प्रधानमन्त्री ओलीको स्मरणमा स्वर्गीय प्रदीप नेपाल

लोकपथ
5.7k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी नेता स्वर्गीय प्रदीप नेपालप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

मंगलबार अपरान्ह थापाथलीस्थित नर्भिक अस्पतालमा दिवंगत भएका नेता नेपालप्रति श्रद्धाञ्जली अर्पण गर्दै पूराना दिनहरुको स्मरण समेत गरेका छन् ।

लामो समय वामपन्थी आन्दोलनमा सँगै संघर्ष गरेका ओली प्रधानमन्त्री हुँदा नेपाल भने पछिल्ला दिनहरुमा स्वास्थ्यका कारण राजनीतिमा निष्कृय बनेका थिए । पाकिन्सनजस्तो जटिल रोगसहित अन्य रोगसँग जुधिरहेका नेपालको राजनीति सँगसँगै साहित्यमा समेत छुट्टै स्थान रहेको छ । साहित्यमा सञ्जय थापाको नामले परिचित नेपालले नेपाली राजनीतिमा मात्र होइन नेपाली साहित्यमा समेत अमूल्य योगदान दिएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्दै नेपाल आफ्नो सहयोद्धा रहेको र वामपन्थी आन्दोलनमा गरेका संघर्षहरु स्मरण गरेका छन् । साथै कोअर्डिनेशन केन्द्र माले हुँदै नेकपा एमाले निर्माणमा नेपालको भूमिका अतुलनीय रहेको भन्दै उनीप्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।

‘नेकपा एमालेको निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु भएका, नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर नेता, प्रगतिशील साहित्य लेखनमा सञ्जय थापाको छुट्टै परिचय बनाउनु भएका मेरा सहयोद्धा प्रदीप नेपालको निधनले पीडाबोध भएको छ। उहाँसँग विभिन्न जिम्मेवारीमा सहकार्यका दिनहरू झल्झली सम्झना आइरहेका छन् । दिवंगत प्रदीप नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। प्रदीप नेपाल र उहाँको योगदानलाई हामी सधैं सम्झिरहने छौँ,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

७१ वर्षको उमेरमा धर्तीबाट बिदा लिएका नेपाल प्रखर वक्ता र वैचारिक व्यक्तिका रुपमा परिचित रहेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । उनी पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारमा सञ्चारमन्त्री भएर समेत काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?