सुर्खेत । कर्णाली प्रदेशको जुम्ला जिल्लामा जन्मेकी रेनु कठायत पेसाले पाइलट हुन् । उनै रेनुले अविकासको बिम्बले थिचिएको कर्णालीबाट काठमाडौं विकट देखिने क्षेत्रको प्रतिनिधित्व गर्दै देश तथा विदेशी आकाशका हजारौँ फिटको उचाइ छिचोलिरहेकी छन् । उनलाई सानैदेखि पाइलट बन्ने इच्छा थियो । तर, उनलाई बुबाले डाक्टर पढ्नुपर्छ भन्ने गरेको उनले सुनाइन् ।
शनिबारदेखि वीरेन्द्रनगरमा जारी श्री ज्योति फाउन्डेसनद्वारा आयोजित ‘कर्णाली छोरी सम्मेलन’को अन्तिम दिन सोमबारको ‘कर्णालीको सारथि’ सत्रको वक्ता रहेकी रेनुले भनिन्, ‘म सुरुमै निजी स्कुलमै पढेकी हुँ, पढाइका लागि खासै संघर्ष गर्नुपरेन, विदेशमा पढेर आइसकेपछि जागिर नपाउँदाचाहिँ अलि तनाव भएको थियो, त्यसबेला कतिपयले यहाँ छोरी पढाएर खतम गर्यो भनेर बुबाहरूलाई भन्थे रे † बरु अन्य विषय पढाएको भए जागिर पाइन्थ्यो भनेर भने तर मलाई खासै केही लागेन, पछि पाइलट बन्ने सपना पूरा भयो, बुबाले डाक्टर पढ भन्नुभएको थियो तर मेरो चाहना पाइलट बन्ने थियो, यसैमा दृढ भएर संघर्ष गरेँ, अन्ततः सफल पनि भएकी छु ।’
शिक्षा सफलताको ढोका खोल्ने महŒवपूर्ण औजार भएको टिप्पणी गर्दै रेनुले पढाइभन्दा अहिलेका युवायुवतीहरूमा मोबाइलको गलत लत बस्न पुगेको बताइन् । ‘बरु किताब पढ्नुहोस्, शिक्षा सबैभन्दा पहिला घरबाट सुरु हुन्छ, त्यहीँबाट राम्रो संस्कार सिक्नुपर्छ, आफूले आफैसँग तुलना गरेर अगाडि बढ्नुपर्छ,’ रेनुले भनिन् ।
संघर्षमा जीवन लुकेको यथार्थ बुझेर अघि बढे मात्रै समाजमा सफल बन्न सकिने उनको धारणा थियो । ‘मैले प्लेन चलाएर अहिलेसम्म कर्णालीको भूमिमा आएकी छैन तर जुन भूमिका टेके पनि नेपालमै हो भन्ने सोच्छु, यो मेरो मातृभूमिप्रतिको माया हो, यद्यपि कर्णालीका छोरीहरूलाई अझै पनि अगाडि बढ्न त्यति सहज छैन, यसो भन्दैमा समाजसँग लड्न छोड्नुहुँदैन,’ रेनुले भनिन् ।
यस्तै, सो सत्रमा आफ्ना अनुभूति अभिव्यक्त गर्न आएकी थिइन्, मिस नेपाल इन्टरकन्टिनेन्टल सुर्खेतकी सुम्निमा पुरी । उनलाई पनि कर्णालीबाट मिस नेपालको प्लाटफर्ममा पुग्न त्यति सहज थिएन । ‘कर्णालीबाट मिस नेपालसम्म पुग्न धेरै चुनौती थिए,’ सुम्निमाले भनिन्, ‘यही क्षेत्रमा जान्छु भन्ने त थिएन, काम गर्दै जाँदा मिस नेपालसम्म पुगियो ।’
हाल उनी मार्केटिङ कम्पनीमा काम गरिरहेकी छन् । ‘जीवनमा हरेक सिँढी सफलताको मात्र हुँदैन, सिकाइ, भोगाइ सबैको हुन्छ, मेरो निर्णयमा मेरो परिवारले साथ दिनुभयो, पहिले आफूमाथि विश्वास राख्नुहोस्, अर्को, शिक्षालाई महŒव दिनुहोस्, आफूलाई कहिले पनि अरूसँग तुलना नगर्नुहोस्, सफलता हाम्रै हातमा छ,’ सुम्निमाले भनिन् ।
कर्णालीलाई काठमाडौंका मान्छेको हेर्ने दृष्टिकोण फरक रहेको उनको बुझाइ छ । तर जे छ, त्यसमा खुला मनले स्वीकार गर्नुपर्ने भन्दै सुम्निमाले भनिन्, ‘म जहाँ पनि कर्णालीको सुर्खेतबाट आएको हुँ भन्छु, अब समय आएको छ, काठमाडौंले कर्णालीलाई बुझ्ने ।’
उल्लिखित यी छोरीहरू भूगोलका कारण अभाव, गरिबी, अशिक्षा, अन्धविश्वास आदिजस्ता गलत भाष्यले थिचिएको कर्णालीबाट उठेका हुन् । फरक भूमिकामा भए पनि उनीहरूले कर्णालीलाई चिनाउने काम गरिरहेका छन् । छोरी सम्मेलनको अन्तिम दिन अर्थात् मंगलबारको ‘कर्णालीको सारथि’ सत्रको सहजकर्ता रहेकी पत्रकार बिनु सुवेदीसँग उनीहरूले गरेको अन्तरंग भलाकुसारीले लाग्थ्यो अब कर्णाली कुनै मानकले पछाडि छैन । पछाडि छ, त केबल मानिसभित्रको दृढ इच्छा शक्ति । जो कर्णालीको अवस्थाभन्दा माथि उठ्नै चाहँदैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया