यसरी गर्दैछ बिपी कोइराला क्यान्सर अस्पतालले फोहोरको व्यवस्थापन

लोकपथ
217
Shares

चितवन । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट निस्केको फोहोरलाई पर्यावरणमैत्री रूपमा व्यवस्थापन गर्दै आइएको छ । अस्पतालले फोहोरको स्रोतमा नै वर्गीकरण गरी दुई प्रविधि र अन्य विधि प्रयोग गरेर व्यवस्थापन गर्दै आएको छ । 

अस्पतालले पुनः प्रयोग हुने वस्तुलाई अलग्गै, कुहिने वस्तुबाट बायोग्यास, माइक्रोवेभ टेक्नोलोजीसहितको स्रेडिङ मेसिनबाट फोहोरलाई घटाएर निःसङ्क्रमित बनाउने गरेको अस्पतालका बायोमेडिकल इञ्जिनियर रुपेश मिश्रले जानकारी दिए । उनका अनुसार अस्पतालको फोहोर व्यवस्थापन प्रणालीमा मुख्यतया दुई वटा प्रविधि प्रयोग गरिएको छ । बायोग्यास प्लान्टबाट वार्डहरूबाट निस्कने खानाका फोहरलाई कुहाएर बायोग्यास उत्पादन गरिन्छ । 
 
माइक्रोवेभ टेक्नोलोजीसहितको स्रेडिङ मेसिन अस्पतालको बायोमेडिकल फोहोर प्रशोधन गर्ने मुख्य उपकरण हो । अस्पतालबाट निस्कने सिसा, धारिलो वस्तु (निडल, सर्जिकल ब्लेड), कपडाका टुक्रा र प्लास्टिकजस्ता सबै प्रकारका फोहोर मिसाएर राख्न सकिन्छ । यो मेसिनको क्षमता दुई सय ५० लिटर रहेको उनले जानकारी दिए । मिश्रले भने, ‘यसले करिब ३० मिनेटमा फोहरलाई प्रशोधन गर्छ । मेसिनभित्र रहेको स्रेडर ब्लेडले फोहरलाई सानो टुक्रा बनाउँछ र सँगै रहेको इन्टिग्रेटेड माइक्रोवेभ टेक्नोलोजीले यसलाई स्टेरिलाइज (निसङ्क्रमण) गर्छ ।’

प्रशोधनपछि निस्कने फोहोर चिन्न नसकिने धुलोको टुक्रा हुने गर्छ । यस प्रक्रियाबाट फोहोरको आयतन ८५ प्रतिशत र तौल २५ प्रतिशतसम्म घट्ने उनले जानकारी दिए । यो प्रविधि पुराना इन्सिनेरेटरको तुलनामा वातावरणीय रूपमा बढी सुरक्षित मानिएको उनको भनाइ छ । 

माइक्रोवेभ टेक्नोलोजी आफैँमा सुरक्षित भएकाले यसले वातावरणीय प्रदूषण नल्याउने उनले बताए । मेसिनबाट निस्कने बाफलाई समेत हेपा फिल्टरमार्फत शुद्ध पारेर मात्र वातावरणमा छाड्ने गरिएको छ । 

अस्पतालबाट दैनिक ४० देखि ६० किलो फोहर सङ्कलन हुने गरेको हुन्छ । यो  फोहरलाई रङअनुसार डस्टबिनमा वर्गीकरण गरी माइक्रोवेभ मेसिनमा प्रशोधन गरिन्छ । वार्डहरूबाट फोहर सङ्कलन गर्ने बेलादेखि नै कलर कोडिङअनुसार (रातो, हरियो डस्टबिन) फोहर छुट्याइन्छ । त्यसपछि सङ्कलनस्थलमा ल्याएर थप सेग्रिगेसन गरिन्छ र प्रशोधनका लागि पठाइन्छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?