इरानमा अमेरिकी आक्रमणपछि राष्ट्रसंघको चिन्ता : यो द्वन्द्व चाँडै नियन्त्रणबाहिर जान सक्छ

लोकपथ
1.8k
Shares

काठमाडौं । अमेरिकाले इरानविरुद्ध आक्रमण थालेपछि संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । 

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जालमार्फत चिन्ता प्रकट गरेका हुन् । अमेरिकाले गए राति इरानस्थित फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा आक्रमण गरेको थियो ।  

राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले आफ्नो एक्स अकाउन्टमा लेखेका छन्, ‘म आज अमेरिकाले इरानविरुद्ध गरेको सैन्य कारबाहीप्रति धेरै चिन्तित छु । यो कदमले पहिले नै धेरै नाजुक अवस्थामा रहेको तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि प्रत्यक्ष खतरा भएको क्षेत्रमा तनाव बढाउन सक्छ ।’

उनले अगाडि थप लेखेका छन्, ‘यो द्वन्द्व चाँडै नियन्त्रणबाहिर जान सक्ने डर बढ्दै गएको छ । यसले नागरिक, सम्पूर्ण क्षेत्र र विश्वलाई ठूलो क्षति पुर्‍याउन सक्छ ।’

गुटेरेसले संयुक्त राष्ट्रसंघका सदस्य देशहरूलाई परिस्थितिलाई अझ बिग्रनबाट रोक्न र संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न अपिल गरेका छन् । 

इजरायलले यही जुन १३ मा इरानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी छ । यस क्रममा हालसम्म इरानमा ६५७ जनाको मृत्यु र २ हजार भन्दा बढी घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ । इजरायलमा पनि २४ जनाको मृत्यु र ९ सयभन्दा बढी घाइते भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?