काठमाडौं । अमेरिका धेरैको सपनाको देश हो । अमेरिकी पुगेर त्यहीँको नागरिक बनी डलरमा कमाउने र रमाउने सपना नदेख्ने कमै होलान् । नेपालको रुकुम, रोल्पा, दाङ, प्युठानलगायतका देशका युवाहरू त जसरी भए पनि जुन बाटो भए पनि अमेरिका पुग्ने सपना र दबाबमा अझ अगाडि छन् ।
त्यो सपना र दबाबको कारण हो, समाज र सामाजिक अवस्था । रुकुम पश्चिमका कैयन् गाउँमा प्रत्येक दोस्रो घरबाट कम्तीमा एक सदस्य अमेरिका पुगेका छन् । जे जसरी अमेरिका पुगे पनि अमेरिका पुगेकाहरूले अर्का व्यक्तिलाई अमेरिका आउन प्रेरित गरिरहेका छन् र दबाब बढाइरहेका छन् । जसका कारण कैयन् युवाहरू यति बेला पनि अमेरिकी यात्राको बाटोमा छन् ।

तर अब यो यात्रा त्यति सजिलो छैन । अमेरिकी राष्ट्रपतिका रूपमा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पको पुनरोदयपछि यति बेला अमेरिकाबाट कैयन् देशका नागरिक धमाधम डिपोर्ट भइरहेका छन् । त्यो डिपोर्टको सूचीमा नेपाली नागरिकसमेत समावेश छन् र उनीहरूलाई जबरजस्ती नेपाल फर्काइँदै छ । सूचनाअनुसार नेपाल डिपोर्ट गर्नुपर्ने वा हुने क्रममा १ हजार ३६५ नेपाली नागरिक रहेका जनाइएको छ, जो अवैध बाटोबाट अमेरिका पुगेका थिए र छन् । यसरी अवैध बाटोबाट अमेरिका पुगेका अधिकांश नेपालीहरू अमेरिकाको जेलमा बन्द छन् ।
बुधवार सोही अवैध बाटो र विधि प्रयोग गरेर अमेरिका पुगेका ९ जना नेपालीलाई अमेरिकी सरकारले डिपोर्ट गरेर नेपाल फर्काइदियो । ९ जनामध्ये घर फिर्ता हुन तयार भएका एक जनालाई कतार एयरवेजको विमानबाट नेपाल फिर्ता पठाइयो भने डिपोर्ट हुन अस्वीकार गरेका ८ जनालाई बल प्रयोग गरी चार्टर विमानमार्फत त्रिभुवन विमानस्थलमा ओरालियो ।

अमेरिकी सरकारले चार्टर विमानमार्फत नेपालमा डिपोर्ट गरिएका ८ जनालाई नेपाल ल्याउँदासम्म उनीहरूको हातमा हतकडी र गोडामा नेल थियो । विमानमा रहेको समयमा पिसाब गर्न जानसमेत धेरै अनुनय गर्नुपरेको उनीहरूको भनाइ थियो ।
७० लाख खर्च
ग्रिनकार्ड लगायतका स्थायी आवासीय कार्डको पर्खाइमा रहेका १ हजारभन्दा बढी नेपालीमध्ये ९ जनालाई बुधवार नेपाल डिपोर्ट गरिएको थियो । नेपाल आउन अस्वीकार गरेपछि जबरजस्ती नेपाल पठाइएकामध्ये ८ जनालाई बल प्रयोग गरी नेपाल फर्काइएको थियो भने एक जनालाई भने कतार एयरवेजको विमानमार्फत फिर्ता पठाइएको थियो । जो हिँडेरै अमेरिका पुगेका थिए, उनीहरूमध्ये ९ जना बुधवार विमानमार्फत नेपाल फर्किए, फर्काइए ।
बुधवार नेपाल फर्काइएकामध्ये ८ जनाले कम्तीमा ४० लाख रुपैयाँदेखि ७० लाख रुपैयाँसम्म दलाललाई बुझाएर अमेरिका पुगेको पाइएको छ । यद्यपि उनीहरूले न दलालको नाम पोले, न मानव तस्करीको कानुनी कारबाहीमा अगाडि बढ्न जाहेरी नै दिए । बरु उनीहरू भाग्य नै यस्तै रहेछ, कुनै गुनासो छैन भन्दै परिवारको सदस्यको जिम्मामा फर्किए ।

लोकपथलाई प्राप्त सूचना अनुसार रोल्पाका वली थरका व्यक्तिले ४० लाख रुपैयाँ बुझाएर दलालमार्फत अमेरिका पुगेका थिए भने रुकुमका विक थरका व्यक्तिले ५५ लाख बुझाएका थिए । त्यसै गरी रुकुम पूर्वका घर्ती थरका व्यक्तिले ६५ लाख बुझाएका थिए भने रुकुम पश्चिमका कलेल थरका व्यक्तिले ६० लाख बुझाएको पाइएको छ ।
रुकुम पश्चिमकै मगर थरका पुरुषले ६० लाख, दाङका गौतम थरका व्यक्तिले ४५ लाख, दाङकै घर्ती थरका व्यक्तिले ५२ लाख र थापा थरका व्यक्तिले ५० लाख तथा डोटीको केसी थरकी महिलाले ७० लाख रुपैयाँ बुझाएर अमेरिका पुगेको खुलेको छ ।
१८ देशको चक्कर, ९ महिनाको यात्रा
लोकपथलाई प्राप्त केही कागजको अध्ययन गर्दा हिँडेरै अमेरिका पुगेका नेपाली नागरिकहरूले अमेरिका पुग्न ९ महिनासम्मको यात्रा गरेको र १८ वटा देशसम्मको चक्कर काट्नु परेको पाइएको छ । हाल नेपाल फर्काइएका गौतम र घर्तीले १८ देशको चक्कर काटेको पाइएको छ भने उनीहरू करिब ९ महिना लामो यात्राबाट अमेरिका पुगेका थिए ।
यस्तो छ १८ देशको यात्रा
अवैध बाटोबाट हिँडेरै अमेरिका पुग्ने यात्रामा सहभागी नेपाली नागरिकहरू नेपालबाट भारत हुँदै उज्बेकिस्तान, टर्की, स्पेन, कोलम्बिया, ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला हुँदै मेक्सिको र त्यहाँबाट अमेरिकासम्म पुगेको पाइएको छ । यो यात्राका लागि उनीहरूले करिब ५ महिनाको चक्कर काटेको पाइएको छ ।
तर यी सबै देश पुग्न भिसा नलागेका कतिपय नेपाली नागरिकहरू भने विभिन्न देश हुँदै अवैध मार्गबाट ९ महिनासम्मको यात्रामा अमेरिका पुगेको पाइएको छ । लोकपथलाई प्राप्त कागजात हेर्दा पूर्वी रुकुमका ४२ वर्षीय घर्ती थरका व्यक्ति डिसेम्बर २१, २०२३ मा घरबाट निस्किएकामा २०२४ को जुलाई १५ मा मात्रै अमेरिका पुगेका छन् ।
अमेरिकी यात्रामा घर्तीले नेपालबाट भारत हुँदै दुबई, त्यहाँबाट टर्की, ब्राजिल, कोलम्बिया, पनामा, होन्डुरस, ग्वाटेमाला हुँदै मेक्सिको र त्यहाँबाट अमेरिका छिरेको पाइएको छ ।
त्यस्तै २०२४ को जनवरी २१ मा नेपालबाट यात्रा सुरु गरेका दाङका थापा थरका व्यक्तिले ९ महिना लामो यात्रा गरेको पाइएको छ । उनी नेपालबाट भारत तथा त्यहाँबाट कतार हुँदै स्पेन पुगेका छन् । स्पेन पुगेपछि त्यहाँ ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र त्यहाँबाट मेक्सिको हुँदै अमेरिका प्रवेश गरेको पाइएको छ । २०२४ को अक्टोबर १५ मा अमेरिका प्रवेश गरेका थापा त्यस लगत्तै अमेरिकी इमिग्रेसनको हिरासत हुँदै जेलमा पुगेका थिए । अमेरिका प्रवेश लगत्तै जेल पुगेका उनलाई जेलबाटै बुधवार चार्टर विमानमार्फत नेपाल फर्काइएको हो ।
अमेरिका जान ७० लाख रुपैयाँ खर्च गरेकी डोटीकी केसी थरकी युवती भने सबैभन्दा छोटो मार्ग भएर अमेरिका पुगेको पाइएको छ । २०२४ को फेब्रुअरी ४ मा नेपालबाट हिँडेकी केसी सुरुमा दुबई पुगेकी थिइन् । त्यहाँबाट ब्राजिल हुँदै निकारागुवा र त्यहाँबाट मेक्सिको पुगेर उनी २०२४ को सेप्टेम्बर २९ मा अमेरिका प्रवेश गरेकी थिइन् । त्यसपछि अमेरिकी इमिग्रेसनको हिरासतमा रहेकी उनलाई नेपाल डिपोर्ट गर्ने कुरा गर्दा उनले मन्जुरी जनाएपछि उनलाई भने हतकडी नलगाई कतार एयरवेजको विमानमार्फत नेपाल पठाइएको थियो ।
दलालमार्फत नै पुगे अमेरिका, अहिले भाग्यलाई दोष
बुधवार नेपाल फर्काइएका ९ जना नै मानव बेचबिखनमा सम्बन्ध दलालमार्फत नै अमेरिका पुगेको खुलेको छ । दलालमार्फत अमेरिका पुगेको भए पनि उनीहरू अमेरिकामै बस्न नसक्नुमा दलालको कुनै कमजोरी नरहेको बताइरहेका छन् । दलालको जिम्मेवारी भनेको अमेरिका छिराइदिने मात्रै रहेको भन्दै अमेरिकाबाट डिपोर्ट हुनुमा दलालको कुनै हात नरहेको भन्दै जाहेरी नदिने बताइरहेका छन् । उनीहरूले दलालहरूको नाम लिँदा अधिकांशले भारतीय एजेन्टको नाम लिएका छन् भने केही नेपाली सहयोगीको नाम लिएको भए पनि जाहेरी नदिने भनिरहेका छन् ।

बुधवार अमेरिकाबाट डिपोर्ट भई नेपालको अध्यागमन प्रक्रिया पूरा गरेपछि उनीहरूलाई बबरमहलस्थित मानव बेचबिखन नियन्त्रण ब्युरोमा लगिएको थियो । उनीहरू कसरी अमेरिका पुगे र अमेरिका पुराउन को कसको संलग्नता थियो भन्ने सम्बन्धमा ब्युरोका अधिकारीले बयान लिने कोसिस गरेका थिए ।
तर फर्किएकाहरूले न दलालको नाम लिए, न अरू कसैलाई दोषी देखे । बरु भाग्य नै त्यस्तै रहेछ भन्दै उनीहरूले आफ्नै भाग्यलाई दोष दिइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया