भोजपुर । भोजपुरमा ग्रेटर मुन्दुम पदमार्ग विस्तारको काम अघि बढेको छ । सुनसरीको कोशी टप्पु, उदयपुरको बेलका नगरपालिको मैनामैनी, भोजपुर हतुवागढीको माईबेनी हसनपुर हुँदै सेल्मे, तावाभञ्याङसम्म पदमार्ग जोड्ने लक्ष्यका साथ ‘ग्रेटर मुन्दुम ट्रेल’को काम सुरु भएको हो ।
यो ट्रेलको काम सुरु भएको भोजपुरको हतुवागढी, आमचोक र रामप्रसाद राई गाउँपालिकाको अन्तरपालिका बैठक बसेर थप योजना निर्माण गरिएको छ । तीन वटा नै स्थानीय तहका अध्यक्षको उपस्थितिमा पदमार्ग उपभोक्ता र निर्माण समितिलाई अभिमुखिकरण कार्यक्रमसमेत गरिएको छ । परियोजनाका कर्मचारी तथा स्थानीय पालिकाका इञ्जिनीयरहरुले उपभोक्ता समितिलाई काम कसरी गुणस्तरीय ढंगले गर्ने भन्ने विषयमा सहजीकरण गरेका हुन् ।
यो पदमार्गले किरातहरूको आस्थाको केन्द्रका रूपमा रहेको खुवालुङ क्षेत्र नसमेटिएका कारण धनकुटा, उदयपुर र भोजपुरका सात स्थानीय तहहरूको अन्तरपालिका बैठक बसेर सो क्षेत्र हुँदै पदमार्ग विस्तारको विषयमा छलफल गर्ने तयारी भइरहेको हतुवागढीका अध्यक्ष प्रेमकुमार राईले बताए ।
कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालय, पदमार्गमा आधारित पर्यटन विकास परियोजना, धनकुटाका सहिद भूमि र साँगुरीगढी गाउँपालिका, उदयपुरको बेलका नगरपालिका, भोजपुरको हतुवागढी तथा आमचोक र रामप्रसादराई गाउँपालिकाबीच छलफल गरेर खुवालुङ क्षेत्र हुँदै पदमार्ग विस्तार गर्ने योजना रहेको अध्यक्ष राईको भनाइ छ ।
‘हामीले भोजपुरमा तीन स्थानीय तहको अन्तरपालिका बैठक सम्पन्न गरेका छौँ, ‘अध्यक्ष राईले भने, ‘सुनसरीको कोशी टप्पुबाट सुरु भएर उदयपुर हुँदै भोजपुरसम्म विस्तार हुन लागेको ग्रेटर मुन्दुम पदमार्गमा खुवालुङ क्षेत्र छुटेको अवस्था छ, यहाँ महत्त्वपूर्ण खुवालुङ क्षेत्रलाई समेट्न तीन जिल्लाका सात स्थानीय तह र सरोकारवाला पक्षसँग छलफल गर्ने तयारीमा छौँ ।’
चार वर्षसम्म निर्माण हुने ग्रेटर मुन्दुम पदमार्ग निर्माणमा स्वीस सरकारको ५५ प्रतिशत, प्रदेश सरकारको १९ प्रतिशत, स्थानीय सरकारको १८ प्रतिशत र संघ सरकारको आठ प्रतिशत लागत साझेदारी हुने अध्यक्ष राईले जानकारी दिए । पहिलो आर्थिक वर्ष २०८१/८२ मा हतुवागढी–९ हसनपुर, आमचोक–२ यूँ र रामप्रसाद राई–६ बैकुण्ठेमा पदमार्ग निर्माणको काम सुरुआत भएको अध्यक्ष राईको भनाइ छ ।
निर्माण हुन लागेको ग्रेटर मुन्दुम ट्रेलको रुटमा ऐतिहासिक खुवालुङ क्षेत्र छुटेकाले यसलाई पनि समेट्नका लागि पहल गरिने रामप्रसाद राई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले बताए । रामप्रसाद राईमा पहिलो चरणमा रु ३० लाख लागतमा पदमार्ग निर्माणको काम सुरु भएकोसमेत उनले जानकारी दिए । सोही रकम बराबरमा हतुवागढी र आमचोक गाउँपालिकामा पनि पदमार्ग निर्माणको काम सुरु भएको अध्यक्ष राईको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया