काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ को तीनकुने घटनाको छानबिनका लागि न्यायीक आयोग गठनको माग पुनः अघि सारेका छन् ।
आज राप्रपा नेपालले भृकुटीमण्डपमा आयोजना गरेको राजतन्त्र पुनस्थापनाको आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सो माग अघि सारेका हुन् ।
तीनकुनेको घटनालाई हिंसात्मक पनि भन्ने र त्यसको निष्पक्ष छानबिनका लागि न्यायीय आयोग गठन पनि नगर्ने सरकारको दोहोरो चरित्र रहेको समेत आरोप लगाए ।
उनले आन्दोलनमा प्रहरीले ठूलो बल प्रयोग गरेको दाबी गर्दै प्रदर्शनसँग कुनै सम्बन्ध नै नभएका व्यक्तिहरुमाथि गोली प्रहार भएको भन्दै सरकारको खरो आलोचना गरे ।
‘मैले बारम्बार संसद्मा पनि प्रश्न गरेको छु, ७४६ राउण्ड भन्दा बढी म्याद सकिएका अश्रुग्यासका सेलहरु प्रहार गरियो । त्यो अश्रुग्यास के प्रदर्शनकारीहरुले प्रहार गरेको हो । विभिन्न प्रकृतिका २५० राउण्ड भन्दा बढी गोली चलाइयो, त्यो के प्रदर्शनकारीहरुले चलाएको हो ? यो सबै छानबिनको विषय हुनुपर्छ । आज प्रदर्शनस्थलमा मात्र होइन प्रदर्शनस्थल भन्दा धेरै पर रहेको र प्रदर्शनसँग कुनै सम्बन्ध नभएका रेविका खत्री जस्ता निहत्था मानिसहरुलाई घरको ढोकामा छिर्दाछिर्दै गोली लागेको छ । त्यो कसले हानेको हो र किन हानेको हो ? यो सबै घटनाले सरकार कति आत्तिएको र कति निरंकुश छ भन्ने कुरा सार्वजनिक भएको छ । त्यसकारण यी सबै विषयको न्यायीक छानबिन हुनुपर्दछ र त्यसका लागि न्यायीक आयोग गठन हुनुपर्दछ । न्यायीक आयोग गठन नभएसम्म, हाम्रा साथीहरु रिहाइ नभएसम्म आन्दोलन जारी रहनेछ,’ उनले भने ।
त्यस्तै राप्रपा सबैसँग छलफल गर्न र समन्वय गर्न तयार रहेको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया