राजावादीले बिसन्चो बनाएको ‘सन्चो कम्पनी’ : उत्पादन सुरु, यसरी भयो सम्भव [भिडियोसहित]

लोकपथ
1.5k
Shares

आफ्नै खुट्टामा उभिएको एउटा त्यस्तो सरकारी स्वामित्वको कम्पनी । जसले देशभरबाट जडिबुटी संकलन गरेर विभिन्न उत्पादनहरू दिँदै प्रत्यक्ष र परोक्ष रूपमा सयौँलाई रोजगारी दिइरहेको थियो । राम्रो नाफा कमाइरहेको सञ्चो कम्पनीमाथि व्यवस्था नै उल्टाउन चाहने एउटा उग्र समूहको गिद्धे नजरमा पर्‍यो र भयो खण्डहर ।

कुनै सानोतिनो घटनापछि वर्षौंसम्म त्यसैलाई दोष देखाएर लथालिंग छाडिने नेपाली प्रवृत्तिलाई समेत चुनौती दिँदै पुनः आंशिक उत्पादनसम्म पुग्यो ।

२०८१ साल चैत १५ गते राजावादीहरूको हिंस्रक आन्दोलनको चपेटामा परेको उक्त जडिबुटी कम्पनी झन्डै झन्डै बन्दको अवस्थामा पुगिसकेको थियो । तर व्यवस्थापनको सक्रियता र सरकारी चासोपछि पुनः उत्पादन सुरु गर्ने अवस्थासम्म कम्पनी आइपुगेको छ । अहिले करिब ६० प्रतिशतसम्म उत्पादन भइरहेको छ । पूर्ण रूपमा आफ्नो उत्पादन गर्न भने अझै ६ महिना कुर्नुपर्ने देखिन्छ ।

२०३८ सालमा स्थापना भई आर्थिक वर्ष ०७५–०७६ बाट भने धमाधम नाफा कमाइरहेको थियो, उक्त कम्पनीले । अझै व्यवसाय विस्तार गर्ने सोचमा कम्पनी थियो । तर सन्चो कम्पनीलाई नै बिसन्चो बनाउने राजावादीहरूको जत्थाको आक्रमणले करोडौँको क्षति भयो । सवारीसाधन जले, उत्पादितदेखि उत्पादन गर्न राखिएका विभिन्न सामग्री ध्वस्त भए ।

जुन दिन राजावादीहरूको अराजक जत्थाले कम्पनीमाथि आगजनी र तोडफोड गर्‍यो त्यही दिन कर्मचारीहरूको मिटिङ बसिरहेको थियो । कम्पनीको नेतृत्वसहित कर्मचारीहरू सातै प्रदेशमा शाखा विस्तारको तयारीको छलफलमा थिए ।

हाल कम्पनीले सन्चो, सन्चो बाम (भिक्स), सन्चो शिलाजित, हिमालय मसाज तेल, बाम तेल, सञ्चो जटा केश तेल, सञ्चो पेन रिलिफ आयल उत्पादन गर्दै आएको छ । तीमध्ये सन्चो भने जटिबुटी उत्पादन तथा प्रशोधन कम्पनी टिकाउने मुख्य उत्पादन हो । त्यसो त कम्पनीले माथि उल्लेख गरिएकासहित १३ प्रकारका सुगन्धित तेलजन्य जडिबुटीको कारोबारसमेत गरिरहेको छ । जसमा स्थायी र अस्थायी गरि सयौँ किसानदेखि कर्मचारीहरु जडिबुटी उत्पादन र सन्चो उत्पादनसँग जोडिएका छन् ।

कम्पनीसँग बाराको तामागढमा ५ सय बिघा, मोरङको बेलबारीमा ७० हेक्टर, सुनसरीको तरहरामा २५ हेक्टर र कैलालीको टीकापुरमा साढे ४ बिघा जमिन छ । जहाँ उक्त कम्पनी सञ्चालनका लागि कच्चा पदार्थहरू उत्पादनका लागि जडिबुटी खेती हुने गरेको छ ।

निर्बाध रूपमा चलिरहेको र अझै सातै प्रदेशमा जाने मनसाय बनाइरहेको कम्पनीमाथि अराजक भिडको नजर पर्दा ११ करोड रुपैयाँबराबरको क्षति हुन पुगेको थियो । निजीकरणका कारण सरकारी उद्योगधन्दा, कलकारखाना र कम्पनीहरू बन्द भइरहेको अवस्थामा आफ्नै खुट्टामा उभिएको कम्पनी पनि झन्डै बन्दै हुने अवस्थामा पुग्दा चौतर्फी आलोचनासमेत भएको थियो । अहिले भने सरकारी पहलले आफ्नो कामका लागि बामे सर्ने अवस्थासम्म कम्पनी आइपुगेको छ ।

यदि व्यवस्था नै उल्टाउन हिँडेका राजावादीहरूको गलत नजर सन्चो कम्पनीमाथि नपरेको थियो भने अहिले सातै प्रदेशमा हुने कामको विषय अघि बढिसकेको हुने थियो । तर आगलागीबाट करोडौँ पर्ने मेसिनसमेत जलेर नष्ट हुँदा अहिले भने अस्थायी मात्र उत्पादन भइरहेको छ । नयाँ मेसिन किन्ने वा त्यसैलाई बनाएर चलाउने भन्ने छलफल भइरहँदा अहिले भने कर्मचारीहरूले धेरै काम हातकै प्रयोगले गरिरहेका छन् ।

व्यवस्था परिवर्तनका नाममा गत चैत १५ गतेको हिंस्रक घटना राजनीतिक इतिहासमा दर्ज भएको एउटा घटना मात्र बनेन त्यसले समाजका विभिन्न पक्षलाई झस्कायो र वर्षौंसम्म पनि आङ सिरिङ्ग बनाउने घटना बन्न पुग्यो । जडिबुटीबाट बनेको सन्चोले आम नागरिकलाई निको बनाइरहेको सन्चो कम्पनी आफैँ बिसन्चो बन्दा बिसन्चो मानिरहेका आम नागरिक पुनः कम्पनी तंग्रिएर छिट्टै पूर्ण क्षमतामा सन्चो उत्पादन थालोस् भन्ने कामना गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?