नेशनल लाइफ इन्स्योरेन्सको ‘चेयरपर्सन कार्यक्रम: ४९१ जना अभिकर्ताहरूलाई चेयरपर्सन क्लब सम्मान

लोकपथ
112
Shares

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूका लागि तीन दिने चेयरपर्सन क्लब सदस्य सम्मान तथा तालिम कार्यक्रम गरेको छ । आर्थिक वर्ष २०८०÷२०८१ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ४९१ जना अभिकर्ताहरूलाई चेयरपर्सन क्लबको सदस्यता वितरण गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

काठमाडौंस्थित होटेल सोल्टी क्राउन प्लाजामा सम्पन्न कार्यक्रममा ४९१ जना अभिकर्ताहरूलाई चेयरपर्सन क्लबको सदस्यता वितरण, प्रशिक्षण प्रदान गरी सम्मान पनि गरिएको थियो ।

कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले चेयरपर्सन क्लब कार्यक्रममा अथक परिश्रम र मेहनतबाट तोकिएको लक्ष्य पुरा गरी सदस्यता प्राप्त गर्ने सबैलाई बधाई ज्ञापन गरिन् । उनले अभिकर्ताहरूलाई चेयरपर्सन क्लब सदस्यता वितरण र विभिन्न विधाहरूमा सर्वोत्कृष्ट घोषित अभिकर्ताहरूलाई सम्मान प्रदान गरेकी थिइन् । 

अध्यक्ष सिंहले चालु आर्थिक वर्ष समग्र जीवन बिमा बजार ९.९४ प्रतिशतले वृद्धि भएकोमा कम्पनीले १७ प्रतिशतले वृद्धि गर्न सफल हुनुमा अभिकर्ताहरूको अतुलनीय योगदान रहेको बताइन् । साथै उनले कम्पनीको वित्तीय सूचकहरू पनि सन्तोषप्रद रहेको तथा कम्पनीको वित्तीय संरचना, कम्पनीका प्रचलित बिमा योजनाहरू, बीमितहरुलाई प्रदान गर्दै आएको प्रतिफल बोनस दर, पुँजी बजारमा कम्पनीको उपस्थिति, व्यापक अभिकर्ता सञ्जाल आदि सबैले आउने दिनहरूमा कम्पनीले थप प्रगति गर्नेमा विश्वस्त रहेको बताइन् ।  

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीलाई अग्रस्थानमा पु¥याउँन महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहसँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी केही नयाँ अभ्यासहरू सुरु गरेको र यसबाट व्यावसायिक अभिकर्ताहरूलाई प्रत्यक्ष लाभ पुगेको बताए । साथै उनले चेयरपर्सन क्लब कार्यक्रमलाई थप मर्यादित र आकर्षक बनाउन विगतदेखि नै प्रयास गर्दै आइरहेको हुँदा उत्कृष्ट व्यवसाय गर्ने व्यावसायिक अभिकर्ताहरू थप उत्साहित भएको बताए ।

कार्यक्रममा उपस्थित अभिकर्ताहरूलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी जानकारी दिने उद्देश्यले नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानेले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा प्रशिक्षण प्रदान गरे । 

यसै गरी, प्रशिक्षक अमित शर्माले कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई उत्प्रेरणात्मक प्रशिक्षण प्रदान गरे । उनले विभिन्न उदाहरण प्रस्तुत गर्दै कुनै पनि कार्यमा सफलता हासिल गर्नका लागि आफ्नो काममा विशेष फोकस गर्नुपर्ने बताए । 

कार्यक्रममा चालु आर्थिक वर्षमा १०० वा सो भन्दा बढी बीमालेख बिक्री गर्न सफल अभिकर्ताहरू, नेशनल स्टार र नेशनल सुपर स्टार घोषित अभिकर्ताहरू, विगत १० वर्षदेखि निरन्तर चेयर पर्सन क्लबमा छनौट हुने अभिकर्ताहरू, आ.व. २०८०÷८१ मा सञ्जाल व्यवसायमा नेपालभरबाट उत्कृष्ट व्यवसाय गर्ने सात जना र आफ्नो कोडबाट उत्कृष्ट व्यवसाय गर्ने सात जना अभिकर्ताहरूलाई पनि विशेष सम्मान गरिएको थियो । 

यसै गरी, नेपालभरबाट आफ्नो कोड र सञ्जालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वितीय र तृतीय हुने अभिकर्ताहरू र समूहगत व्यवसायबाट प्रथम हुने एक जना गरी सात जना अभिकर्ताहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?