महानगर विवाद : बालेनसँग वडाध्यक्षको कहाँबाट सुरु भयो खटपट ? [अन्तर्वार्ता]

लोकपथ
1.4k
Shares

पछिल्लो समय काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र कार्यपालिका सदस्य (वडाध्यक्षहरू) बिच विवादको अवस्था सिर्जना भएको छ । मुख्यतः प्रमुख प्रशासकीय अधिकृतको विषयमा दुई पक्षबिच खटपट हुँदा दैनिक कामकारबाहीमा समन्वय नभएको गुनासा आइरहेका छन् । यहीबिचमा मेयर बालेन कार्यालयमा नै नआउने गरेको गुनासोसमेत आइरहेको छ । महानगरमा आपसी समन्वय नदेखिरहेका बेला व्यक्तिगत विषयलाई लिएर बालेनले काठमाडौं महानगरपालिका वडा नं १७ का वडाध्यक्ष नवीन मानन्धरलाई स्पष्टीकरण सोध्नेलगायत प्रकरणहरू भए । मेयरसँग महानगरका प्रवक्तासमेत रहेका वडाध्यक्ष मानन्धरको विवाद के हो ? बालेन र वडाध्यक्षबिचको खटपट कहाँबाट सुरु भयोलगायतका विषयमा लोकपथले उनै मानन्धरसँग कुराकानी गरेको छ । प्रस्तुत छ अन्तर्वार्ता :

तपाईँ देशकै सबैको चासो हुने महानगरपालिका यानेकी काठमाडौं महानगरपालिकाको प्रवक्ता हुनुहुन्छ । अहिले महानगरले के गरिरहेको छ ?

महानगरले सहज ढंगले काम गरिरहेको छ । जनताको सेवा गरिरहेको छ । हामी जनतालाई सेवा दिने कुरामा पछाडि परेका छैनौँ । सेवा प्रवाहमा कुनै रोकटोक छैन । प्रमुख प्रशासकीय अधिकृत, प्रमुख/उपप्रमुख तीनैजना कार्यालयमा बसेर कामकाजहरू गरिरहेका छन् । खासै त्यस्तो समस्या छ जस्तो देखिँदैन ।

यहाँ दोस्रो कार्यकालका लागि अहिले वडाध्यक्ष हुनुहुन्छ । पहिले दलबाट जितेका मेयर उपमेयर र अहिले स्वतन्त्रबाट जितेका मेयर हुनुहुन्छ । कुन मेयरसँग काम गर्न सजिलो हुने रहेछ ? स्वतन्त्र कि दलबाट जितेको ?

त्यस्तो खासै फरक पर्दैन, महानगरको प्रमुख भइसकेपछि सबैको साझा नै हुन्छ, दलबाट जितोस् या स्वतन्त्रबाट । हामी पनि दलबाट वडाध्यक्ष भएको होस् या स्वतन्त्रबाट जितेको होस्, दुवै कुरालाई लिङ्कअप गर्ने हो भने त्यो सेवातिर लाग्छ । जनताको सेवाको काम गर्दैगर्दा दुवैको भूमिका बराबर नै लाग्छ, खासै समस्या देख्दिन म ।

नवीन मानन्धर, प्रवक्ता काठमाडौं महानगरपालिका

तर अहिले कार्यपालिका सदस्य र मेयर बालेनबिच खटपट देखिन्छ नि !

त्यो स्वाभाविक हो, एउटा घरपरिवारमा बसिसकेपछि कहिलेकाँही खटपट हुनु, चित्त नबुझ्नु, चित्त नबुझेपछि दोषारोपण गर्नु स्वाभाविक हो र प्रतिशोधको आधारमा काम गर्दा यस्ता कुराहरू बाहिर आउने गर्दछ ।

काठमाडौं महानगरको प्रमुख बालेनसँग सुरुमा सबैको आशा थियो, अहिले त्यो आशा बिस्तारै मर्दै गइरहेको हो ?

त्यस्तो पनि भन्न मिल्दैन । फरक प्रकृतिको फरक ढंगको प्रमुख पाइसकेपछि मान्छेले आशा गर्नु स्वाभाविक हो । तर अहिले गरिरहेको कामअनुसार महानगरसँग भएको नीति निर्माण र नीतिगत ढंगबाट काम गर्दैगर्दा आफूले खोजेअनुसारको रिजल्ट नपाएपछि मान्छेलाई निराश हुने खालको अवस्था देखिन सक्छ । तर जनताको सेवा गर्ने काम संयुक्त हो भन्ने बुझ्यो भने काम हुन्छ ।

जनताले खोजेजस्तो नपाइको भनिरहँदा महानरका ३२ वटै वडाका जनप्रतिनिधि र कर्मचारीहरूले पनि मेयर बालेनको व्यवहार खोजेजस्तो नपाएको हो ?

त्यस्तो पनि होइन जस्तो लाग्छ मलाई । जनताको कामका लागि हामी नीति निर्माणमा लाग्छौँ । नीति निर्माण भइसकेपछि सोहीअनुसारको योजना हुन्छ । योजनाअनुसार काम गराउनका लागि एउटा नियम हुन्छ र त्यो नियमअनुसार काम गर्दैगर्दा छिटोछिटो कामको आशा गर्दा पनि नीतिले गर्दा काममा अलि ढिला हुन जान्छ अनि हिजो र आजमा केही फरक भएन कि भन्ने जनताको धारणा हुन्छ । तर अहिले देखिएको महानगरको सौन्दर्यकरणलाई हेर्दा केही सन्तोषजनक भएजस्तो हामीलाई लागेको छ ।

महानगरमा बालेन नै आउँदैनन् भन्ने गुनासा आइरहेका छन् । कति भयो बालेनले महानगर नटेकेको ?

त्यस्तो छैन होला, खै आजै (बुधबार) नै म कार्यालय जाँदा उहाँ आउनुभएको देखेँ । कहिलेकाहीँ जनप्रतिनिधिको के हुन्छ भन्दा टेबुलमै बसेर काम गरिरहने मात्रै भन्ने पनि हुँदैन । कहिलेकाहीँ बाहिर बसेर पनि समन्वय गरिरहेका हुन्छन्, त्यो समन्वयकारी भूमिका निर्वाह गर्दैगर्दा कहिलेकाहीँ कार्यालयमा नदेखेको पनि हुनसक्छ ।

सुरुमा त कार्यपालिका बैठक हुन्थ्यो, उहाँले लाइभ पनि गराउनुभयो । तर अहिले किन बैठक बस्न सकिरहेको छैन ?

अहिले कार्यपालिकाको बैठक बस्न सकिरहेको अवस्था छैन । एजेन्डाहरू नभएको कारणले पनि हुनसक्छ र साथीहरूको अलि बढी असन्तुष्टि भएका कारणले पनि बैठक बस्न नसक्ने समस्या देखिएको हुनसक्छ । तर अब चाहिँ कार्यपालिका बैठक बस्नुपर्छ र बस्ने वातावरण बन्छ । अब छिट्टै नगर सभा गर्नुपर्छ । नगरसभा भनेको जनताको लागि हो, जनताको लागि काम गर्नका लागि कार्यपालिका बस्छ ।

महानगर प्रमुख बालेन र कार्यपालिका सदस्यहरूबिच असन्तुष्टि चाहिँ के कुरामा छ ?

खास त केही समयअघि बाहिर आएको कुरा प्रमुख प्रशासकीय अधिकृतको विषयले खटपट भयो । उहाँ आउँदै गर्दा पनि न्यायोचित भएन, न्यायसंगत भएन भन्ने कुरा आएको थियो । न्यायसंगत भयो कि भएन भन्ने कुरा कानुनले पुष्टि गर्छ । तर मेरो बिचारमा अहिले सहजीकरण भएको जस्तो लाग्छ । त्यही भएर नै कार्यपालिका बस्छ भन्ने मलाई लाग्छ ।

स्पष्टीकरण नै त होइन, माफी माग्नुपर्छ भन्ने कुरा भएको हो । तपाईंहरुजस्तै टेलिभिजनमा कुरा गरेको, त्यो कुरामा उहाँलाई सन्तुष्टि भएन, अनि त्यही कुरामा उहाँले माफी माग्नुपर्छ भन्नु भएको थियो । तर मैले माफी मागिनँ ।

बालेन र कार्यपालिका सदस्यहरूदेखि कर्मचारीसँग कहाँबाट सम्बन्ध बिग्रियो ? किन दुवै पक्ष एक अर्काबिच भिड्न तयार जस्तो देखिए ?

भिड्नै त को भिड्छ र ! तर कहिलेकाहीँ संवाद टाढा भयो भने बिचमा हावाहुरी छिरे जस्तो देखिन्छ । अहिलेको अवस्थामा जनप्रतिनिधि वडाध्यक्षहरू र कार्यपालिका सदस्य र प्रमुखको बिचमा कुराकानी कम भएको छ । त्यसले अलिकति अन्यौलता सिर्जना गर्‍यो कि जस्तो देखिन्छ । सम्बन्ध बिगार्ने भनेको संवाद नहुनु त हो नि, संवादमा डिस्ट्यान्स देखियो भने सम्बन्ध बिग्रेको हुन्छ, अहिले अहिले हामी संवादमा टाढिएको अवस्था छ ।

यहाँ महानगरको प्रवक्ता र बालेन प्रमुख हुनुहुन्छ । तर यहाँहरू दुवै जनाबिच नै संवाद नभएपछि अरू काम कसरी अघि बढ्छ त ?

निर्वाचनपछि तीन वर्षसम्म चाहिँ अलि सजिलो भयो, तर बिचमा प्रमुख प्रशासकीय अधिकृतको कुरा आउँदा आ–आफ्नो भनाइहरू रह्यो । भनाइहरूकै कारणले प्रमुख र हामीहरूबिच सम्बन्ध टाढिएको अवस्था देखियो ।

बालेनले कार्यपालिका बैठक बोलाउन नसकेको हो या नचाहेको हो ?

प्रमुख बालेनले कार्यपालिका बैठक बोलाउन नचाहेको हो । कार्यपालिका बैठक बस्नका लागि प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष यानेकी कार्यपालिका सदस्य हुन्छ । त्यो बिचमा असन्तुष्टि भएको खण्डमा पनि कहिलेकाँही कार्यपालिका बैठक बोलाउन नचाहेको हुनसक्छ ।

अब बजेटको बेला पनि आइरहेको छ । बजेटको तयारी भइरहेको छ कि !

ठ्याक्कै अहिले आगामी आर्थिक वर्षका लागि जनप्रतिनिधिमूलक बजेट तयारी भइरहेको अवस्था छैन । पहिलेकै जस्तो बजेटको रिडिङ भइरहेको अवस्था छ । तर बजेट ल्याउने विषयमा छलफल हुन्छ, भइरहेको छ, स्वाभाविकै हो । बजेट जनताको लागि भएका कारण छलफल गर्छौँ ।

अनि यहाँ र बालेनबिच कुराकानी नभएको चाहिँ कति समय भयो ? दुवै पक्षले पहल नगरेर हो ?

गत चैत २१ गतेपछि उहाँसँग कुराकानी भएको छैन । चैत २१ गते एउटा घटना भन्ने कि समस्या भन्ने कि समाधान भन्ने, प्रमुख प्रशासकीय अधिकृत इन्ट्री भइसकेपछि आजसम्म मेरो भेटघाट भएको छैन । भेटघाटका लागि पहल गर्नुपर्ने अवस्था छैन । भेटघाट नभए पनि टेलिफोनलगायतका माध्यमबाट कुरा हुन्छ तर दुवै जना सँगै बसेर कुराकानी चाहिँ भएको छैन ।

नवीन मानन्धर, प्रवक्ता काठमाडौं महानगरपालिका

तपाईंलाई त मेयर बालेनले स्पष्टीकरण नै सोध्नुभयो । यहाँले चाहिँ त्यसको जवाफ बुझाउनु भयो कि छैन ? कारण के थियो ?

स्पष्टीकरण नै त होइन, माफी माग्नुपर्छ भन्ने कुरा भएको हो । तपाईंहरुजस्तै टेलिभिजनमा कुरा गरेको, त्यो कुरामा उहाँलाई सन्तुष्टि भएन, अनि त्यही कुरामा उहाँले माफी माग्नुपर्छ भन्नु भएको थियो । तर मैले माफी मागिनँ । मलाई अहिले तपाईँहरु जस्तै मिडियाकर्मीले प्रश्न सोध्नुभयो, मैले उत्तर दिएँ, त्यसमा उहाँहरूको के कुरामा चित्त बुझेन, अनि माफी माग्नुपर्छ भन्नुभयो तर मैले माफी माग्न उचित ठानिना । उहाँले पनि यो कुरा चित्त बुझेन भनेर पनि लेख्नुभएको छैन, तपाईँले एउटा टिभीमा दिएको अन्तर्वार्ता मानहानि गर्ने जस्तो खालको भयो भनेर उहाँले माफी माग्न पर्छ भन्ने जस्तो उहाँहरूको भनाइ थियो । मैले उहाँले दिएको समयमा माफी मागिनँ ।

सुरुमा तपाईँलाई विश्वास गरेर प्रवक्ता बनाए तर अहिले त्यो विश्वासको वातावरणमा अविश्वास कसरी चुलियो ?

यी यस्तै यस्तै कारणले नि ! जुन कुराहरू बोल्दै, काम गर्दैगर्दा मान्छेलाई चित्त बुझ्दैन होला, त्यही चित्त नबुझेको कारणले विश्वासमा खडेरी आयो । अहिले त उहाँसँग खासै द्विपक्षीय कुरा गर्न पाएको छैन, उहाँसँग बसिसकेपछि यो कुरा चित्त बुझेन भनिएला नि त ! अहिले त हाम्रो कागजमै अविश्वासको प्रस्तुति भइरहेको छ ।

बालेनलाई दलबाट जितेका वडाध्यक्षहरूले काम गर्न नदिएको भनेर आलोचना भइरहेको छ नि ? तपाईँहरुले काममा खाली अप्ठ्यारो मात्र पार्नुभएको हो ?

के काममा अप्ठ्यारो पार्‍यौँ र त्यसरी भन्न मिल्दैन । हाम्रो विचार राख्ने ठाउँ भनेको कार्यपालिका हुन्छ, कार्यपालिकामा आएको एजेन्डाका आधारमा सहमति र असहमतिको कुरा गर्ने हो । तर कार्यपालिका बैठक नै नभइसकेपछि हामीले कहाँ अप्ठ्यारो पार्‍यौँ र ? उहाँले कार्यपालिका बोलाएर बोर्ड बस्दा उहाँले राखेको एजेन्डामा हामीले सहमति नगरेको खण्डमा काम गर्न अप्ठ्यारो गरेको भन्न पाइयो होइन भने मात्रै त्यसरी भन्न पाइँदैन होला ।

महानगरमा यस्तो किचलो देखिएको छ कि, अब बजेट ल्याउनै नसक्ने अवस्थासम्म महानगर पुग्यो भन्ने आरोपहरू छन् । स्थानीय सरकार सञ्चालन ऐनअनुसार असारको १० गतेभित्र बजेट ल्याउनुपर्ने हुन्छ, समयमै बजेट आउँछ त ?

असार आउन अझै केही दिन बाँकी छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० आउन पनि केही समय बाँकी छ । मेरो बिचारमा असारभरिमा बजेट चाहिँ आउँछ । जनताले अपेक्षा गरेको अनुसार नै आउँछ । जनताले दिएको योजनाभित्र रहेर बजेट बनाउने हो ।

बजेटको योजनामा छलफल नै भएको देखिँदैन । तपाईँहरु सबै आ–आफ्नै तालमा हुनुहुन्छ । अनि कसरी आउँछ त बजेट ?

कहिलेकाहीँ सँगै नबसेपछि यस्ता कुराहरू देखिने कुराहरू हुन् । तर बसेपछि समाधानको बिन्दु पनि निस्किन्छ । डाइरेक्टी हाम्रो मेयरसँगको रिस आफ्नै ठाउँमा होला । मेयरलाई पनि वडाध्यक्षसँगको रिस आफ्नै होला । तर जनताको योजना अनुसार आउने भएकाले, जनताको योजनामा चाहिँ विवाद हुँदैन होला जस्तो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?