काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यसम्पादन मूल्याङ्कनमा सहभागी नभएको कारण शून्य अंक दिइएको बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले यस्तो बताएका हुन् ।
उनले यदि विद्यार्थी जाँचमै सहभागी भएन भने उसले कति नम्बर प्राप्त गर्छ ? भन्दै प्रतिप्रश्न गरे । उनले कार्यकारी निर्देशक घिसिङले तोकिएको समयभित्र कार्यसम्पादन नबुझाएर सरकारसँग भएको सम्झौताको बेवास्ता गरेको आरोप लगाए । कोहीपनि संविधानभन्दा माथि नहुने भन्दै सबैले कानुनको पालना गर्नुपर्ने उल्लेख गरे । घिसिङले सरकारलाई नटेर्ने, नचिन्ने भएको कारण शून्य नम्बर दिइएको बताए ।
उनले भने, ‘यो भदौमा उहाँले कार्यसम्पादनको लागि अनुरोध गर्नु भएन । मूल्याङ्कन हुने कुरै भएन । भदौ व्यतित भइसकेपछि असोजमा उहाँलाई लिखित रूपमा स्मरण गराइयो । तपाईँले कार्यसम्पादन बुझाउनु भएन भनेर, त्यसलाई बेवास्ता गरियो । र एकै चोटि पुसमा ल्याएर उहाँले आफैँले नम्बर दिएर मेरो ९८ प्रतिशत आएको छ है भनेर मन्त्रालयलाई दिदिनुभयो । यसको अर्थ के हो भने विद्यार्थी यदि जाँचमै सहभागी भएन भने उसले कति नम्बर प्राप्त गर्छ ? त्यसकारणले कि मलाई भनिदिनुपर्यो उहाँ कानुनभन्दा माथि हुनुहुन्छ भनेर, अनि संविधानमा पनि लेखिदिनुपर्यो । हामीले ल्याएको व्यवस्था त्यस्तो होइन । सबै नागरिकहरू यस संविधानअन्तर्गत रहनेछन् । कानुनको परिपालना गर्ने सबैको दायित्व हो । त्यस कारण उहाँले शून्य नम्बर पाउनुभएको हो । उहाँले चिन्दै चिन्नुभएन, टेर्दै टेर्नुभएन ।’ मन्त्री खड्काले घिसिङले सरकारको अनुरोधहरूलाई नटेर्ने भएको कारण उनलाई पटक-पटक स्पष्टीकरण सोधिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया