काठमाडौं । लागूऔषधको प्रयोग, बिक्री वितरण, भण्डारणसम्बन्धी नेपालको कानुन निकै जटिल र प्रतिबन्धात्मक नै छ । तर पनि बेला बेलामा यस्ता औषधीको प्रयोग, बिक्री वितरण र भण्डारण गरेको अभियोगमा मानिसहरू बारम्बार पक्राउ पर्ने र उनीहरुविरुद्ध मुद्दा चल्ने गरेका छन् । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले लागूऔषधको प्रयोग, बिक्री वितरण र भण्डारण गर्ने व्यक्तिहरूलाई पटकपटक पक्राउ गरी मुद्दा चलाएको छ ।
प्रहरीले यसरी मुद्दा चलाएकाहरूमा एक पत्ता वा दुई पत्ता फेला पर्दासमेत सबैविरुद्ध मुद्दा चलाउने गरेको छ । प्रयोग गर्ने, बिक्री वितरण गर्ने र भण्डारण गर्ने सबै विरुद्ध मुद्दा चल्ने गरेको ‘नजिर’ विपरीत हालसालैको एक घटनामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले भने मुख्य अभियुक्तहरूलाई उन्मुक्ति दिएर सहायक अभियुक्तलाई मात्रै मुद्दा चलाएको पाइएको छ । नेपालमा प्रतिबन्धित लागूऔषध ट्रामाडोलको बिक्री वितरण गर्ने चार मुख्य अभियुक्तलाई ‘क्लिन चिट’ दिएर दोस्रो तहका अभियुक्तमाथि मात्रै मुद्दा चलाउने निर्णय भएको पाइएको हो ।
५ लाख ३४ हजार १ सय क्याप्सुल लागूऔषध ट्रामाडोलसहित पक्राउ परेका साइमन बनवारीलाई मात्रै मुद्दा चलाएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले साइमनलाई लागूऔषधको बिक्री वितरण गर्ने कृष्णप्रसाद चौलागाई, पवन भण्डारी, पवन शर्राफ र पुरुषोत्तम रोक्कालाई भने मुद्दा नै नचल्ने निर्णय गरेको पाइएको हो ।
पहिले, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले लागूऔषध बेच्नका लागि दिँदा सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेको घटना के हो, त्यो बुझौँ ।
कोटेश्वरमा कार्यालय रहेको नेपाल प्रहरीको लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान गर्ने कार्यालय अर्थात् लागूऔषध नियन्त्रण ब्युरोले गत फागुनको पहिलो साता सुजन ताम्राकार भन्ने लागूऔषध प्रयोगकर्तालाई ट्रामाडोलसहित पक्राउ गर्यो । प्रहरीले सुजनसँग सोधपुछ गर्दा उक्त लागूऔषध फार्मेसी पसल सञ्चालक सुधीर लामिछानेले बिक्री गरेको खुल्यो । त्यस लगत्तै प्रहरीले सुधीर लामिछानेलाई पनि पक्राउ गर्यो ।

प्रहरीले सुधीरसँग पनि सोधपुछ गर्दा लागूऔषध कारोबारमा क्षेत्रपाटीमा केटीएम सर्जी हाउस सञ्चालन गर्ने कृष्णप्रसाद चौलागाईं र साइमन बनवारीसँग आफूले लागूऔषध ट्रामाडोल ल्याई बिक्री वितरण गर्ने गरेको बयान दिए । त्यस लगत्तै प्रहरीले कृष्णप्रसाद चौलागाईं र साइमन बनवारीको खोजी गर्यो । खोजीका क्रममा साइमन बनवारी मकवानपुरको हेटौंडामा रहेको खुल्यो भने कृष्णप्रसाद चौलागाईं कहिले क्षेत्रपाटी त कहिले टोखामा रहने गरेको देखियो । त्यसपछि अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्युरोले चौलागाईंलाई २०८१ फागुन ८ गते साँझ टोखाबाट नियन्त्रणमा लियो ।

यता साइमन बनवारी भन्ने व्यक्ति उपत्यका बाहिर रहेको भन्दै सुधीर लामिछानेमार्फत नै फिसिङ गरी ट्रामाडोल चाहियो भन्दै काठमाडौं बोलाइयो । अनि फागुनको ९ गते साइमनलाई पनि सुधिरलाई दिन भनी ल्याएको अवस्थामा ४१ हजार २ सय थान ट्रामाडोलसहित चन्डोलबाट नियन्त्रणमा लियो ।

तीन वटा बोरामा ल्याएको ४१ हजार २ सय क्याप्सुल ट्रामाडोलसहित पक्राउ परेका बनवारीमाथि थप अनुसन्धानको क्रममा बनवारीको टोखामा रहेको डेरा कोठामा समेत प्रहरी पुग्यो । त्यहाँ पुगेर खानतलासी गर्दा निजको कोठामा लुकाएर राखिएको अवस्थामा थप ४ लाख ९२ हजार ९ सय थान क्याप्सुल ट्रामाडोल बरामद भयो । साइमनको साथबाट कुल ५ लाख ३४ हजार १ सय क्याप्सुल लागूऔषध ट्रामाडोल बरामद भयो ।
त्यसपछि साइमन बनवारीलाई समेत कार्यालयमा ल्याई प्रारम्भिक बयान लिँदा निजले ती लागूऔषधहरु क्षेत्रपाटीमा केटीएम सर्जी स्टोर नामक सर्जिकल सप्लायर्सको काम गर्ने कृष्णप्रसाद चौलागाईं, कुपन्डोलमा प्रसिद्धि ट्रेड कन्सर्न चलाउने पवन भण्डारी तथा कारोबारीहरू प्रदीप शर्राफ र पुरुषोत्तम रोक्कासँग सस्तोमा किनी फार्मेसीहरूलाई बिक्री वितरण गर्ने गरेको बयान दिए ।

साइमनको बयानमा पोल भएका कृष्णप्रसाद चौलागाईं त्यसअघि नै लागूऔषध नियन्त्रण ब्युरोको नियन्त्रणमा आइसकेका थिए भने प्रदीप शर्राफ र पुरुषोत्तम रोक्का लागूऔषध कारोबारको मुद्दामा नै केन्द्रीय कारागारमा थुनामा रहेका थिए । प्रहरी नियन्त्रणमा नरहेका पवन भण्डारीको खोजी गर्दा उनी तत्काल फरार रहेका थिए ।
प्रतिवादी कृष्णप्रसाद चौलागाईं, पवन भण्डारी, पुरुषोत्तम रोक्का र प्रदीप शरार्फसँग मेरो चिनजान भएकोमा निजहरूले लागूऔषध ट्रामाडोलको कारोबार गरेको खण्डमा राम्रो आर्थिक फाइदा कमाउन सकिन्छ, हामीहरूसँग लागूऔषध ट्रामाडोल छ तिमीले खरिद गर्ने मानिस खोजेर बिक्री गर भन्ने कुरा गरेकोमा म निजहरूको कुरामा सहमत भई लागूऔषध ट्रामाडोलको कारोबार गर्ने सोच बनाई …..
साइमन बनवारीले आफ्नो बयानमा पोल गर्दा के भनेका थिए, त्यो हेरौँ ।
‘म विगत डेढ वर्ष पहिलेदेखि काठमाडौं बसी सर्जिकलका सामानहरू (सेनिटाइजर, मास्क, थर्मगन, ग्लोब्स लगायत) र फर्निचरका सामानहरू डिस्ट्रिब्युटको काम गर्दै आएको थिएँ । सर्जिकलका सामानहरू डिस्ट्रिब्युट गर्ने क्रममा करिब १ वर्ष पहिले प्रतिवादी कृष्णप्रसाद चौलागाईं, पवन भण्डारी, पुरुषोत्तम रोक्का र प्रदीप शरार्फसँग मेरो चिनजान भएकोमा निजहरूले लागूऔषध ट्रामाडोलको कारोबार गरेको खण्डमा राम्रो आर्थिक फाइदा कमाउन सकिन्छ, हामीहरूसँग लागूऔषध ट्रामाडोल छ तिमीले खरिद गर्ने मानिस खोजेर बिक्री गर भन्ने कुरा गरेकोमा म निजहरूको कुरामा सहमत भई लागूऔषध ट्रामाडोलको कारोबार गर्ने सोच बनाई सर्जिकलका सामानहरू वितरणको क्रममा चिनजान भएका सुधीर लामिछाने र अनिल भट्ट भन्ने मानिसलाई लागू औषध ट्रामाडोल खरिद गर्ने भए म व्यवस्था गरिदिन्छु भनेकोमा निजहरू मसँग लागूऔषध ट्रामाडोल खरिद गर्न सहमत भएपछि यकिन मिति थाहा छैन म पक्राउ पर्नुभन्दा करिब १० महिना पहिले प्रदीप शरार्फसँग लागू औषध ट्रामाडोल ६०० बक्सा (१ लाख ८० हजार क्याप्सुल), यकिन मिति थाहा छैन म पक्राउ पर्नुभन्दा ८ महिना जति पहिले यसै मुद्दामा पक्राउ परेका प्रतिवादी कृष्णप्रसाद चौलागाईंसँग लागू औषध ३०० बक्सा (९० हजार क्याप्सुल), पुरुषोत्तम रोक्कासँग म पक्राउ पर्नुभन्दा करिब ७ महिना पहिले लागूऔषध ट्रामाडोल ६०० बक्सा (१ लाख ८० हजार क्याप्सुल) र पवन भण्डारीसँग म पक्राउ पर्नु भन्दा करिब ६ महिना पहिले लागूऔषध ट्रामाडोल ६०० बक्सा (१ लाख ८० हजार क्याप्सुल) खरिद गरी मेरो का.जि. टोखा न.पा. वडा नं. ३ स्थितमा रहेको डेरा कोठामा सञ्चय गरी राखी उक्त लागूऔषध ट्रामाडोलबाट यकिन मिति थाहा छैन म पक्राउ पर्नुभन्दा करिब २ महिना पहिले सुधीर लामिछानेलाई लागूऔषध ट्रामाडोल २४० बक्सा (७२ हजार क्याप्सुल) बिक्री गरेको र त्यसैगरी अनिल भट्टलाई उक्त लागूऔषध ट्रामाडोलबाट म पक्राउ पर्नुभन्दा करिब १ महिना पहिले लागूऔषध ट्रामाडोल २३,९०० क्याप्सुल बिक्री गरेकोमा मेरो डेरामा लागूऔषध ट्रामाडोल ५ लाख ३४ हजार १ सय क्याप्सुल बाँकी रहेको थियो । उक्त क्याप्सुलबाट मिति २०८१।११।०९ गते लागूऔषध ट्रामाडोल ४१,२०० क्याप्सुल प्रतिवादी सुधीर लामिछानेलाई दिनका लागि मेरो स्कुटरमा राखी लिएर जाँदा १५ः३० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. ४ मा प्रहरीले मलाई फेला पारी उक्त ट्रामाडोलसहित पक्राउ गरेको र मेरो कोठाबाट समेत ट्रामाडोल ४,९२,९०० क्याप्सुल बरामद गरेको हो । लागूऔषध ट्रामाडोल मैले १५० बक्सा (४५,००० क्याप्सुल) रु. १ लाखमा खरिद गरी रु. १ लाख पचास हजारमा बिक्री गर्नको लागि सञ्चय गरी राखेको हो ।’

यसरी पक्राउ पर्नेबित्तिकैको प्रारम्भिक बयानमा साइमन बनवारीले आफूहरूले अन्य व्यक्तिहरूसँग रहेको लागूऔषध ट्रामाडोल बिक्री गर्न भनेअनुसार उनीहरूसँग किनेर बिक्री गरेको बयान दिए । साइमन बनवारीकै मोबाइलको प्रारम्भिक विश्लेषणमा पवन भण्डारी, प्रदीप शर्राफ र पुरुषोत्तम रोक्कासँग कुराकानी भएको प्रमाणसमेत फेला पर्यो । केही कारोबार भएकोसमेत फेला परेपछि प्रहरीले साइमनसँग थप बयान लियो ।
ट्रामाडोल कारोबार बापतको रकम नगदै प्राप्त गर्ने र कहिलेकाहीँ चेक मार्फत गर्ने गरेको थिएँ । प्रहरी प्रतिवेदन साथ दाखिला भएको मेरो मोबाइलबाट गरिएको स्क्रिन सट म, प्रदीप शर्राफ, पवन भण्डारी र पुरुषोत्तम रोक्काबिच लागूऔषध ट्रामाडोल कारोबारको क्रममा भएको कुराकानी हो ।
साइमनको थप बयान यस्तो छ,
‘लागूऔषध ट्रामाडोल कारोबारका क्रममा पवन भण्डारी, प्रदीप शर्राफ, कृष्णप्रसाद चौलागाईं र पुरुषोत्तम रोक्काले मलाई विभिन्न नम्बरहरूबाट फोन गरी कुराकानी गर्ने गरेका थिए, उक्त नम्बरहरू खुलाउन सक्दिन । ट्रामाडोल कारोबार बापतको रकम नगदै प्राप्त गर्ने र कहिलेकाहीँ चेक मार्फत गर्ने गरेको थिएँ । प्रहरी प्रतिवेदन साथ दाखिला भएको मेरो मोबाइलबाट गरिएको स्क्रिन सट म, प्रदीप शर्राफ, पवन भण्डारी र पुरुषोत्तम रोक्काबिच लागूऔषध ट्रामाडोल कारोबारको क्रममा भएको कुराकानी हो । मैले लागूऔषध ट्रामाडोल १ बाक्सा (३०० क्याप्सुल) रू. ६६६ को दरले खरिद गरी रू. १,००० का दरले बिक्री गरेको थिएँ ।’
यही बयान, साइमन बनबारीसँगको कुराकानी तथा कारोबारको प्रमाण पाएपछि प्रहरीले साइमन पक्राउ परेको एक महिनापछि २०८१ चैत ८ गते पवन भण्डारीलाई समेत नियन्त्रणमा लियो ।
त्यसपछि सबैको बयान सुरु हुँदा कृष्णप्रसाद चौलागाईंले साइमनसँग कुनै कारोबार नै नभएको, २०७२ सालमा चिनजान भएको र भेटघाट हुने गरेको तर विगत १८ महिना पहिलेदेखि निजसँग भेटघाट र कुराकानी नै नभएको र ट्रामाडोल कहिल्यै नबेचेको बयान दिए ।
पवन भण्डारीले बयान गर्ने क्रममा निजसँग चिनजान रहेको तर ट्रामाडोल बिक्री नगरेको बयान दिए । आफूले साइमनलाई मास्क, स्यानिटाइजरलगायतका सामाग्री मात्रै बिक्री गरेको र त्यही कारोबारको विषयमा कुराकानी भएको र बैंकमा पैसा राखिदिएको भएपनि त्यही बापतको पैसा भएको बयान दिए ।
प्रदीप शर्राफ र पुरुषोत्तम रोक्काले त साइमन बनवारीलाई चिनेको समेत छैन भनेर बयान दिए, जबकि साइमनको मोबाइलमा पवन भण्डारी, प्रदीप शर्राफ र पुरुषोत्तम रोक्कासँग कुराकानी भएको प्रमाण समेत प्रहरीसँग सुरक्षित थियो ।
पोल बयान भएका दुई जना ट्रामाडोल कारोबारको कसुरमै थुनामा थिए भने बाहिर रहेका कृष्ण र पवनको ठेगानामा प्रहरीले छापा मारे पनि ट्रामाडोल वा अन्य लागूऔषध बरामद गर्न सकेन ।
सरकारी वकिलले पटकपटक दियो अनावश्यक निर्देशन
प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा पठाई साइमन बनवारी प्रकरणसँग जोडिएका कृष्णप्रसाद चौलागाईं, पवन भण्डारी, प्रदीप शर्राफ र पुरुषोत्तम रोक्कालाई पनि मुद्दा चलाउने गरी पठायो । तर सरकारी वकिलबाट भने साइमन बनवारीविरुद्ध मात्रै मुद्दा चलाउने गरी पटकपटक यो वा त्यो पुगेन भन्दै निर्देशन दिइयो । सरकारी वकिल कार्यालयले प्रहरी प्रतिवेदन दुई पटक फिर्ता पठाउँदै साइमन र कृष्णप्रसाद चौलागाईं तथा पवन भण्डारीसँगको कल डिटेल्स पेस गर्न भन्यो । जबकि साइमनले कृष्ण, पवन, पदीप र पुरुषोत्तमसँग फेसबुक, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा मात्रै कुराकानी गरेका थिए तर सरकारी वकिल भने कुराकानी पुष्टि गराउन भन्दै डाइरेक्ट सिमकार्डमा गरिएको नभएको संवादको रेकर्ड खोज्दै थियो । अनि कारोबार भएको भए बैंक खातामा हालेको प्रमाण खोज्न निर्देशन दियो, जबकि साइमनको बयानमा पनि नगदमा कारोबार भएको विवरण उल्लेख गरिएको छ । तर अन्य आरोपितलाई क्लिन चिट दिने उद्देश्यले सरकारी वकिलले भने नभएको प्रमाण खोजिरह्यो, मागिरह्यो ।
प्रहरीले ६ जनाविरुद्ध जनाविरुद्ध मुद्दा चलाउने राय दियो, सरकारी वकिलले उन्मुक्ति दिए

सहायक न्यायाधिवक्ता, जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले आफ्नो रायसहितको प्रतिवेदनमा साइमन बनवारी, कृष्णप्रसाद चौलागाईं, पवन भण्डारी, प्रदीप शर्राफ, पुरुषोत्तम रोक्का र सुधीर लामिछानेविरुद्ध समेत मुद्दा चलाउन राय दिएको थियो । तर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता पूर्णबहादुर केसीले भने नभएको प्रमाण खोजी गर्दै लागूऔषध ट्रामाडोलको बिक्री गर्ने पोल बयान लगाइएकाहरूलाई उन्मुक्ति दिए । पक्राउ परेकामध्ये सुधीर लामिछानेलाई अन्य कसुरमा मुद्दा चलाइएको भएपनि कृष्णप्रसाद चौलागाईं, पवन भण्डारी, प्रदीप शर्राफ र पुरुषोत्तम रोक्कालाई भने लागूऔषध बरामद नभएको, कारोबार भएको पुष्टि नभएको, कल डिटेल्स रिपोर्टमा कुराकानी भएको नदेखिएको भन्दै अभियोग दाबीबाट उन्मुक्ति दियो ।
२ करोड घुसको चर्चा
यता ठुलो मात्रामा लागूऔषध ट्रामाडोलको किनबेच र कारोबारमा संलग्नहरूलाई सरकारी वकिलले उन्मुक्ति दिएको र उन्मुक्ति दिन २ करोड रुपैयाँको घुस डिल भएको चर्चा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा चलेको थियो । आरोपितले सरकारी वकिललाई मिलाउनु पर्ने भन्दै थुनामा रहेका व्यक्ति अर्थात् साइमन बनवारीसँग ३० लाख रुपैयाँ रकमसमेत माग गरेका थिए, त्यसको प्रमाण लोकपथसँग सुरक्षित छ ।
यस सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालयका अभियोजक पूर्णबहादुर केसीसँग कुराकानी गर्दा उनले घुसको कारोबार भएको कुरा पूर्णतः इन्कार गरे । उनले वस्तुनिष्ठ प्रमाणबाट पुष्टि हुन नसकेको कारण मुद्दा नचलाइएको जिकिर गर्दै आफू नै अन्तिम निर्णयकर्ता नरहेको र माथिबाट अर्को आदेश आएमा मुद्दा चल्ने बताए ।
सरकारी वकिलले ६० लाख रुपैयाँ माग्यो भन्दै त्यसको आधा अर्थात् ३० लाख मसँग पनि मागिएको थियो । तर मेरो त २५ लाख रुपैयाँको औषधी नै समातिएको थियो र मसँग पैसा थिएन । पछि उनीहरूले २०-२० लाख रकम दिएर छुटेको भनेको सुनेको हुँ, ……..
साइमन बनवारीले स्वीकारे घुस मागिएको विषय
यता यही मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका प्रतिवादी साइमन बनवारीले सरकारी वकिलबाटै छुटाउन भन्दै आफूसँग समेत रकम माग गरिएको स्वीकार गरे । लोकपथसँगको कुराकानीमा साइमनले भने, ‘सरकारी वकिलले ६० लाख रुपैयाँ माग्यो भन्दै त्यसको आधा अर्थात् ३० लाख मसँग पनि मागिएको थियो । तर मेरो त २५ लाख रुपैयाँको औषधी नै समातिएको थियो र मसँग पैसा थिएन । पछि उनीहरूले २०-२० लाख रकम दिएर छुटेको भनेको सुनेको हुँ, अरू थाहा छैन । उनीहरुविरुद्ध मुद्दा नै नचल्ने निर्णय भएको सुन्दा म आफैँ अचम्ममा परेको थिएँ ।’
ठुलो मात्रामा लागूऔषध ट्रामाडोलको कारोबार तथा भण्डारण गरेको अभियोगमा पक्राउ परेका साइमन बनवारी हाल पुर्पक्षका लागि थुनामा छन् भने अन्य मुद्दाबाट समेत प्रतिवादी रहेका प्रदीप शर्राफ र पुरुषोत्तम रोक्का पनि कारागारमै छन् । फार्मेसी सञ्चालक सुधीर लामिछाने पनि थुनामा रहँदा गम्भीर आरोप लागेका कृष्णप्रसाद चौलागाईं र पवन भण्डारीलाई भने सरकारी वकिलले अभियोगबाट उन्मुक्ति दिएको छ । तर सोही कार्यालयले अन्य कुनै प्रमाण नभएका तर पोल बयानमा परेका अन्य कारोबारीविरुद्ध भने मुद्दा चलाएको छ भने उनीहरू पुर्पक्षका लागि थुनामा गएका छन् ।
कार्यालय प्रमुख भन्छन्, ‘म सकेसम्म मुद्दा नचलाउने भन्ने मै हो’

सहन्यायाधिवक्ता, जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं
प्रमाण नपुगेको कारण मुद्दा नचलेको होला, आर्थिक कारोबार वा केही गडबड भएको भए व्यक्ति स्वयम् जिम्मेवार हुने हो ………
लागूऔषध कारोबारीलाई सरकारी वकिलले उन्मुक्ति दिएकोबारे लोकपथले कुरा गर्दा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका कार्यालय प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले आफू सकेसम्म मुद्दा नचलाउने पक्षमा रहेको बताए । यथेष्ठ प्रमाण नपुग्दासम्म मुद्दा चलाउन नहुने पक्षमा आफू रहेको भन्दै जेलमा पठाएर मात्रै समस्या समाधान नहुने बताए ।
उनले भने, ‘म सकेसम्म प्रमाण नपुगी मुद्दा चलाउन हुँदैन भन्ने पक्षमा छु । प्रमाण नपुगेको कारण मुद्दा नचलेको होला, आर्थिक कारोबार वा केही गडबड भएको भए व्यक्ति स्वयम् जिम्मेवार हुने हो ।’
नेपालमा गत वर्षको जेठबाट ट्रामाडोल प्रतिबन्धित, भारतमा पनि रोक लगाइयो
औषधीहरूको निर्माण मुख्यतः रोगको उपचार र निदानका लागि गरिन्छ । कतिपय यस्ता औषधी पनि हुन्छन्, जो दुखाई कम गर्न, निद्रा लगाउन प्रयोग गर्ने उद्देश्यबाट बनाइन्छ । तर ती औषधीहरूको दुरुपयोग भयो भने बिरामीको उपचार वा निदानमा प्रयोग गर्नुपर्ने ती औषधीहरू लागूऔषधका रूपमा प्रयोग हुन्छन् ।
तर ट्रामाडोलको दुरुपयोग भएको र यसको प्रयोग लागूऔषधका रूपमा भएपछि नेपाल सरकारले गत वर्षको जेठबाट यो औषधीमा प्रतिबन्ध लगाएको थियो भने भारत सरकारले गत गत फेब्रुअरी महिनादेखि यो औषधीमा प्रतिबन्ध लगाउँदै उत्पादनमा समेत रोक लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया