नुवाकोट । जिल्लाको ऐतिहासिक,धार्मिक तथा पुरातात्त्विक स्थान चिम्टेश्वरको विकासका लागि श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञानयज्ञ २०८१ सुरु भएको छ ।
बुधबार नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डेको प्रमुख आतिथ्यतमा श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञ–२०८१ को समुद्घाटन भएसँगै आज बिहान ८ बजेबाट कथाबाचन सुरु भएको चिम्टेश्वर विकास समितिका अध्यक्ष तथा बेलकोटगढी नगरपालिका वडा नं २ का वडा अध्यक्ष रामचन्द्र तिमिल्सनाले जानकारी दिए ।
बेलकोटगढी वडा नं २ मा अवस्थित चिम्टेश्वरक्षेत्र धार्मिक तथा पर्यटकीय रुपमा समेत प्रचलित रहेको छ ।
सरकारी संरक्षणको अभावका कारण पछाडी परेको उक्त क्षेत्रको विकासका लागि नगरपालिकाले चिम्टेश्वर विकास समति गठन गर्दै विकासका लागि प्रक्रिया अघि बढाएको थियो । सोही समितिको सक्रियतामा शिवमुर्ति स्थापानका लागि महायज्ञको आयोजना गरिएको हो ।
उद्घाटन समारोहमा बोल्दै पर्यटन मन्त्री पाण्डेले नुवाकोट जिल्लाको महत्वपूर्ण क्षेत्र मध्ये चिम्टेश्वर रहेको भन्दै सरकराले यसको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले यस क्षेत्रको ऐतिहासिकता, सार्वभौमिकता र यस क्षेत्रको वृद्धि विकासकालागि सरकारले यथोचित प्रयास गर्ने बताए ।
उनले, यहाँको पवित्रता सँगसँगै धार्मिक दृष्टिकोणलाई अगाडि बढाएर, पर्यटन क्षेत्रलाई टेवा पुर्याउने बताए ।
मन्त्री पाण्डेले श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञानयज्ञ–२०८१ को सफलताको कामना समेत गरे ।
कार्यक्रममा काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगत, बेल्कोटगढी नगरपालिकाका मेयर जगत बहादुर गुरूङ, उपप्रमुख शिवप्रसाद दाहाल सहित १३ वटा वडाका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै चिम्टेश्वर विकास समिति, महायज्ञ आयोजक मुल समारोह समितिका अध्यक्ष एवं वडा २ का अध्यक्ष रामचन्द्र तिमल्सिनाले, चिम्टेश्वर विकास समिति तथा महायज्ञ आयोजक मूल समारोह समितिको आयोजनामा पण्डित नारायण न्यौपानेले फागुन ७ गते पूर्वाङ्ग तथा समुद्घाटन सहित फागुन १४ गते महाशिवरात्रीको दिनसम्म यज्ञ सञ्चालन गरिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया