काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालकाे सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३०औँ संस्करणको उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आइटी हबको लक्ष्य हासिल गर्न सकिने बताएका हुन्।
आइटी क्षेत्र विश्वव्यापी बजार भएको, खबौं रुपैयाँ बराबरको सेवा निर्यात गर्न सक्ने र लाखौँ मानिसलाई रोजगारी दिन सक्ने क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यस क्षेत्रको थप विकासका लागि आवश्यक नीतिगत र संरचनागत सुधारको लागि काम गर्न सरकारसँग आग्रह गरे।
नेपाल उद्योग वाणिज्य महासंघले अन्य विभिन्न कानुनका साथै आइटी तथा स्टार्टअप र इनोभेसनका क्षेत्रमा पनि समयानुकूल नीतिगत सुधारका लागि सरकारसँग बहस र पैरवी गर्दै आइरहेको जानकारी दिँदै अध्यक्ष ढकालले महासंघको पहल पछि नेपाल सरकारले नेपाली सूचना प्रविधि (आइटी) क्षेत्रको विकासमा लागि पछिल्ला कानुनहरूमा गरेको संशोधनले यो क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिने बताए।
‘नेपाल ऐन संशोधन सम्बन्धी अध्यादेश स्वीकृत गरी नेपाली आइटी कम्पनीहरूले विदेशमा लगानी गर्न, शाखा खोल्न, कारोबार गर्न र त्यहाँको आम्दानी नेपाल भित्र्याउन पाउने कानुनी व्यवस्थाले नेपाली आइटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने र वैदेशिक मुद्रा आर्जनमा वृद्धि गर्ने छ । ’ उनले भने।
क्यान इन्फोटेकले नवीनतम प्रविधि स्टार्टअप इनोभेसन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने समेत बताए ।
सरकारले नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास र प्रयोगका लागि ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ को मस्यौदा तयार पारेको सन्दर्भमा प्रस्तावित नीतिले सुरक्षित तथा दिगो एआई इकोसिस्टम निर्माण गर्ने, जनशक्ति विकास गर्ने, नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया