आज पनि काठमाडौं विश्वकै पहिलो प्रदूषित शहर, सम्भावित वर्षाले घट्ने प्रक्षेपण

लोकपथ
112
Shares

काठमाडौं । विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं आज बुधबार पनि पहिलो स्थानमै परेको छ । आज बिहान ६ः४५ बजेको मापनअनुसार काठमाडौंको एक्यूआई १८४ रहेको छ । मंगलबार बिहान ७ बजेको मापनमा काठमाडौंको एक्यूआई २६२ थियो ।

मंगलबारको तुलनामा प्रदूषण केही कम भए पनि यसलाई पनि स्वास्थ्यको दृष्टिकोणले खराब नै मानिन्छ । ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ ।

हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २०.४ गुणा बढी रहेको छ । 

काठमाडौंपछि भारतको नयाँ दिल्ली दोस्रो तथा चीनको वुहान तेस्रो स्थानमा रहेको छ । त्यसपछि शीर्ष १० स्थानमा क्रमशः युगान्डाको कामपाला, इन्डोनेसियाको जकार्ता, इराकको बगदाद, भियतनामको हानोई, चीनको छेङ्दु, पाकिस्तानको लाहोर र चीनको सांघाई सहर रहेका छन् ।

उता, पूर्वी तराईमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ । बुधबार बिहानदेखि नै पूर्वी तराईको झापा, मोरङलगायत जिल्लामा भीषण वर्षा भएको हो । वर्षा नहुँदा नेपालमा वायु प्रदूषण बढेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार, आज काठमाडौंमा पनि वर्षाको सम्भावना छ । ‘काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । अपराह्नपछि काठमाडौंमा हल्का वर्षाको सम्भावना देखिएको छ,’ मौसमविद् रोजन लामिछानेले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?