खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाभित्र जथाभाबी छरिएका वा फालिएका शिशाजन्य बोत्तल ३५ दिनभित्र व्यवस्थापन गर्न व्यवसायीलाई अल्टिमेटम दिएको छ ।
व्यवसायका नाममा बाहिरी जिल्लाबाट आयात हुने पेय पदार्थका बोत्तल प्रयोग गरिसकेपछि जथाभाबी फालिएका कारण नगरपालिकाको पर्यावरणमा असर पुगेकाले ३५ दिनभित्र व्यवस्थापन गर्न नगरपालिकाले व्यवसायीलाई अल्टिमेटम दिएको हो ।
नगरपालिकामा फोहर गर्ने व्यक्ति, पसल, कम्पनी अथवा थोक बिक्रेता स्वयंले उक्त फोहर सफा गर्नुपर्ने नगरपालिकाको स्वीकृत नीति तथा कार्यक्रममा उल्लेख भएकाले शिशाजन्य फोहर व्यवस्थापन गर्न व्यवसायीलाई अल्टिमेटम दिइएको नगरप्रमुख तीर्थराज भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिए।
‘नगरपालिकाभित्रका धार्मिक तथा पर्यटकीय ठाउँमा जथाभाबी शिशाका बोत्तल फालिएका छन्, फोहर गर्ने व्यक्ति, पसल, कम्पनी अथवा थोक बिक्रेता आफैँले उक्त फोहर सफा गर्नुपर्ने नगरपालिकाको स्वीकृत नीति तथा कार्यक्रममा उल्लेख छ, ’उनले भने, ‘जथाभाबी फालिएका फोहर व्यवस्थापन गर्न यसअघि पनि पटकपटक पत्राचार गरिएको छ, आफूले गरेको फोहर स्वयं व्यक्ति, पसल, कम्पनी अथवा थोक बिक्रेताले सफा नगरेको खण्डमा अबको ३५ दिनपछि कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ ।’
नगरपालिकाको निर्देशनलाई व्यवसायीले नमानेका खण्डमा आगामी दिनमा शिशाजन्य बोत्तल आयातमा पूर्ण प्रतिबन्ध लगाइने नगर प्रमुख भट्टराईले जानकारी दिए । नगरपालिकाको पर्यावरणलाई स्वच्छ र सफा राख्नका लागि सरोकारवाला निकायसँग पटकपटक छलफल तथा अन्तरक्रियासमेत गर्दै आइएको नगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया