नेपालको कुल घरपरिवारमा १४ प्रतिशत एकल महिला

नेपालमा एकल महिलाको संख्या ९ लाख ९७ हजार ६६२

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालमा ९ लाख ९७ हजार ६ सय ६२ एकल महिला रहेको देखाएको छ । सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणनाको तथ्यांकबाट छुट्टै अध्ययन गरी निकालिएको एकल महिला तथ्यांक सार्वजनिक गरेको हो ।

तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा बढी एकल महिलामा बिधुवा महिला बढी रहेको देखाएको छ । नेपालको ६६ लाख ६० हजार ८४१ गैर संस्थागत घरपरिवारमध्ये ९ लाख ३६ हजार ९८ घरपरिवारमा कम्तीमा एक एकल महिला/ बिधुवा, सम्बन्धविच्छेद, भिन्न बसेको र ३५ वर्ष वा सोभन्दा माथिका अविवाहित महिला पाइएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक राजन सिलवालले बताए ।

उनले जसमा ७ लाख ९९ हजार ७४४ घरपरिवारमा कम्तीमा एक बिधुवा महिला रहेको देखिएको पनि बताए । साथै उनले कुल घरपरिवारमध्ये १४ प्रतिशत घरपरिवारमा एकल महिला रहेको तथ्यांकले देखाएको र एकल महिला रहेका १४ प्रतिशत घरपरिवारमध्ये १२ प्रतिशत बिधुवा र २ प्रतिशत अन्य एकल महिला रहेकाे पाइएको उल्लेख गरे ।

सिलवालले कार्यालयले अध्ययन गर्दा बिधुवा ,सम्बन्ध विच्छेद, भिन्न बस्ने चार समूहलाई जोडेर एकल महिलाको तथ्यांक विश्लेषण गरिएको बताए ।  

त्यस्तै गरी उनले कम्तीमा एकजना बिधुवा महिला कर्णाली प्रदेशमा ११ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १४ प्रतिशत यी दुई प्रदेशमा देखिएको  बताए । उनले दश वर्ष वा सो भन्दा माथिका कुल महिला जनसंख्यामध्ये ८.२ प्रतिशत एकल महिला रहेको भन्दै तथ्यांकले विदुर २.२ प्रतिशत भन्दा बिधुवा महिलाको संख्या धेरै ६.६ प्रतिशत रहेको बताए । 

उनले सन् २००१ को जनगणनामा एकल महिला ३.७ प्रतिशत मात्र रहेकोमा सन् २०२१ मा झन्डै दोब्बरले वृद्धि भएको र सन् २००१ मा थप ३ प्रतिशतले बढी २०२१ मा ६.६ प्रतिशत पुगेको उल्लेख गरे । उनले विगत दुई दशकमा सम्बन्धविच्छेद र छुट्टिने दरमा वृद्धि भएको भन्दै ३५ वर्ष र माथिका अविवाहित महिलाको अनुपात सन् २००१ मा ०.५ प्रतिशत थियो भने २०२१ मा ०.७ प्रतिशत पुगेको जानकारी दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?