फेवाताल किनारमा हुने नै भयो कोटीहोम, यस्तो छ तयारी

लोकपथ
714
Shares

पोखरा । पोखरामा विराट कोटीहोम महायज्ञको विषयमा परेको रिटमा उच्च अदालत पोखराले यसअघिको अन्तरिम आदेशलाई नै सदर गरेको छ । 

कोटीहोम आयोजक मानव सेवा फाउन्डेसनलाई विपक्षी बनाई पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयसमेतले गत साता अन्तरिम आदेश खारेज गरी पाउँ भनी माग गर्दै उत्प्रेषणयुक्त परमादेशको रिट निवेदन दायर गरेको थियो । 

सो सम्बन्धमा सोमबार न्यायाधीश दीपेन्द्र अधिकारी र उमेश कोइरालाको संयुक्त इजलासले गत १ फागुनको अन्तरिम आदेशलाई नै सदर गरेको हो । त्यस दिन मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले निवेदक मानव सेवा फाउन्डेसनको निवेदनमा सुनुवाइ गर्दै विराट कोटीहोम ज्ञानमहायज्ञ सञ्चालनमा कानुनबमोजिम बाहेक कुनै बाधा अवरोध उत्पन्न नगर्नू–नगराउनू भनी महायज्ञ सञ्चालनका लागि बाटो खोलिदिएको थियो ।

‘….०१३४ नं.को रिट निवेदन विचाराधीन रही मिति २०८१।११।६ मा आदेश हुँदा प्रस्तुत रिट निवेदनसमेत साथै राख्नू र अग्राधिकार दिनू भनी आदेश भएको देखिएको, प्रस्तुत रिट निवेदनमा लिखित जवाफ समेत प्राप्त भइसकेको देखिएको अवस्थामा विवाद भएको स्थान र विषयको सम्बन्धमा पूर्ण सुनवाइ भई अन्तिम निरूपण हुँदाका बखत विवेचना हुने प्रकृतिको देखिँदा हाललाई यस अदालतबाट जारी भएको मिति २०८१।११।१ को अन्तरिम आदेशलाई अन्यथा गरिरहनु परेन,’ आदेशमा भनिएको छ । 

मानव सेवा फाउन्डेसनले पोखराको फेवाताल किनार बाराहीघाट र क्याम्पिङ चौरमा आगामी बैशाखदेखि विराट कोटीहोम महायज्ञ तयारी गरेको छ । तर, पोखरा महानगरपालिकाले कुनै पनि हालतमा त्यहाँ महायज्ञ गर्न नदिन हरतरहले लागिपरेको छ । दुवै पक्षबिच पटक पटक अदालतमा रिट पर्ने गरेका छन् । 

१ फागुनमा महायज्ञ अवरुद्ध नगर्न उच्च अदालतले विपक्षी पोखरा महानगरपालिकासमेतका नाउँमा अन्तरिम आदेश जारी गरेको भोलिपल्टै कोटीहोम निषेधको माग गरी रिट दायर भएको थियो । कास्की जिल्ला बार एसोसिएसन अध्यक्षसमेत रहेकी भगवती पहारीसमेतले दायर गरेको रिटमा फेवातालको ६५ मिटर संरक्षित सिमसार क्षेत्रमा कोटीहोम आयोजना गर्न निषेध गरी पाऊँ भनी माग गरिएको थियो । वर, पीपल, समी जातका चौतारीका रूख कटान गर्नेविरुद्ध कानुनी कारबाही मागसमेत रिटमा उल्लेख थियो । साथै पर्यावरणीय संरक्षण, जैविक विविधताको रक्षा र कानुनी शासनको पालना अनिवार्य हुनुपर्ने माग गरिएकोमा अदालतले ६ फागुनमा उक्त निवेदन सम्बन्धमा अग्राधिकार दिएको थियो । 

१ फागुनको अन्तरिम आदेश एकपक्षीय भएको भन्दै खारेजको माग गरी पोखरा महानगरपालिकाले दिएको निवेदनमा अदालतले अन्तरिम आदेशलाई सदर गरेपछि केही हदसम्मका लागि कोटीहोम महायज्ञका लागि बाटो खुलेको छ । 

सोमबार रिट निवेदकतर्फबाट अधिवक्ता सुकदेव गौतम र विपक्षी फाउन्डेसनतर्फबाट वरिष्ठ अधिवक्ताद्वय कृष्णबहादुर थापा र राजु बस्नेत, अधिवक्ता वीरेन्द्र केसी, दुर्गाप्रसाद कोइराला, दीपक शर्मा पौडेल र तोयनाथ पौडेलले बहस गरेका थिए ।

यसअघि अदालतले मानव सेवा फाउन्डेसनले प्राप्त गरेका अनुमतिपत्र, नेपाल ट्रष्ट र सम्बन्धित सरकारी निकायको निर्णय तथा महायज्ञ आयोजनाका लागि गरिएको तयारीलाई आधार मानेर विपक्षी पोखरा महानगरपालिका र मातहत निकायलाई कानुनी रूपमा बाधा पुग्ने कुनै कारणबाहेक अन्य कुनै पनि अवरोध सिर्जना नगर्न आदेश दिएको थियो । फेवाताल किनार बाराहीघाटको ४८ रोपनी क्षेत्रफलमा आयोजना गर्न लागिएको कोटीहोम सञ्चालनमा कुनै बाधा अवरोध नगर्न आदेशमा भनिएको थियो ।

पोखरा महानगरपालिकाले पनि नेपाल ट्रस्टलाई पत्राचार गर्दै महायज्ञ सञ्चालनका लागि महानगरतर्फबाट अनुमति नदिएको भन्दै पत्र पठाएको थियो । सो निर्णय गैर कानुनी ठहर गर्दै मानव सेवा फाउन्डेसनले उच्च अदालतमा उत्प्रेषण परमादेशसहितको निवेदन दिएको थियो । फाउन्डेसनले कोटीहोमका लागि २५ प्रतिशत तयारी पूरा गरिसकेको भन्दै जसरी पनि कोटीहोम लगाएरै छाड्ने जनाएको छ । कोटीहोमका लागि काठदाउरा संकलन गर्ने क्रममा चौतारीका वर पीपलका रुख ठुटै हुने गरी काटिएपछि तीव्र आलोचना भएको थियो । 

आयोजक फाउन्डेसनले कोटीहोमका लागि भन्दै पोखरामा वर, पीपल, समी जातका वर्षौँ पुराना रुख तथा चौतारा काटेर संकलन गरी समीधा (दाउरा) संकलन गरेकोमा पोखरा महानगरले ५० ट्रकभन्दा बढी दाउरा जफत गरेको थियो । 

आगामी १७ चैत, २०८१ देखि १७ वैशाख, २०८२ सम्म कोटीहोमको प्रचारात्मक कार्यक्रम हुने जनाइएको छ । साथै, १७ वैशाखदेखि २६ जेठ, २०८२ सम्म कोटीहोम सञ्चालन गर्ने आयोजकको तयारी छ ।

कोटीहोममा श्रीमद्भागवत कथा, राम कथा, शिव महापुराण कथा, अनुमत कथा, श्रीमददेवी भागवत कथा वाचन हुनुको साथै लाखौँको विवाह, व्रतबन्ध, चौरासी पूजा, तुला दान, प्रत्येक नेपालीको नाममा कोटी दीप, तीन सयभन्दा बढी ब्राह्मण गुरुको दैनिक उपस्थिति, लाखौँ रामराम पुस्तिका वितरण गरी अर्बौँ रामराम लेखिने र एक करोड शिवलिंग स्थापना गरी एक करोड बेलपत्रद्वारा पूजन गरिने जनाइएको छ । सो अवसरमा राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, धार्मिक संघसंस्थाको सम्मेलन, ११ हजार कलश पूजन, २५ हजार नरिवलको भोग, कन्या पूजा, ज्येष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका एक हजार बढी स्रष्टा सम्मान, शालिग्राम पूजन, चित्रकला प्रतियोगिता, रक्तदान, तन्दुलाञ्चल र धान्याञ्चल पर्वतको निर्माण, धार्मिक क्षेत्रसँग सम्बन्धित वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रम गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?