दूधको अवैध ओसारपसारले किसान मर्कामा

लोकपथ
14
Shares

नेपालगञ्ज । बाँकेका खुला सीमा क्षेत्रबाट दूधको अवैध ओसारपसार हुँदा स्थानीय किसान मर्कामा परेका छन् । जिल्लाका विभिन्न सुइया, खडैचा, जमुनाहा, शिउपुरीलगायत नाकाबाट कम गुणस्तरीय दूध आयात भएर सस्तो मूल्यमा बिक्री वितरण हुँदा स्थानीय किसान मर्कामा परेका हुन् । 

दुग्ध उत्पादक संघका केन्द्रीय सदस्य इन्द्रप्रसाद लुइँटेलले खुला सीमा क्षेत्रबाट दैनिक एक हजार लिटर दूध अवैधरूपमा आयात भएको जिकिर गर्दै तत्काल यसको अन्त्य गर्न माग गरे । ‘किसानले उत्पादन गरेको दूधबाट व्यापारीलाई भन्दा किसानलाई फाइदा हुनुपर्छ तर भारतबाट आएको अवैध दूधले यहाँको उत्पादनलाई विस्थापन गरेको छ, ‘उनले भने। 

लुम्बिनी प्रदेशका कृषिमन्त्री दिनेश पन्थीले दूधको अवैध ओसारपसार प्रहरी र कर्मचारीबिच समन्वय र सहकार्यमा जोड दिँदै नागरिकका हैसियतले कर्तव्य र दायित्व पूरा गर्न सबैलाई आग्रह गरे । उनले अहिलेसम्म विभिन्न अभ्यास भएको तर त्यो पर्याप्त नभएकाले त्यसलाई नयाँ ढंगले छलफल गरेर न्यूनीकरण गर्न प्रयास गरिने बताए । 

दुग्ध व्यवसायी पूर्णप्रसाद अधिकारीले भने, ‘दूधको व्यवस्थापन गर्न राज्यले नसक्ने हो भने पशुपालन पनि बन्द गरौँ ।’ बाख्रा पालक व्यवसायी प्रेमराज सुवेदीले पशुपालनको महत्त्व राज्यले बुझ्न नसकेको आरोप लगाउँदै पशुपालनबाट माटोको संरक्षण भइरहेको बताए। ‘अखाद्य र रासायनिकतत्वले माटाको उर्वराशक्ति कमजोर भएको छ तर पशुपालनबाट त्यसको संरक्षण हुँदै आएको छ, ‘उनले भने ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?