गाजामा बन्धक सबैलाई एकैपटक रिहा गर्न ट्रम्पले दिए हमासलाई शनिबारसम्मको अल्टिमेटम

लोकपथ
28
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासद्वारा गाजामा बन्धक सबै जनालाई आगामी शनिबार १२ बजेसम्म रिहा गर्न चेतावनी दिएका छन् । उनले रिहा नगरे युद्धविराम नै भंग हुने चेतावनीसमेत दिएका छन् । ट्रम्पले पटक पटक नगरी सबै बन्धक एकैचोटि रिहा गरिनुपर्ने पनि बताएका छन् ।

ट्रम्पले ओभल अफिसमा भने, ‘शनिबार दिउँसो १२ बजेसम्ममा सबै बन्धक रिहा गरिएन भने म भन्छु– यसलाई (सम्झौता) रद्द गर्नुहोस्, अब सबै बाटा बन्द गरिनुपर्छ र विनाश सिर्जना गरिनुपर्छ ।’

यद्यपि, ट्रम्पले शनिबार दिउँसोको १२ बजे हो वा रातको १२ बजे भनेका हुन् स्पष्ट छैन । 

यस्तो भएन भने के हुन्छ भन्ने जिज्ञासामा राष्ट्रपति ट्रम्पले चेतावनी शैलीमा भनेका छन्, ‘हमासले थाहा पाउनेछ मेरो भनाइ अर्थ के हो !’ 

यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै अब बन्धक छाड्ने क्रम रोक्ने बताएको थियो ।  हमास र इजरायलबीच जनवरी १९ देखि युद्धविराम छ । 

युद्धविरामको पहिलो चरणअन्तर्गत तीन हप्ताभित्र हमासले ३३ बन्धक र इजरायलले १९०० कैदी रिहा गर्नुपर्ने सम्झौता उल्लेख भएकोमा हमासले बन्धक बनाएका ३३ जनामध्ये ८ जनाको मृत्यु भइसकेको इजरायलको भनाइ छ । अहिलेसम्म हमासले पाँच खेप गरेर २१ बन्धक मुक्त गरेको छ । इजरायलले भने ५६६ प्यालेस्टिनी कैदी रिहा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?