एयर इण्डिया विमान उडेको ३० सेकेन्डमै किन भयो दुर्घटनाग्रस्त ?

लोकपथ
4.5k
Shares
तस्बिर : टाइम्स अफ इण्डिया

काठमाडौं । बिहीबार अपराह्न लण्डनका लागि उडेको एयर इण्डियाको बोइङ ७८७-८ ड्रीमलाइनर विमान उडानपश्चात् मात्र ३० सेकेन्डमै दुर्घटनामा परेको थियो ।

भारतीय विमान बोइङ ७८७-८ ड्रिमलाइनर विमानको यो पहिलो दर्दनाक घातक दुर्घटना भएको हो । उक्त विमानमा सवार २४२ जनामध्ये २४१ जनाको ज्यान गएको पुष्टि गरिएको छ।

दुर्घटनामा एक मात्र बाँच्न सफल व्यक्ति भारतीय मूलका बेलायती नागरिक हुन् ।

स्थानीय समय अनुसार दिउँसो १ :३९ बजे अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान करिब १.५ किलोमिटर दूरीमा रहेको आवासीय क्षेत्रमा खसेको थियो।

उडानको केही क्षणमै ‘मेडे’ आपतकालीन सन्देश पठाइए पनि त्यसपछि कुनै उत्तर नआएको अधिकारीहरूले जनाएका छन् ।

दुर्घटनामा जीवित बचेका यात्रुका अनुसार विमान उचाइ लिँदै गर्दा असामान्य कम्पन र ठुलो विस्फोटको आवाज आएको थियो।

दुर्घटनाका सम्भावित कारणहरू

१. डबल इन्जिन फेलियरको आशंका

– प्रारम्भिक जानकारी अनुसार विमानले पर्याप्त थ्रस्ट लिन नसकेको देखिन्छ।

– यदि दुवै इन्जिन एकै पटक फेल भए भने, जुन दुर्लभ भए पनि सम्भव छ, विमान ३० सेकेन्डभित्र नियन्त्रण गुमाउन सक्छ।

– राम एयर टर्बाइन (RAT) सक्रिय नभएको पनि आशंका गरिएको छ।

२. इन्धनको समस्या

– विमानमा करिब १०० टन इन्धन थियो, जुन पूर्ण क्षमताको भार हो ।

– इन्धन प्रणालीमा खराबीले पनि इन्जिन बन्द हुन सक्छ ।  

३. पायलटको त्रुटि वा नियमनको कमजोरी

– २२ वर्षको अनुभव भएका क्याप्टेन सुमित सभरवाल र को-पाइलट क्लाइभ कुन्दरले उडाउँदै गर्दा अचानक आएको आपतकालीन अवस्थामा प्रतिक्रिया दिन नसकेको अनुमान गरिएको छ।

– एयर ट्राफिक कन्ट्रोलले गलत निर्देशन दिएको सम्भावना पनि गरिएको छ । 

४. विमानको प्राविधिक खराबी

– बोइङ ७८७-८ विमान पहिले पनि इन्जिनसम्बन्धी समस्याको रिपोर्टमा परेको थियो।

–  नियमित मर्मत सम्भारमा कमी आएको आरोप  लागेको छ ।

अनुसन्धान प्रारम्भ : अन्तर्राष्ट्रिय निगरानी

घटनापछि भारतको नागरिक उड्डयन प्राधिकरण, अमेरिका–आधारित एटीएसबी र निर्माता कम्पनी बोइङले संयुक्त रूपमा अनुसन्धान थालिसकेका छन्।

ब्ल्याक बक्स फेला पारिएको छ र त्यसको डाटा विश्लेषणबाट ठोस निष्कर्ष निकालिने अपेक्षा गरिएको छ।

युके सिविल एभिएसन अथोरिटीले पनि अनुसन्धानमा सहयोग गर्ने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?