झापामा ६ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी फेला

लोकपथ
84
Shares

झापा । झापामा ६ बालबालिकासहित ६६ जना कुष्ठरोगीका नयाँ बिरामी फेला परेका छन् । चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा सो सङ्ख्यामा नयाँ कुष्ठरोगी फेला परेका हुन् । 

जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठरोग ‘फोकल पर्सन’ वीरेन्द्र दासका अनुसार १५ पालिकामध्ये सबैभन्दा बढी भद्रपुरमा ११ नयाँ कुष्ठरोगी फेला परेका छन् ।  कनकाई नगरपालिका, मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा एक/एक, शिवसताक्षीमा सात, कमलमा तीन, दमकमा १०, गौरादह र गौरीगञ्जमा पाँच/पाँच, झापा गाउँपालिका र बाह्रदशीमा दुई/दुई, बिर्तामोडमा ६, हल्दिबारीमा चार तथा कचनकवलमा आठ नयाँ कुष्ठरोगी फेला परेका छन् । आर्थिक वर्ष २०७९/८० मा एक सय ६० तथा आव २०८०/८१ मा एक सय २२ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । 

जिल्लामा हात्तीपाइले रोगको सङ्क्रमण समेत उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले बताए  । जिल्लामा हाल हात्तीपाइले रोगीको सङ्ख्या करिब दुई हजार दुई सय रहेको उनले बताए। प्रादेशिक अस्पताल भद्रपुर र दमक अस्पतालमा हात्तीपाइले रोगको निःशुल्क उपचार हुँदै आएको छ । प्रादेशिक अस्पताल भद्रपुरका डा सुजन काफ्लेले आर्थिक वर्ष २०७९/८० देखि अस्पतालमा हात्तीपाइले रोगको उपचारका लागि छुट्टै बहिरङ्ग (ओपिडी) सेवा सुरु भएको बताए ।

‘हात्तीपाइले रोगको उपचारका लागि सरकारले वार्षिक  दुई लाख उपलब्ध गराउने गरेको छ,‘ उनले भने । ‘बिरामीलाई यातायात खर्च दिन्छौँ, रकम  पर्याप्त हुँदैन, विपन्न वर्गका धेरै बिरामी छन्, आर्थिक अभावले उनीहरू उपचार गराउन आउँदैनन्, ‘डा काफ्लेले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?