काठमाडौं । प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आज दिउँसो तीन बजे नयाँबानेश्वरस्थित रत्नराज्य माविमा आकस्मिक बैठक बोलाएको छ । बैठकमा महासंघका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, आन्दोलन परिचालन समितिका पदाधिकारीहरूलाई बोलाइएको छ ।
नयाँबानेश्वरमा भएको आजको प्रदर्शनमा आन्दोलनरत शिक्षक र प्रहरीबिच झडप हुँदा एक दर्जन शिक्षक घाइते र एक जना पक्राउ परेपछि आकस्मिक बैठक बोलाइएको हो ।
बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरूलाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा आक्रोशित भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो । प्रहरीले शिक्षकहरुमाथि पानीको फोहोरा हानेर भिड तितरबितर पारेको थियो । आन्दोलनरत शिक्षकले भने प्रदर्शनमा घुसपैठ भएको दाबी गरेका छन् ।
शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरूले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा समेत गरेका छन् । यसबिचमा शिक्षक र सरकारका प्रतिनिधिबिच सहमतिको प्रयास भए पनि सहमति जुट्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया