कालीगण्डकी कोरिडोरको बागलुङ खण्डमा दश किलोमिटर कालोपत्रे

लोकपथ
511
Shares
फाइल तस्बिर

बागलुङ ।  राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डमा १० किलोमिटर सडक कालोपत्रे गरिएको छ । 

गुल्मी र बागलुङको सिमाना पालुङखोलादेखि बलेवासम्म पहिलो र बलेवादेखि मालढुङ्गासम्म दोस्रो गरी दुई खण्डमा ठेक्का लगाएर धमाधम काम भइरहेको छ ।

पालुङखोलादेखि बलेवासम्मको पहिलो खण्डमा पर्ने २४ किलोमिटर कालिका कन्स्ट्रक्सन र बलेवादेखि मालढुङ्गासम्मको १० किलोमिटर खड्का/कृष्ण/बिएन जेबीले जिम्मा लिएर काम गरिरहेका छन् । हालसम्म पहिलो खण्डमा मात्रै कालोपत्रे भएको कालीगण्डकी कोरिडोर आयोजना कार्यालयका सूचना अधिकारी अरुण खत्रीले जानकारी दिए। 

दोस्रो खण्डमा सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र ‘रक कटिङ’को काम भइरहेको उनको भनाइ छ । अब पहिलो खण्डमा १४ र दोस्रो खण्डको १० किलोमिटर गरी २४ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको खत्रीले बताए । उनका अनुसार पालुङखोलादेखि बलेवासम्म ५० प्रतिशत र बलेवादेखि मालढुङ्गासम्म ७० प्रतिशत काम सम्पन्न भएको छ ।

‘चिसो मौसम सकिन थालेको छ, अब कालोपत्रे गर्नका लागि धेरै ठाउँमा तयारी गरिएको छ, केही समयमै बाँकी ठाउँमा कालोपत्रे हुन्छ, ‘सूचना अधिकारी खत्रीले बताए, ‘अहिले बागलुङ खण्डको प्रगति हेर्ने हो भने ७७/७८ प्रतिशत काम सकिएको छ, दोस्रो खण्डमा कालोपत्रका लागि सुरु भएको छैन, तर अरू काम धमाधम भएको छ ।’

त्रिदेशीय सडकका रूपमा रहेको कोरिडोर आयोजना १४ वर्ष अगाडि सुरु भएको थियो । आर्थिक वर्ष २०६७/६८ देखि सुरु भएको आयोजनाले जिल्लाको जैमिनी नगरपालिका र बागलुङ नगरपालिकालाई जोडेको छ । जैमिनीमा १९ दशमलव पाँच किलोमिटर र बागलुङ नगरपालिकामा १४ दशमलव पाँच किलोमिटर पर्छ । 

नवलपुरको गैंडाकोटदेखि कोराला नाकासम्म ४९५ किलोमिटर रहेको कोरिडोर बागलुङको मालढुङ्गा २४० किलोमिटर लामो रहेको छ । यसले मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतसहितका जिल्लाबाट बुटवल, भैरहवा र भारतसम्म पुग्ने यात्रासमेत छोट्याइदिएको छ । 

कोरिडोर कालोपत्रे हुन थालेपछि बागलुङबाट बुटवल, भैरहवालगायत ठाउँमा पुग्ने यात्रा छोटिएको स्थानीय सुनिल थापाले बताए । कच्चीमा फाटफुट सवारी साधन चले पनि अहिले मुक्तिनाथ जाने भारतीय तीर्थ यात्रुले बढी यात्रा गर्न थालेको उनको भनाइ छ ।

उनले भने, ‘कोरिडोरले बागलुङलाई तराईसँग सिधा जोड्यो, पहिले बुटवल जाँदा पोखरा हुँदै घुमाउरो बाटो जानुपर्थ्यो अहिले सिधै यहीँबाट बुटवल जान सकिन्छ, पहिला बुटवल पुग्न झण्डै नौ घण्टा लाग्थ्यो, अहिले पाँच घण्टा नहुँदै पुगिन्छ, यसले बागलुङवासीलाई ठुलो सुविधा दियो, सबै सडक कालोपत्रे भयो भने अझै यात्रा सहज र छोटो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?