काठमाडौं । प्रभु बैंकले मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरपरिसरमा भीम यूपीआई सेवा सुरु गरेको छ । उक्त सेवाको शुक्रबार एक समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरेका हुन् ।
उक्त सेवाको सुरुवातसँगै अब भारतीय नागरिकले आफ्नो बैंक खाताबाट भीम यूपीआईमार्फत क्यूआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य किनमेलमा समेत भुक्तानी गर्न सक्ने भएका छन् ।
यो सेवाले मुक्तिनाथ मन्दिरमा आउने भारतीय भक्तजनहरूलाई डिजिटल माध्यमबाट सरल, सुरक्षित र सही भुक्तानी गर्ने सुविधा पुगेको, साथै नेपाल–भारत वित्तीय सम्बन्ध पनि थप सुदृढ बन्ने विश्वास गरिएको छ ।

त्यस्तै, यो सेवामार्फत क्रस-बोर्डर (सीमापार) डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने महत्त्वपूर्ण प्रयास भएको छ । यसले भारत र नेपालको वित्तीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले भीम यूपीआई सेवाको शुभारम्भले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै वित्तीय समावेशितालाई बलियो बनाउने उल्लेख गरे । उनले भक्तजनहरूका लागि यो प्रविधि सुरक्षित, पारदर्शी र सरल हुने विश्वास व्यक्त गर्दै डिजिटल भुक्तानीलाई सर्वसुलभ बनाउन विभिन्न सचेतना कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने आवश्यकता औँल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया