काठमाडौं । विदेशमा पढ्नका लागि नेपाली विद्यार्थीले लैजाने रकममा थोरै कमी आएको छ । गत आर्थिक वर्ष २०८०/८१ को साउनदेखि पुससम्म नेपाली विद्यार्थीले विदेशमा पढ्नका लागि ५८ अर्ब ९५ करोड १४ लाख रुपैयाँ लगेकोमा चालु आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ५६ अर्ब ८२ करोड ७२ लाख रुपैयाँमात्रै लगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा भने ३५ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ बाहिरिएको थियो ।
नेपालबाट बर्सेनि लाखौं विद्यार्थीले वैदेशिक अध्ययनका लागि एनओसी लिने गरेका छन् । शिक्षा मन्त्रालयका अनुसार नेपालबाट ५६ राष्ट्रमा विद्यार्थी जाने गरेका छन् । तथ्यांकअनुसार सबैभन्दा विद्यार्थी जापान जाने गरेका छन् । त्यसपछि यूके(बेलायत), संयुक्त राज्य अमेरिका, अस्ट्रेलियालगायत ५६ राष्ट्रमा अध्ययनका लागि नेपाली विद्यार्थी जाने गरेका छन् ।
विदेशी पर्यटकले नेपालमा खर्चिने भन्दा नेपालीले विदेशमा खर्चिने रकममा व्यापक अन्तर
विदेशी पर्यटकले नेपालमा आएर खर्चिने भन्दा नेपालीले विदेशमा गएर खर्चिने रकममा व्यापक अन्तर आएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा विदेशी पर्यटकले नेपालमा ४१ अर्ब ८६ करोड ३ लाख खर्च गरेको राष्ट्र बैंकले जनाएको छ । तर सोही समयमा नेपालबाट यात्रा शीर्षकमा १ खर्ब १ अर्ब ९१ करोड ६३ लाख रुपैयाँ बाहिरिएको छ ।
भ्रमण आयभन्दा भ्रमण व्यय बढी
राष्ट्र बैंकका अनुसार भ्रमण आय ५ दशमलव १ प्रतिशतले वृद्धि भई ४१ अर्ब ८६ करोड रुपैयाँ पुग्दा भ्रमण व्यय भने १० प्रतिशतले बढेर १ खर्ब १ अर्ब ९१ करोड ६३ लाख रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांकअनुसार नेपालबाट भ्रमण खर्चमा लगिएको रकम बिजनेस र व्यक्तिगत गरेर झन्डै २ खर्ब पुगेको छ ।
बिजनेस शीर्षकमा २ अर्ब २० करोड बाहिरिएको छ भने व्यक्तिगत शीर्षकमा ९९ अर्ब ७० करोड ७६ लाख रुपैयाँ बाहिरिएको छ । स्वास्थ्य शीर्षकमा ३५ करोड २८ लाख रुपैयाँ बाहिरिएको छ ।
खुद सेवा आय ४३ अर्ब ५३ करोड रुपैयाँले घाटामा
राष्ट्र बैंकले चालू आवको ६ महिनामा खुद सेवा आय ४३ अर्ब ५३ करोड रुपैयाँले घाटामा रहेको जनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको ६ महिनामा खुद सेवा आय ३५ अर्ब ४३ करोड रुपैयाँले घाटामा रहेको थियो । ६ महिनाको अवधिमा विप्रेषण आप्रवाह ४ दशमलव १ प्रतिशतले वृद्धि भई ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव २ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ दशमलव १ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९ दशमलव ५ प्रतिशतले बढेको थियो ।
६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार ४ सय ३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६ सय २८ रहेको छ ।
यसैबीच, गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति साढे १३ प्रतिशतले वृद्धि भई २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति १६ अर्ब ८४ करोड पुगेको छ ।
चालु खाता १ खर्ब ४८ अर्ब १७ करोडले बचतमा
समीक्षा अवधिमा चालू खाता १ खर्ब ४८ अर्ब १७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ६२ अर्ब ५६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ८ करोडले बचतमा रहेको छ ।
खुद पुँजीगत ट्रान्सफर ४ अर्ब २९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ११ करोड रुपैयाँ रहेको थियो ।
यसैगरी, ६ महिनामा ६ अर्ब ५० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) आप्रवाह ४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो । ६ महिनामा शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोड रुपैयाँले बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ८२ करोडले बचतमा रहेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ५ दशमलव ४१ प्रतिशत रहेको छ ।
उपभोक्ता मुद्रास्फीति ५ दशमलव ४१ प्रतिशत
२०८१ पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५ दशमलव २६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७ दशमलव ६७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४ दशमलव १९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ५ दशमलव ७५ प्रतिशत र ४ दशमलव ९३ प्रतिशत रहेको थियो ।
यस अवधिमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक २८ दशमलव ५२ प्रतिशत, घिउ तथा तेलको १० दशमलव ६७ प्रतिशत, दाल तथा गेडागुडीको ९ दशमलव ४८ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ७ दशमलव २३ प्रतिशतले बढेको छ । मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३ दशमलव १२ प्रतिशतले घटेको छ ।
यस अवधिमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५ दशमलव ६८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५ दशमलव ३१ प्रतिशतले बढेको छ ।
प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ७३ प्रतिशत, मधेसको ५ दशमलव ९६ प्रतिशत, बाग्मतीको ५ दशमलव १४ प्रतिशत, गण्डकीको ४ दशमलव ३७ प्रतिशत, लुम्बिनीको ४ दशमलव ८३ प्रतिशत, कर्णालीको ४ दशमलव ६० प्रतिशत र सुदूरपश्चिमको ५ दशमलव ६७ प्रतिशत रहेको छ ।
यस अवधिमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५ दशमलव शून्य ३ प्रतिशत, तराईको ५ दशमलव ६ प्रतिशत, पहाडको ५ दशमलव ४१ प्रतिशत र हिमालको ५ दशमलव २७ प्रतिशत रहेको छ ।
विदेशी विनिमय सञ्चिति २३१६ अर्ब ८४ करोड रुपैयाँ
२०८१ असार मसान्तमा २०४१ अर्ब १० करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३ दशमलव ५ प्रतिशतले वृद्धि भई २०८१ पुस मसान्तमा २३१६ अर्ब ८४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा २०८१ पुस मसान्तमा १० दशमलव ३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको छ ।
१४ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
आव २०८१–८२ को ६ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७ दशमलव ३ महिनाको वस्तु आयात र १४ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया