काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार माइक्रोसफ्टले चिनियाँ एप टिकटकको अमेरिकी व्यापार किन्न सक्ने बताएका छन् ।
पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अहिले दुवै पक्षबीच वार्ता भइरहेको र टिकटकका लागि अन्य कम्पनीहरूले पनि बोली लगाउन चाहेको बताएका हुन्।
‘माइक्रोसफ्ट लगायत अन्य धेरै कम्पनीहरू पनि छन्, जो टिकटक किन्न चाहन्छन्। टिकटकको ५० प्रतिशत स्वामित्व अमेरिकाको होस् भन्ने उनीहरू चाहन्छन् ।’ ट्रम्पले भनेका छन् ।
अमेरिकामा टिकटकका १७ करोडभन्दा बढी प्रयोगकर्ता छन्। यसअघि अमेरिकाले सुरक्षा चिन्ताका कारण टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । अमेरिकी सरकारले यस विषयमा कानुन पनि ल्याएको छ । कानुन अन्तर्गत, टिकटक अमेरिकामा जनवरी १९ मा बन्द गरिएको थियो।
तर, राष्ट्रपति चुनाव जितेपछि ट्रम्पले टिकटकलाई निरन्तरता दिने पक्षमा रहेको संकेत गरेका थिए । राष्ट्रपति बनेपछि ट्रम्पले एक कार्यकारी आदेश मार्फत टिकटकलाई ७५ दिनको समय दिएका छन्, जसअन्तर्गत टिकटकले अमेरिकामा रहेको आफ्नो व्यापार अमेरिकी कम्पनीलाई बेच्नुपर्नेछ ।
यसअघि ट्रम्पले टेस्लाका सीईओ र ट्रम्पका नजिकका सहयोगी एलोन मस्क र ओरेकल कर्पोरेशनका अध्यक्ष ल्यारी एलिसनले टिकटक किन्ने अनुमान र खबरहरू बाहिरिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया