफूहरूले पनि सम्भावित विकल्प सुरक्षित राखेको जनाएका छन् ।
सामाजिक सञ्जाल एक्समा आइतबार एक पोस्ट गर्दै उनले अमेरिकाले गरेको आक्रमणलाई ‘संयुक्त राष्ट्रसंघको चार्टर, अन्तर्राष्ट्रिय कानुन र आणविक अप्रसार सन्धि’को स्पष्ट उल्लंघन भनेका छन् । उनले भनेका छन्, ‘संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यको हैसियतमा अमेरिकाले आज गरेको कार्य अन्तर्राष्ट्रिय कानुनमाथिको आक्रमण हो । आज बिहान भएका घटनाहरू निन्दनीय मात्र होइन, तिनको असर दीर्घकालीन हुनेछ ।’
उनले सबै राष्ट्रसंघ सदस्य देशहरूलाई अमेरिकी कदमप्रति सतर्क रहन आग्रह गर्दै भनेका छन्, ‘यो खतरनाक, नियमविहीन र आपराधिक व्यवहार हो । प्रत्येक राष्ट्रसंघ सदस्य राष्ट्रले यसको बारेमा गम्भीर चिन्ता व्यक्त गर्न आवश्यक छ ।’
उनले इरानले आफ्नो सार्वभौमिकता, राष्ट्रिय हित र जनताको सुरक्षाका निम्ति सबै सम्भावित विकल्प सुरक्षित राखेको पनि बताएका छन् । उनले राष्ट्रसंघ चार्टरको आत्मरक्षा सम्बन्धी प्रावधानको हवाला दिँदै इरानले वैधानिक प्रतिक्रियाको अधिकार सुरक्षित राखेको पनि प्रस्ट पारेका छन् ।
उता, अमेरिकाले इरानविरुद्ध आक्रमण थालेपछि संयुक्त राष्ट्रसंघले पनि चिन्ता व्यक्त गरेको छ ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जालमार्फत चिन्ता प्रकट गरेका हुन् । अमेरिकाले गएराति इरानस्थित फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा आक्रमण गरेको थियो ।
राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसल आफ्नो एक्स अकाउन्टमा लेखेका छन्, ‘म आज अमेरिकाले इरानविरुद्ध गरेको सैन्य कारबाहीप्रति धेरै चिन्तित छु । यो कदमले पहिले नै धेरै नाजुक अवस्थामा रहेको तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि प्रत्यक्ष खतरा भएको क्षेत्रमा तनाव बढाउन सक्छ ।’
उनले अगाडि थप लेखेका छन्, ‘यो द्वन्द्व चाँडै नियन्त्रणबाहिर जान सक्ने डर बढ्दै गएको छ । यसले नागरिक, सम्पूर्ण क्षेत्र र विश्वलाई ठूलो क्षति पुर्याउन सक्छ ।’
गुटेरेसले संयुक्त राष्ट्रसंघका सदस्य देशहरूलाई परिस्थितिलाई अझ बिग्रनबाट रोक्न र संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न अपिल गरेका छन् ।
इजरायलले यही जुन १३ मा इरानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ । यस क्रममा हालसम्म इरानमा ६५७ जनाको मृत्यु र २ हजार भन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ । इजरायलमा पनि २४ जनाको मृत्यु र ९ सयभन्दा बढी घाइते भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया