चितवन जिल्ला अदालत उपस्थित भए रवि लामिछाने : हिजो मुद्दा दर्ता, आजै उपस्थित

लोकपथ
224
Shares

काठमाडौं । आफूविरुद्ध चितवनस्थित साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत ठगीविरुद्ध मुद्दा दर्ता भएको भोलिपल्टै आज बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने चितवन जिल्ला अदालत उपस्थित भएका छन् । 

सरकारी वकिलको कार्यालयले सो सहकारी संस्थाको बचत रकम अपचलनमा सभापति लामिछानेसहित ३२ जनाविरुद्ध हिजो मंगलबार अभियोजन दर्ता गरेको थियो । १२ जनालाई संगठित अपराध र ठगीको मुद्दा दर्ता भएको छ भने अन्यलाई ठगीमामात्रै मुद्दा चलाइएको छ । 

अदालतमा आजैदेखि रविको बयान सुरु हुनेछ ।  रविको बयान आज सकिए थुनछेक बहस सुरु हुने छ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् ।

गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेलाई ठगीको मुद्दा मात्रै चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयले भने रविलाई पनि दुवै मुद्दाको माग दाबी गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । 

साहारा चितवन सहकारीबाट गोरखा मिडियामा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?