नेपाल लाइफको २५औँ वार्षिक साधारण सभा सम्पन्न

लोकपथ
119
Shares

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघको अध्यक्षतामा आज वीरगञ्जमा रहेको होटेल भिष्वामा सम्पन्न भएको हो।

यस अवसरमा सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएको आव २०८०/८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरी पारित गरिएको छ। लेखा परीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गरिएको छ । यस सभाले आव.२०८१/८२ को लागि लेखा परीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ।

साधारण सभाले आव २०८०/८१ को वितरण योग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ को जम्मा २१/०५५ ले हुन आउने रकम १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९५९ लाभांशको रूपमा प्रदान गर्ने जसमा १०५ बोनस सेयर र ११/०५५ नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशको कर सहित) प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

अध्यक्ष गोविन्द लाल संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यावसायिक हिस्सा र गरिमालाई तमाम चुनौतीहरू बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नवीन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रीकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरी अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

कम्पनीले आफ्नो व्यापार र सेवामा अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डलाई अवलम्बन गरिरहेको उनले बताए । कम्पनीको निरन्तर विकासको लागि दीर्घकालीन रणनीति निर्माण गर्न, लर्निङ म्यानेजमेन्ट सिस्टमलाई प्रभावकारी बनाउन, ग्राहकलाई थप स्तरीय सेवाको अनुभूति गराउन, अटोमेशनको प्रयोगबाट समयको बचत र लागत घटाउन, भविष्यमा कम्पनीलाई डिजिटल रूपमा रूपान्तरण गर्न कार्य आरम्भ गरिसकिएको समेत उनले बताए । साथै, कम्पनीले रिस्क म्यानेजमेन्ट फ्रेम वर्क तयार गरी व्यवसायसँग सम्बन्धित जोखिमहरूको समेत उचित व्यवस्थापन गरिरहेको जानकारी उनले गराए ।

२५औँ वार्षिक साधारण सभामा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आव २०८०/८१ मा आएका चुनौतीहरूलाई अवसरहरूमा परिणत गरी हासिल गरिएका व्यावसायिक उपलब्धि र भावी योजनाहरू बताए ।

देशको अर्थतन्त्र साथै व्यावसायिक क्षेत्र संकटान्मुख अवस्थामा रहेको परिस्थितिमा पनि यस कम्पनीले प्राप्त गरेका उपलब्धिहरूका लागि सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरे । प्रमुख कार्यकारी अधिकृत पराजुलीले आउने वैशाख २१ गते कम्पनी २५ वर्षमा प्रवेश गर्ने कुरा बताए र सो अवसरमा सम्पूर्ण सरोकारवालाहरूको आकांक्षालाई मध्यनजर गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गरिने बताए ।

उनले आर्थिक स्थिति सहज नभएको अवस्थामा पनि यो लाभांश वितरण गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए । लगानी विविधीकरणलाई केन्द्रबिन्दुमा राख्दै कम्पनी अगाडि बढिरहेको र सो लाई नै मूर्तता प्रदान गर्न विभिन्न शहरहरूमा जग्गा खरिद गरिसकेको र भवन निर्माण प्रक्रियाहरू यथाशीघ्र चाँडो प्रारम्भ गरिने समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?