नुवाकोट । जिल्लाको सूर्यगढी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र भइरहेका विभिन्न विकास निर्माण कार्यहरूको गुणस्तर सुनिश्चित गर्न सम्पूर्ण नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ ।
गाउँपालिका अध्यक्ष सन्तबहादुर घले तामाङले विज्ञप्ति जारी गर्दै निर्माणाधीन संरचनाहरूको टिकाउपन र प्रभावकारिता कायम राख्न सबै पक्षको भूमिका महत्वपूर्ण रहेको जनाएका छन् ।
हाल गाउँपालिकामा विभिन्न पूर्वाधार निर्माण कार्यहरू जारी छन् । प्रशासकीय भवन निर्माणका साथै पुरातात्त्विक शैलीमा शिवालय मन्दिर निर्माण भइरहेको छ ।
सडक विस्तार योजनाअन्तर्गत खहरेखोला–रातमाटे–हल्देकालिका सडक, नयाँ चौतारादेखि न्यू चण्डिका जोड्ने मोटरबाटो तथा नुवाकोट–उर्लेनी सडक अन्तर्गत चोगते बजारदेखि बोहोरे भञ्ज्याङ हुँदै छापसम्म कालोपत्रे सडक निर्माण कार्य प्रगति भइरहेको छ।
त्यस्तै, वडा नम्बर ४ र ५ जोड्ने कामिटार पक्की पुल तथा खहरेखोला–गणेशे मावि जोड्ने पक्की पुल निर्माण कार्य अघि बढिरहेको छ।
यसबाहेक, नैने खोला हुँदै सानो भोर्ले सडक निर्माण तथा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत वडा नम्बर १ देखि ५ सम्म स्वच्छ खानेपानी सुविधा विस्तारको काम पनि भइरहेको छ।
गाउँपालिकाले यी विकास परियोजनाहरूको गुणस्तरमा नागरिकहरूलाई निगरानी राख्न, निर्माण प्रक्रियामा ध्यान दिन तथा सम्बन्धित निर्माण व्यवसायीहरूलाई जिम्मेवार बनाउन आग्रह गरेको छ । अध्यक्ष घलेले विकास परियोजनाहरूलाई सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै निर्माण कार्यमा कुनै लापरबाही हुन नदिन अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया