काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार इजरायल र इरानबीच जारी द्वन्द्वलाई नियन्त्रण बाहिर जानबाट रोक्न कुटनीतिको आवश्यकता औँल्याएका छन्।
सुरक्षा परिषद्को आपतकालीन बैठकमा उनले द्वन्द्वको द्रुत विस्तारले ठूलो मानवीय क्षति गरिरहेको र कुनैपनि पक्षलाई यसको फाइदा नहुने बताएका हुन्।
गुटेरेसले नागरिकहरूको मृत्यु, घरबार ध्वस्त हुने, पूर्वाधारहरू नष्ट हुने र आणविक सुविधामा आक्रमणजस्ता घटनाहरूले द्वन्द्व अझ भयानक बनेको बताए। उनले भने, ‘यस द्वन्द्वको मुख्य प्रश्न आणविक विषयमा रहेको छ, जसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा माथि गम्भीर चुनौती उत्पन्न गरिरहेको छ।’
उनले सुरक्षा परिषद्को सबै सदस्यलाई एकता र तत्परताका साथ संवाद र कुटनीतिको माध्यमबाट द्वन्द्व समाधान गर्न आग्रह गरे। साथै, अन्तर्राष्ट्रिय समुदायलाई दिगो शान्ति स्थापना गर्न सक्ने उपायहरूमा जुट्न उनी प्रेरित भए। गुटेरेसले युद्ध हुन नदिनुपर्ने र मात्र कूटनीतिक संवादबाटै दीर्घकालीन शान्ति सम्भव रहेको जोड दिए।
यो आह्वान अहिलेको तनावग्रस्त अन्तर्राष्ट्रिय परिस्थितिमा शान्ति कायम राख्न महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया