स्थानीयहरू पाथीभरा केबलकार बनाउनुपर्छ भन्नेमा छन्, विदेशमा बस्नेले भ्रम छरेर विरोध गर्दैछन् : अध्यक्ष ढकाल

'पाथीभरा केबलकारमा ३ सय रोजगारी सिर्जना हुन्छ, ८० प्रतिशत रोजगारी ताप्लेजुङवासीलाई हो'

लोकपथ
154
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयहरूको साथ रहेको बताएका छन् । 

शनिबार पाथीभरा देवी दर्शन केबलकार प्रालिको तर्फबाट काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । तीन सय जनासँग गरेको सार्वजनिक सुनुवाइमा स्थानीयको प्रतिनिधित्व गर्दै बोल्ने २५ जनामध्ये दुई जनाले मात्रै असहमति जनाएको बताए । 

उनले ताप्लेजुङवासीको अधिकांशको मत केबलकार बनाउनुपर्छ भन्नेमै रहेको बताए । ताप्लेजुङ भन्दा बाहिरका र विदेशमा बस्नेहरुले त्यहाँको विकासको उपयोग गर्ने तर नेपालमा हुन लागेको विकासको विरोध गरिरहेको बताए । ताप्लेजुङमा केबलकार बनेसँगै आर्थिक गतिविधि चलायमान हुने, रोजगारी सिर्जना हुने कुरा महत्त्वपूर्ण रहेको बताए । 

ताप्लेजुङवासीलाई त्यहीँ रोजगारी दिने उद्देश्यका साथ केबलकार बनाउन लागिएको बताए ।  केबलकार बनेसँगै ताप्लेजुङको विकास र समृद्धिमा नै सहयोग पुग्ने उनको भनाइ छ । 

उनले पाथीभरा देवी केबलकार निर्माण भएसँगै तीन सय रोजगारी थपिने र जसमा ८० प्रतिशत ताप्लेजुङवासीले नै रोजगारीको अवसर पाउने उल्लेख गरे । ताप्लेजुङवासीले पाउने अवसरमा खेलबाड गर्न बाहिर बस्ने नेपालीहरू लागिरहेको बताए । 

अध्यक्ष ढकालले पाथीभरमा केबलकारसम्बन्धी संरचना गलत हिसाबले नबनाइएको पनि स्पष्ट पारे । उनले पाथीभरा देवी दर्शन केबलकार प्रालिले बनाउने सबै संरचना प्रकृतिमैत्री हुने दाबी गरे । उनले पाँचतारे होटेल नभएर सामान्य स्तरको पूर्वाधार मात्रै बनाउन लागेको उल्लेख गर्दै अक्सिजनलगायतको स्वास्थ्य केन्द्र, शौचालय र तातो र चिसो पानीको व्यवस्थाका लागि सामान्य संरचना बनाइने उल्लेख गरे ।

मन्दिरको भेटी केबलकारले उठाउँछ भन्ने गलत कुराको प्रचार गरिएको र भेटीसँग केबलकारको कुनै सरोकार नरहेको जिकिर गरे । केबलकारले कुनै पनि हिसाबमा धार्मिक आस्था खल्बल्याउने काम नगर्ने बताए । 

अध्यक्ष ढकालले सांस्कृतिक सम्पदाको संरक्षण र जगेर्ना गर्दै पर्यटन प्रवर्द्धनका लागि केबलकार बनाउन लागेको बताए । नेपालमा आउने पर्यटकहरूलाई भएका सम्पदाहरू अवलोकन  गराउने वातावरण बनाउन खोजेको बताए । केबलकारले पाथीभरको धार्मिक आस्थामाथि प्रहार नगर्ने स्पष्ट पारे ।

पाथीभराप्रतिको आस्थालाई थस साथ दिन र सबै नेपालीलाई सहज हिसाबमा लैजाने व्यवस्थाका लागि मात्रै केबलकार बनाउन लागिएको बताए । पाथीभरा केबलकारको लागत अनुमान करिब तीन अर्बको रहेको जानकारी दिए । उनले एक वर्षभित्रमा पाथीभरा केबलकार निर्माण गरी मन्दिरको दर्शन गराइने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?