काठमाडौं । नेपालको होटेल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटेल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार होटेलको कुल स्थायी सम्पत्ति पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रहेको छ ।
तथ्याङ्कअनुसार होटेल उद्योगमा साढे १० अर्बभन्दा बढी विदेशी लगानी रहेको पाइएको छ । नेपालमा एक लाख ४२ हजार दुई सय २३ होटेल/रेस्टुरेन्ट रहेको तथ्याङ्क छ । कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी डा हेमराज रेग्मीका अनुसार कार्यालयले गरेको यो सर्वेक्षण यस विधाको पहिलो बृहत् सर्वेक्षण हो । यसअघि ‘होटेल तथा लज सर्वेक्षण २०६०’ गरिएको थियो । उक्त सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित प्रतिष्ठान तारे होटेल, रिसोर्ट र गैरतारे होटेलमात्र समेटिएको थियो ।
डा .रेग्मीका अनुसार यस पटकको सर्वेक्षणमा होटेल, लज, रिसोर्ट, होमस्टे, अतिथि गृह/सेवा सदन, छात्रावास/होस्टेल, रेस्टुरेन्ट तथा क्याटरिङ/पार्टी प्यालेसको विस्तृत संकलन रहेकाले यो सर्वेक्षणलाई पहिलो बृहत् सर्वेक्षण भनिएको हो । देशभरका डेढ लाख होटेलमध्ये एक हजार एक सय २१ होटेलमा पूर्ण विदेशी लगानी रहेको छ । जसमध्ये एक हजार ७३ होटेलमा एकल लगानी र ४८ मा विदेशीको संयुक्त लगानी रहेको पाइएको छ । देशभर ५९ होटेलमा भने नेपाली र विदेशी लगानीकर्ताको संयुक्त लगानी छ ।
कार्यालयले आर्थिक वर्ष २०७९/८० मा देशभरि सञ्चालनमा रहेका आवास तथा भोजन क्रियाकलाप गर्ने प्रतिष्ठानको तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, व्यवस्थापन गरेको थियो । सर्वेक्षणबाट अर्थतन्त्रमा आतिथ्य उद्योगले पुर्याएको योगदानको मापन गर्न सहज हुने विश्वास लिइएको छ । विसं २०७९ साउन १ देखि २०८० असार ३० गतेसम्म सर्वेक्षण गणना गरिएको थियो । पर्यटन विभागबाट तारे होटेल तथा रिसोर्ट सञ्चालन अनुमति पाएका र १० वा त्यसभन्दा बढी जनशक्ति संलग्न रहेका प्रतिष्ठानको तथ्याङ्क सङ्कलन पूर्ण गणना विधिबाट गरिएको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
तथ्याङ्कअनुसार १० करोडभन्दा बढी स्थायी सम्पत्ति भएका होटेल/रेस्टुरेन्ट सङ्ख्या चार सय ९३ छन् । तीमध्ये बागमतीमा दुई सय १४ छन् । एक करोडदेखि १० करोडसम्म सम्पत्ति भएका होटेल आठ हजार सात सय ३२ छन् । दुई लाखभन्दा कम लगानीमा खुलेका होटेल/रेस्टुरेन्ट ६७ हजार पाँच सय २१ छन् ।
तथ्याङ्कमा देशभरि सञ्चालनमा रहेका होटेल/रेस्टुरेन्टमध्ये एक लाख ३७ हजार सात सय १६ प्रतिष्ठानका लगानीकर्ता एकल नेपाली नागरिक रहेको पाइएको छ । जसको सम्पत्ति चार खर्ब १८ अर्ब ६२ करोड हाराहारी छ । नेपाली नागरिकको संयुक्त लगानीमा तीन हजार तीन सय २७ होटेल/प्रतिष्ठान सञ्चालनमा छन् । जसमा एक खर्ब १४ अर्ब लगानी रहेको देखिन्छ । नेपाली र विदेशी संयुक्त लगानीमा भने ५९ वटा मात्र होटेल/रेस्टुरेन्ट रहेको छ । सर्वेक्षणको नतिजाअनुसार आवास तथा भोजन सेवन सेवा गर्ने प्रतिष्ठानमा रोजगार व्यक्तिको सङ्ख्या एक लाख पाँच हजार चार सय ५९ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया