बढुवा भए आईजीपीको बाटो खुला, नभए डीआईजीबाटै अवकाश

लोकपथ
12.5k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदका लागि आइतबार बढुवा समितिको सचिवालयले सूचना निकालेसँगै नायव महानिरीक्षक (डीआईजी)हरुबीच रस्साकस्सी सुरु भएको छ ।

३० वर्से सेवा अवधिका कारण एआईजी चन्द्रप्रकाश गौतम २ वैशाखको रातिदेखि अनिवार्य अवकाशमा गएसँगै रिक्त एक पदमा बढुवाका लागि भइरहेको रस्साकस्सी सूचना जारी भएसँगै थप बढेको छ । बढुवा समितिको सचिवालयका सदस्य सचिवसमेत रहेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्वारा हस्ताक्षरित सूचनामा आइतबारको मितिले सात दिनभित्र बढुवा प्रयोजनका लागि आवश्यक पर्ने प्रमाणपत्रका प्रतिलिपिहरु पेस गर्न भनिएको छ ।

बढुवा भए तीन वर्षपछि भावी संगठन प्रमुखको दाबेदार र नभए ९ माहिनापछि डीआईजीबाटै अवकाशमा जानुपर्ने भएकाले पनि यो बढुवालाई संगठनभित्र र बाहिर विशेष चासोका साथ हेरिएको छ ।

बढुवाको प्रतिस्पर्धामा डीआईजी कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी मुख्य दाबेदार रहेका छन् । गिरी र ठाडामगर ३ असार २०५६ मा प्रहरी निरीक्षकमा प्रवेश गरी सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए भने नेम्वाङ चाहिँ उनीहरूपछिको वैकल्पिक सूचीमा थिए ।

१८ चैत २०५४ मा प्रहरी निरीक्षकमा भर्ना भएर पछि सशस्त्र प्रहरीमा स्थानान्तरण भएका सुवेदी वर्तमान आईजीपी राजु अर्याल, एआईजीद्वय नारायणदत्त पौडेल र वंशीराज दाहालका ब्याची हुन् । सुवेदी भने एआईजीमा बढुवा भएपनि आईजी बन्न भने सक्दैनन् ।

डीआईजी ठाडामगरले एसएसपी भएकै बेला माघ महिनामा सामाजिक सञ्जाल फेसबुकमा पूर्वराजा ज्ञानेन्द्र शाहबारे टिप्पणी गरेका थिए । उनले त्यसबेला ‘छँदाखाँदाको सत्ता जोगाउन नसक्नेले अहिले गोरुको झर्ला र खाउँला भन्ने आशमा बस्नु मनको लड्डु घिउ’ भनेर पोस्ट गरेका थिए ।

यसैगरी बढुवाका लागि नेपाल प्रहरीमा प्राविधिक नायव निरीक्षक (सई) मा भर्ना भएर सशस्त्रमा डीआईजी बन्न सफल कालिदास धौवजी, कुमार न्यौपाने, लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पालले पनि आफ्नो दाबेदारी प्रस्तुत गर्न सक्ने छन् ।

यसका साथै सशस्त्र प्रहरीकै पहिलो व्याज (सि.सं. १ सशस्त्र प्रहरी निरीक्षक) का डीआईजीहरू सुरेशकुमार श्रेष्ठ, अञ्जनी पोखरेल र दीपेन्द्र शाह पनि एआईजीको प्रतिस्पर्धामा छन् । सि.सं. १ सशस्त्र प्रहरी निरीक्षक) का डीआईजीहरू एआईजी बन्न नसकेको अवस्थामा सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार डीआईजीबाटै अवकाशमा जानुपर्ने हुनाले पनि उनीहरुले यो बढुवालाई प्रतिष्ठाकै विषय बनाएका छन् । उनीहरुले यसअघि डीआईजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको एक वर्ष अवधि नथप्न पनि चर्काे लबिइङ गरेका थिए । चार वर्षे पदावधि सकिनु केही घण्टाअघि मात्रै सरकारले उनीहरुको पदावधि एक वर्ष गरेको थियो ।

समाचार स्रोतहरुका अनुसार, एक वर्ष थप गरिएका डीआईजीहरु गिरी र ठाडामगर तथा सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका डीआईजीहरु सुरेशकुमार श्रेष्ठ, अञ्जनी पोखरेल र दीपेन्द्र शाहले बढुवाका लागि चर्काे लबिइङ गरिरहेका छन् ।

सुदूरपश्चिमको धनगढीका स्थायी वासिन्दा शाहलाई बढुवाका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकको आशीर्वाद रहेको स्रोतको भनाइ छ । नेपाल प्रहरीको एआईजी बढुवामा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली हाबी हुँदा सशस्त्रको एआईजी भने भागबण्डाका रुपमा कांग्रेसलाई पर्ने र कांग्रेसको पहिलो रोजाइ शाह नै हुने विश्लेषणसमेत हुन थालेको छ ।

डीआईजी वरीयतामा दोस्रो नम्बरमा रहेका गणेश ठाडामगर भने आफ्नै व्यवहारका कारण बढुवा हुन नसक्ने स्रोतको भनाइ छ । ठाडामगरमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि पूर्वराजा ज्ञानेन्द्र शाहमाथि होच्याएको आरोप छ । यी विषयमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले उनीमाथि स्पष्टीकरणसमेत सोधेको थियो ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको प्रमुख रहेका बेला तत्कालीन एसएसपी ठाडामगरमाथि सामाजिक सञ्जाल फेसबुकमा अमेरिकाका बहालवाला राष्ट्रपति ट्रम्पको कार्टुनसहितको तस्बिर राखेर पोस्ट गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो । ट्रम्प अहिले पुनः राष्ट्रपति छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प त्यसबेला जो बाइडेनसँग चुनावमा हारेको समाचार आएलगत्तै तत्कालीन एसएसपी ठाडामगरले सामाजिक सञ्जाल फेसबुकमा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई बधाई दिँदै राष्ट्रपति ट्रम्पको बिगारेको तस्बिर पोस्ट गरेका थिए । साधारण व्यक्तिजस्तो गरेर तत्कालीन एसएसपी ठाडामगरले आफ्ना राष्ट्रपतिलाई होच्याएको भन्दै अमेरिकी दूतावासले समेत सशस्त्र मुख्यालयसमक्ष कूटनीतिक रूपमा असन्तुष्टि पोखेको थियो ।

डीआईजी ठाडामगरले एसएसपी भएकै बेला माघ महिनामा सामाजिक सञ्जाल फेसबुकमा पूर्वराजा ज्ञानेन्द्र शाहबारे टिप्पणी गरेका थिए । उनले त्यसबेला ‘छँदाखाँदाको सत्ता जोगाउन नसक्नेले अहिले गोरुको झर्ला र खाउँला भन्ने आशमा बस्नु मनको लड्डु घिउ’ भनेर पोस्ट गरेका थिए ।

उनी नम्बर २ छिन्नमस्ता बाहिनीको बाहिनीपति रहेका बेला सप्तरीको छिन्नमस्तास्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या भएको थियो । उनको हत्या नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न खोज्दा तस्करीको पक्षमा रहेका सशस्त्र प्रहरीकै संलग्नतामा भएको त्यसबेला चर्चा चलेको थियो । उनको शव भारतको बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा नग्न अवस्थामा भेटिएको थियो ।

यादवको हत्या प्रकरण थप पेचिलो बनेपछि त्यसबेला सशस्त्र प्रहरी बल प्रधान कार्यालयले तीन सदस्यीय समिति नै गठन गरेको थियो । तत्कालीन एआईजी चन्द्रप्रकाश गौतमको नेतृत्वमा गठित समितिमा डीआईजी कुलबहादुर नेम्वाङ र छवि पाण्डे रहेका थिए ।

डीआईजी ठाडामगरमाथि सो बाहिनीमा रहँदा तस्करी खुलाएको आरोप पनि लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?