‘क्यान इन्फोटेक २०२५’ सुरु, नयाँ–नयाँ प्रविधि राखिए प्रदर्शनीमा

लोकपथ
35
Shares

काठमाडौं । कम्प्युटर एशोसिएशन अफ नेपाल क्यानको आयोजनामा यो वर्षको ‘क्यान इन्फोटेक २०२५’ बिहिबारबाट सुरु भएको छ ।

सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि अन्तरक्रिया गर्ने उद्देश्यले ३०औँ संस्करणको इन्फोटेक सुरु भएको हो।

महासंघले हरेक वर्ष क्यान इन्फोटेक आयोजना गर्दै आएको छ । यसैलाई निरन्तरता दिँदै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा बिहीबार ३०औँ सस्करणको क्यान इन्फोटेकको उद्घाटन गरिएको थियो । 

क्यान इन्फोटेकमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहने क्यान महासंघका महासचिव चन्द्र विलास भुर्तेलले बताए । उनले तीन लाख भन्दा बढीले मेलाको अवलोकन गर्ने अपेक्षा व्यक्त गरे ।

क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्नका लागि मेलाले प्रमुख भूमिका खेल्ने विश्वास गरिएको छ । क्यान इन्फोटेक २०२५ मा करिब १५० स्टल रहेका छन् ।

मेला अवलोकनका लागि टिकट सञ्जालमार्फत अनलाइनबाट टिकट खरिद टिकट गर्न सकिन्छ । सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ ।

ज्येष्ठ नागरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशुल्क प्रवेश व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?