चितवन । मुग्लिन–मलेखु सडक स्तरोन्नतिको काम सुस्त गतिमा अघि बढेको छ । हालसम्म २५ प्रतिशत प्रगति भएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजनालाई तीन प्याकेज छुट्याएर स्तरोन्नतिको काम भइरहेको छ । करिब ९५ किलोमिटर दूरी रहेको यो सडक खण्ड तीन प्याकेज छुट्याएर स्तरोन्नति गरिएको हो । पहिलो प्याकेजमा नागढुङ्गा–नौविसे, दोस्रोमा नौविसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन गरी छुट्याइएको छ ।
पहिलो प्याकेजअन्तर्गत नागढुङ्गा–नौबिसे १२ दशमलव २६ किलोमिटर, दोस्रो ४३ दशमलव ५४ किलोमिटर र तेस्रो ३८ दशमलव ८६ किलोमिटर छ । तेस्रो प्याकेज अन्तर्गतको नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्ड चितवनका इञ्जिनियर विजय दरैका अनुसार अहिले सडक खण्डमा कालोपत्र र पुलको काम जारी छ । दैनिक २०० हाराहारीले काम गरिरहेको उनले बताए ।
चुम्लिङटार, कुरिनटार र लेवाटार क्षेत्रमा चार किलोमिटर सडकको दुई लेन कालोपत्र गरिसकिएको छ । बजार क्षेत्रमा चार लेन सडक बन्नेछ । कुरिनटार, लेवाटार र चुम्लिङटारका बाँकी क्षेत्रमा कालोपत्रको काम भइरहेको छ । फिस्लिङ, बेनिघाट र चरौदीमा सबबेसको काम गरिँदै छ । सो सडक खण्डमा पर्नेछ पुलमध्ये चार वटाको सबस्ट्रक्चर सम्पन्न गरिएको जनाउँदै दराईले असारसम्ममा चार पुल सम्पन्न गर्ने योजना रहेको बताए ।
चरौदी र हुग्दिका दुई पुलको फाउन्डेसनको काम भइरहेको छ । अन्य क्षेत्रमा पनि सडक विस्तारको काम भइरहेको छ । भित्तो काट्ने र तलबाट उठाउने काम गरिँदै छ । कतिपय ठाउँमा नाली निर्माणको काम भइरहेको छ ।
आयोजनाका प्रमुख केदारप्रसाद नेपालले असार मसान्तसम्ममा १६ किलोमिटर कालोपत्रको काम सम्पन्न गर्ने लक्ष्य रहेको बताए । यसैगरी, चार पुल सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । उनले भने, ‘गत वर्षको पुस–माघमा पाँच प्रतिशत मात्रै काम भएको थियो ।’ लक्ष्य लिएको १६ किलोमिटर सडकमध्ये आठ किलोमिटर बजार क्षेत्रमा पर्दछ । बजार क्षेत्रमा चार लेन सडक हुने हुँदा समय लाग्ने भएकाले अहिले बजार केन्द्रीय काम गरिएको बताए ।
विद्युत्का खम्बा सार्ने काम अझै सकिएको छैन । नेपालका अनुसार ९० खम्बामध्ये ५० सार्न बाँकी छ । सरकारी वन क्षेत्रका रूख काट्ने काम सकिएको छ । समयमा निर्माण सामग्रीको उपलब्धता नहुँदा काममा समस्या आएको उनले बताए । यसका अतिरिक्त निर्माण कम्पनीले आवश्यक स्रोतसाधन परिचालन गर्न नसक्दा पनि समयमा काम सम्पन्न गर्न नसकिएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया