काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले आगामी बजेटले दीर्घकालीन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै सांसद कार्कीले बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त रहेको बताए ।
उनले उच्च, दिगो एवं फराकिलो आर्थिक वृद्धिदर हासिल गरी गरिबी निवारण, उद्यमशीलता, विकास र सार्वजनिक तथा निजी लगानी विस्तारलाई बजेटले उद्देश्यमा राखेको बताए ।
लक्ष्य र आकांक्षाहरु प्राप्त गर्न त्यति सहज नभएपनि नेपालको राजनीतिमा गहिरो प्रभाव पार्ने दुई ठुला दलले निर्माण गरेको सरकारले ल्याएको बजेट यथार्थमा उभिएका हुनाले जनताका आकांक्षाहरु परिपूर्ति गर्नका निमित्त समयबद्ध र चरणबद्ध हिसाबले अगाडि बढेको सांसद कार्कीको दाबी छ ।
उनले भने, ‘मेरो विचारमा यो बजेटले मुलुकको वर्तमान आर्थिक यथार्थता, जनअपेक्षा र दीर्घकालीन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको छ । यो बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त छन् भन्ने धारणा म यहाँ राख्न चाहन्छु । बजेटले उद्देश्यमा राखेको छ– उच्च, दिगो एवं फराकिलो आर्थिक वृद्धिदर हासिल गरी गरिबी निवारण गर्ने, उद्यमशीलता, विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने । प्राथमिकतामा बजेटले राखेको छ– उद्यमशीलता, रोजगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारको रूपमा लगानी विस्तार, सामाजिक क्षेत्रमा गुणस्तरात्मक सुधार यी कुराहरू लक्ष्य र प्राथमिकताका रूपमा राखेको छ । यी लक्ष्यहरू हाम्रा देशका आकांक्षाहरु हुन् र यिनीहरूलाई प्राप्त गर्न त्यति सहज छैन । नेपालको राजनीतिमा गहिरो प्रभाव पार्ने दुई ठुला दल काँग्रेस र एमालेले निर्माण गरेको यो सरकार जो स्थिरता र विकासका निमित्त अग्रसर छ त्यो सरकारले ल्याएको बजेट यथार्थमा उभिएको हुनाले जनताका आकांक्षाहरुलाई परिपूर्ति गर्नका निमित्त समयबद्ध हिसाबले, चरणबद्ध हिसाबले अगाडि बढेको हुनाले बजेटको समर्थन गर्न चाहन्छु । बजेटले निर्धारण गरेको उद्देश्य र लक्ष्य निर्धारण त्यति सहज छैन । हाम्रो मुलुकको अर्थतन्त्रले भोगेको समस्याहरू यथावत् छन् न्यून आर्थिक वृद्धिदर, उच्च बेरोजगारी, बाह्य घाटा यथावत् छन् । राजश्व असुलीको समस्या यथावत् छ । पुँजीगत खर्च गर्ने कुरा यथावत् छ । यी कुराहरूलाई प्रतिबद्धता मात्र हैन कार्यान्वयन गरेर नदेखाउँदासम्म तबसम्म मुलुक र बजेटले हासिल गर्ने लक्ष्य हो त्यो लक्ष्य प्राप्त गर्न कठिनाइ हुन्छ । त्यसैले अर्थमन्त्रीलाई ध्यानाकर्षण गराउँछु कि– अहिलेको बजेट कार्यान्वयनतर्फ अर्थमन्त्री र सरकारको ध्यान जानु जरुरी छ । बजेटलाई परिणाममुखी बनाउन विनियोजन क्षमता, कार्यान्वयन क्षमता र जबाफदेहिता र नीतिगत हस्तक्षेपका निमित्त अर्थमन्त्रीले समयमै मूल्यांकन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । त्यसतर्फ अर्थमन्त्रीको गम्भीर ध्यान जाओस् ।’
उनले बजेटलाई परिणामुखी बनाउन विनियोजन क्षमता, कार्यान्वयन क्षमता र जबाफदेहिता र नीतिगत हस्तक्षेपका निमित्त अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया