काठमाडौं । तीनकुने घटनापछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धबल शमशेर राणा आज थुनामुक्त हुँदैछन् ।
क्यान्सर जस्तो गम्भीर रोगका सर्भाइभर रहेका राणालाई नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले छाड्न लागिएको हो ।
राणा छुट्ने भएसँगै अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राप्रपाका नेता कार्यकर्ताहरुको भीड लागेको छ ।
महामन्त्री राणा छुट्ने भएसँगै आफूहरु स्वागतका लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर पुगेको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले लोकपथलाई जानकारी दिए ।
‘हामी महामन्त्रीज्यूको स्वागतका लागि परिसरमा आइपुगेका छौँ,’ उनले भने, ‘केही समयपछि उहाँलाई छाडिने जानकारी आएको छ ।’
राजतन्त्र पुनस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक समेत रहेका राणासहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई तीनकुने घटनापछि प्रहरीले पक्राउ गरेको थियो । राणा छुट्ने भए पनि मिश्र भने हिरासतमा नै रहनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया