मधेस प्रदेशमा नक्कली चिकित्सकको बिगबिगी

मधेसमा बिना दर्ता सञ्चालित २० वटा अस्पताल बन्द

लोकपथ
49
Shares

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो जीवनको परवाह नगरी बिसौँ वर्षदेखिका बेथिति अन्त्यका लागि आफूले अभियान सञ्चालन गरेको बताएका छन् । 

शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बेथिति अन्त्यका लागि विगतका संघीयमन्त्री वा प्रदेशका  मुख्यमन्त्रीहरुले पनि कुनै काम नगरेको आरोप लगाए । 

उनले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा भएका बेथिति अन्त्यका लागि अभियान सञ्चालन गर्दा विभिन्न ठाउँबाट भड्काउने प्रयास गरेको भन्दै आफूले आँट गरेर अगाडि बढेको दाबी गरे ।  

मधेसका केही स्थानमा एकैदिन भएको २१ वटा अस्पताल अनुगमनमा २० वटा बिनादर्ता सञ्चालन गरिएको पाइएकाले उक्त अस्पताल तत्काल बन्द गरिएको उनको भनाइ छ ।

उनले विगतका सरकारले पनि विभिन्न धम्कीका कारण काम गर्न नसकेको हुनसक्ने भन्दै आफूले बेथिति अन्त्यका लागि ज्यानको बाजी लगाएर भए पनि अभियान जारी राख्ने बताए ।

मुख्यमन्त्री सिंहले मधेस प्रदेशका आठै वटा जिल्लामा नक्कली डाक्टरले मान्छेको ज्यानसँग प्रत्यक्ष खेलवाड गरेको भेटिएको बताए ।  बिना मापदण्ड खोलिएका अस्पतालहरूमा डाक्टरको एनएमसी नम्बर समेत नक्कली भेटिएको उनको भनाइ छ । उनले एम्बुलेन्स चालक तथा अनमी र अहेब पढेका व्यक्तिहरूले समेत अस्पताल सञ्चालन गरेको भेटिएको बताए ।

मुख्यमन्त्री सिंहले एसइई नजिक आइसकेकाले त्यसमा भएका बेथिति अन्त्यका लागि आफूले अभियान सञ्चालन गरी रहेको बताए । उनले मधेसका आठ वटै जिल्लाका शिक्षा अधिकारीलाई एसइई परीक्षामा कतै चिट भेटिए केन्द्रध्यक्षलाई निलम्बन गर्नेसम्मको तयारी गरेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?