काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा हमासले पक्रिएर राखेका २४ मध्ये तीन बन्धकको मृत्यु भएको र २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको बताएका छन् ।
‘आजको मितिसम्म २१ जना मात्र जीवित छन्, तीन जनाको मृत्यु भएको छ,’ ट्रम्पले हमासले लिएका बन्धकहरूको बारेमा भने । उनले अब मृत भएको विश्वास गरिएकाहरूको पहिचान वा उनीहरूको मृत्युको बारेमा कसरी थाहा पाएको भन्नेबारे थप विवरण दिएनन् । उनले भने, ‘त्यहाँ २१ जना छन् र धेरै मृत शरीर पनि ।’
एक अमेरिकी एडन अलेक्जान्डर जीवित रहेको विश्वास गरिएका २४ बन्धकमध्ये एक थिए । हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेपछि अन्य केही अमेरिकीका शव पनि हमासको कब्जामा रहेका छन् ।
बन्धकहरूलाई पुनः प्राप्त गर्न र हमासलाई नष्ट गर्ने आफ्नो युद्ध लक्ष्यहरू पूरा गर्ने प्रयासमा इजरायलले गाजा पट्टी कब्जा गर्ने र प्यालेस्टिनी क्षेत्रमा अनिर्दिष्ट समयका लागि बस्ने योजनालाई सोमबार अनुमोदन गरेपछि राष्ट्रपति ट्रम्पको टिप्पणी आएको हो ।
यदि कार्यान्वयन गरियो भने यस कदमले त्यहाँ इजरायलको अपरेसनहरू व्यापक रूपमा विस्तार गर्नेछ र सम्भवतः कडा अन्तर्राष्ट्रिय विरोधलाई आकर्षित गर्नेछ ।
अमेरिकी दूतावासले सोमबार १७ जना अमेरिकी नागरिक र कानुनी स्थायी बासिन्दाहरूलाई गाजा छोड्न मद्दत गरेको अमेरिकी विदेश मन्त्रालयले मंगलबार जनाएको छ ।
हमासको कब्जामा नेपाली नागरिक विपिन जोशी पनि छन् । टाइम्स अफ इजरायलको एक समाचारले चार महिनाअघि उनी जीवित रहेको जनाएको थियो ।
विपिन जीवित छैनन् कि भन्ने आशंकाका माझ चार महिनाअघि हमासले रिहा गर्न लागेकाहरूको सूचीमा एक नेपाली पनि उल्लेख गरिएकाले उनी जीवित रहेको प्रमाणित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया