काठमाडौं । संघीय निजामती विधेयकमा सहमति जुटाउन गठित प्रतिनिधि सभाअन्तर्गतको संसदीय उपसमितिले लोकसेवा आयोगसँग छलफल गरेको छ । आइतबार उपसमितिले लोकसेवा आयोगका पदाधिकारीहरूसँग छलफल गरेको हो ।
उपसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसमितिका संयोजक एवं नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संघीय निजामती सेवा ऐनको तयारीमा आफूहरू लागिरहेको र संघीय निजामती सेवा ऐनको गठन, सञ्चालन, सेवा र शर्तका सम्बन्धमा प्रस्तावित विधेयकमा धेरै छलफल भइसकेको बताए ।
मुलुकमा संघीयता लागू भइसकेपछि विधेयकलाई अझै अगाडि ल्याउनुपर्नेमा नसकिरहेको अवस्था रहेको उनको भनाइ छ । अहिले आएको विधेयक धेरै पक्षलाई समेटेर आएको उल्लेख गर्दै यसलाई टुंग्याउन केही विवादित विषयहरू देखिन थालेपछि आन्तरिक गृहकार्य गरेको बताए ।
विधेयकमा केही नीतिगत विषयहरूमा स्पष्ट हुनसके विधेयकको दफामा धेरै समय छलफल गरिरहन नपर्ने उल्लेख गरे । १४ वटा विषयहरू सहमतिका लागि तयार पारेको उल्लेख गर्दै । संघीय निजामती सेवा समेत तहगत प्रणालीमा लैजाने भन्ने सांसदहरुबीचको छलफल भएको र प्रस्तावहरू दुवै किसिमले आएको बताए ।
संघमा तहगत र श्रेणी एकसाथ जानेगरी सहमति गरेको उनले बताए । कुलिङ पिरेड राख्नुपर्नेमा अधिकांश सांसदहरू सहमत रहेको जिकिर गरे । तोकिएको समयभित्रै उपसमितिले प्रतिवेदन समितिलाई बुझाउने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया