काठमाडौं । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले मृतक छात्रा प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोषको स्थापना गर्ने घोषणा गरेको छ ।
युनिभर्सिटीले एक विज्ञप्ति जारी गर्दै कलेजमा ज्यान गुमाएकी प्रकृतिको नाममा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति दिने निर्णय गरिएको हो ।
युनिभर्सिटीका सञ्चालक प्रा अच्युदानन्द सामन्तले परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा तथा खानेपानी मन्त्री प्रदीप यादवसँग नेपाली विद्यार्थीहरूको सुरक्षित फिर्तिको बारेमा कुराकानी गरेका थिए । त्यसक्रममा प्रकृतिलाई न्याय दिलाउने विषयमा पनि छलफल भएको सञ्चार माध्यममा जनाएको छ ।
आइतबार अपराह्न २० वर्षीया प्रकृति होस्टेलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । उनको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको छ । शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए।
उनलाई हजुरबुवा देवनाथ लम्सालले मुखाग्नि दिएका थिए। उनको पार्थिक शरीर बुधबार उडिसाबाट ल्याइएको हो । विसं २०६१ असार ४ गते भैरहवामा जन्मिएकी प्रकृतिको गत आइतबार निधन भएको हो । उनी केआईआईटी छात्रावासमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया