काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानको फोर्दो, नटान्ज र इस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बम हमला गरेको दाबी बताएका छन् ।
ट्रम्पले ती हमलाहरू ‘निकै सफल’ भएको जनाउँदै इरानको मुख्य प्रशोधनस्थल फोर्दोमा बमको ‘फूल पेलोड’ खसालिएको समेत दाबी गरेका छन् ।
यता इरानको सरकारी सञ्चारमाध्यमहरुले समेत सो कुरा स्वीकार गरेका छन् ।
अमेरिकाले शनिबार इरानलाई ‘कूटनीतिक रूपमा’ सम्पर्क गर्दै ती हमला मात्र उसको योजनामा रहेको र ‘शासनसत्ता परिवर्तनको प्रयासको योजनामा नरहेको’ बीबीसीले जनाएको छ ।
ट्रम्पले आफ्नो सोसल मिडिया ‘ट्रुथ सोसल’मा लेख्दै आफ्ना सबै विमानहरू इरानको हवाई क्षेत्र बाहिर आइसकेको र अमेरिका फर्कँदै गरेको जनाएका छन् ।
इरानमाथि हमला लगत्तै ट्रम्पले टेलिभिजनमार्फत सम्बोधन गर्दै इरानका प्रमुख आणविक प्रवर्द्धन केन्द्रहरू पूर्ण रूपमा र पूरै ध्वस्त पारिएको बताउँदै इरानले अब शान्ति कायम गर्नुपर्ने बताएका छन् ।
‘यदि उनीहरूले त्यसो गरेनन् भने भविष्यका हमलाहरू निकै ठूला र निकै सहज हुनेछन्,’ ट्रम्पले भनेका छन् ।
चार मिनेट लामो उक्त सम्बोधनमा ट्रम्पले बेन्जमिन नेतन्याहूलाई बधाई दिँदै आफूहरूले इजरेलका लागि यस भयानक खतरा मेट्न एकसाथ काम गरेको बताए ।
‘त्यहाँ कि त शान्ति हुनेछ या त इरानका लागि विगत आठदिनमा हामीले देखेभन्दा निकै ठूलो त्रासदी हुनेछ,’ थप चेतावनी दिँदै टम्पले भनेका छन्, ‘याद रहोस्, धेरै निशानाहरू बाँकी छन् । आजको रात अहिलेसम्मकै सबैभन्दा कठिन र सायद सबैभन्दा घातक समेत थियो । तर यदि शान्ति चाँडै आएन भने हामी अन्य ती निशानाहरूमा सटिक रूपमा, छिटै र कुशलतापूर्वक जानेछौ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया