साफ महिला च्याम्पियनसिप : बंगलादेशलाई २ वर्षअघिको बदला नेपालले तिर्ला ?

लोकपथ
728
Shares

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । आज साँझ साढे ६ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेलमा नेपाल र बंगलादेश भिड्दैछन् ।

सोमबार भएको सेमिफाइनल खेलमा चामत्कारिक रुपमा भारतलाई हराएसँगै नेपालले फाइनलको बाटो तय गरेको हो ।

सेमिफाइनलमा भारतसामु नेपाली टोलीले देखाएको बहादुरीका कारण आजको खेल निक्कै रोमान्चक बन्ने देखिन्छ । ५ पटक फाइनलमा पुगेर पनि उपविजेतामा सीमित नेपाल अन्तर्राष्ट्रिय स्तरको खेल जितेर इतिहास रच्नुपर्ने दबाबमा रहेको छ भने पुनः दोस्रोपटक च्याम्पियन बन्ने दाउ र दबाबमा बंगालदेशको टोली रहेको छ । सन् २०२२ मा पनि अहिले जस्तै भारतलाई नै सेमिफाइनलमा हराएर नेपालले फाइनलमा उही बंगलादेशसँग भिडेको थियो । ३–१ को अन्तरले बंगलादेशसँग पराजित नेपालले २ वर्षअघिको दुई गोलको अन्तरको बदला तिर्ने अवसर पनि हो ।

दुवै टिमका आ–आफ्नै कमजोरी

साफ च्याम्पियनसिपको कुरा गर्दा नेपाल र बंगलादेशबीच ४ खेल भएका छन् । जसमा नेपालले ३ खेल जितेको छ भने बंगलादेशले १ खेल मात्रै जितेको छ ।

साफ च्याम्पियनसिपमा नेपालले ५ पटक फाइनल खेलेको छ भने बंगलादेशले एकपटक मात्रै फाइनल खेलेको थियो । इतिहास रच्ने दाउमा नेपाल र अर्को जित बनाउने दाउमा बंगलादेश रहे पनि दुवै टिममा आ–आफ्नै कमजोरी रहेका छन् ।

नेपालका दुई मुख्य खेलाडी हिराकुमारी भुजेल र दीपा शाही लिग चरणको पहिलो चरणमा नै घाइते भएका छन् । सेमिफाइनल खेलमा रेखा पौडेलले रातो कार्डका कारण फाइनल खेल्न पाउने छैनन् । खेल विश्लेषकहरुका अनुसार बंगलादेशी टिम आफैँ कलहमा रहेको छ । बंगलादेशका प्रशिक्षक पिटर बट्लर र मुख्य खेलाडीबीच कुरा मिलिरहेको छैन । जसका कारण पनि नेपालले त्यसबाट फाइदा लिनसक्ने विश्लेषकहरु बताउँछन् ।


यता ५ पटक च्याम्पियन बनिसकेको भारतलाई समेत सेमिफाइनलमा रोमान्चक रुपमा हराएको नेपालले बंगलादेशलाई हराउन सेमिफाइनलकै जस्तो कन्फिडेन्टका साथ नेपालले खेल्नुपर्ने खेल विश्लेषक सञ्जिव शिल्पकारले लोकपथलाई बताए ।

पटकपटक फाइनल पुगेका कारण र अघिल्लो खेलमा देखाएको कौशलताका कारण पनि नेपाली टिमको प्रस्तुती राम्रो हुने उनको तर्क छ ।

‘भारतसँगको खेल हेर्दा नेपालको मनोबल एकदम उच्च देखिन्छ । तर आज खेलचाँदी बंगलादेशसँग छ । यो भन्दा अघिल्लो संस्करणको विजेता टिम भए पनि आजको खेलमा नेपालको कन्फिडेन्स धेरै हुन्छ,’ उनले भने ।

नेपाली टिमसँग बंगलादेशको टिमको तुलना गर्दा केही बलियो र वेल अर्गनाइज्ड भए पनि साबित्राको जोसका कारण सन्तोषजनक अवस्थामा रहने अवस्था रहेको उनको भनाइ छ । तर रेड कार्डका कारण रेखा खेलमा फर्किन सक्ने अवस्था नरहँदा केही कठिनाइ पर्ने उनी बताउँछन् । साबित्रा र रेखाको कम्बिनेसन राम्रो मिल्ने कारण दुई मध्ये एकको कमी महसुस हुँदा नेपाली खेलाडीमा मनोबल कमजोर रहेमा त्यसले असर गर्न सक्ने उनको अनुमान छ ।

‘साबित्राको आगमनपछि नेपाली टिम अर्गनाइज्ड देखिएको छ । सेमिफाइनलमा रेखा पौडेललाई गुमायौँ, अपील गरे पनि त्यसको नतिजा आएको छैन । यदी नेपालको पक्षमा निर्णय आएन भने रेखालाई हामीले खेलका लागि गुमाउँछौँ । जुन नेपालको लागि ठुलो घाटा हुनसक्छ,’ उनले भने, ‘रेखा र साबित्राको राम्रो कम्बिनेसन भएको अवस्थामा डिफेन्सको लागि दुई जनाको कम्बिनेसन बंगलादेशका लागि थप कठिन पर्नेथियो । तर रेखा नभएको अवस्थामा साबित्रा एक्लैको भर पर्नुपर्ने अवस्था हुनसक्छ,’ उनले लोकपथसँग भने ।

सेमिफाइनलकै कन्फिडेन्टका साथ साम्बाले खेल्न सके नेपालले होम ग्राउण्ड र होम क्राउडमा नेपालले सहजताका साथ साफ च्याम्पियनसिपको उपाधी जित्न सक्ने बताए ।

‘आज साबित्राले कतिको फममा खेल्नेछिन् भन्ने कुराले पनि म्याटर गर्छ । सम्पूर्ण टिमकै कोअर्डिनेसनले गेम जितिने भए पनि साबित्राको भूमिका निर्णायक बन्नेछ,’ उनले भने, ‘अस्ति सेमिफाइनलमा कमजोर अवस्थामा पुगेको नेपालले वेल अर्गनाइज्ड रुपमा खेलेर आशा जगायो त्यही कन्फिडेन्ससहित होम ग्राउण्डमा होम क्राउडको एडभान्टेज नेपालले लिन सकेमा बंगलादेशलाई थप चुनौती बनाउन सक्छ ।’

यसअघि ६ वटा संस्करणमा के–के भएको थियो ?

सन् २०१० मा औपचारिक रुपमा महिला साफ च्याम्पियनसिपको आयोजना भएको थियो । बंगलादेशमा आयोजना भएको पहिलो महिला साफमा नेपालले समूह चरणमा माल्दिभ्सलाई ६–०, अफगानिस्तानलाई १३–० र पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा पनि नेपालले शानदार प्रदर्शन गर्दै बंगलादेशलाई ३–० ले पराजित गर्दै फाइनल पुग्यो । फाइनलमा नेपालले भारतको सामना गरेको थियो । त्यो बेलाको रोचक पक्ष के थियो भने नेपाल र भारत दुवै टोली एक गोल पनि नखाइ फाइनल पुगेका थिए । अघिल्ला खेलहरुमा गोलको वर्षा गरिरहेको नेपालले भारतसँग एक गोलले पराजय भोग्नु पर्यो ।

दोस्रो संस्करण

दोस्रो संस्करण पनि नेपाललाई फाइनलसम्म फापेकै थियो । श्रीलंकाको कोलोम्बोमा भएका समूह चरणका खेलहरुमा नेपालले पाकिस्तानलाई ८–०, माल्दिभ्सलाई ५–० र अफगानिस्तानलाई ७–१ ले पराजित गर्दै नेपाल सेमिफाइनल पुगेको थियो । सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३–० को गोलअन्तरले पराजित गरेसँगै भारतसँगको फाइनलको भेट पक्का गरको थियो । उक्त फाइनल खेलले नेपाली समर्थकमा खुशीको बहार ल्याएको थियो, किनभने नेपालले खेल सुरु भएको तीन मिनेटमै भारतविरुद्ध एक गोल गरेको थियो । तर, खुशी लामो समय टिक्न सकेन । सुरुवाति अग्रता जोगाउन नसक्दा नेपालले पुनः भारतसँग ३ १ गोल अन्तरको हार ब्यहोरेको थियो ।

तेस्रो संस्करण

पाकिस्तानको इस्लामावादमा भएको तेस्रो संस्करणमा नेपालको त्यस्तै नियति बन्यो । फाइनलमा नेपाल र भारतको भेट भयो । फाइनलसम्म पुग्न नेपालले समूह चरणमा भुटानलाई ८–०, पाकिस्तानलाई २–० र श्रीलंकालाई ३–० ले पराजित गर्यो । सेमिफाइनलमा बंगलादेशलाई १–० ले पराजित गर्दै नेपालले फाइनलमा इन्ट्री त पायो तर तेस्रो संस्करणको फाइनल सायद नेपाली फुटबल टोली र नेपाली फ्यानहरुले सहजै भुल्न सक्ने बनेन । भुलुन् पनि कसरी, नेपालले भारतसँग ६–० को फराकिलो गोलअन्तरको सामना गर्नुपर्यो । भारतसँगको अघिल्ला हारहरुको बदला तिरेर उपाधि चुम्ने उदेश्य बुनेको नेपाली टिमले फाइनलमा आधा दर्जन गोलको सामना गर्नुपरेको थियो ।

चौथो संस्करण

चौथो संस्करणमा भने नेपालको यात्रा सेमिफाइलनमै टुंगियो । भारतको सिलिगुढीमा भएको उक्त च्याम्पियनसीपमा नेपालले समूह चरणको खेलमा भुटानलाई ८-०, माल्दिभ्सलाई ९-० र श्रीलंकालाई १-० ले पराजित गरेको थियो । पाकिस्तानले उक्त संस्करणमा सहभागिता नजनाएको कारण नेपाललको भारतसँग सेमिफाइनलमै भेट भयो । नेपालले भारतसँग ३-१ गोल अन्तरको हार व्यहोर्यो । फाइनलमा भारत र बंगलादेशले प्रतिस्पर्धा गरे र भारतले चौथो पटक साफको उपाधि आफ्नो पोल्टोमा पार्यो ।

पाँचौ संस्करण

पाँचौ संस्करणमा नेपालले पहिलोपटक घरेलु मैदानमा साफ खेल्न पाएको थियो । विराटनगरमा आयोजित उक्त संस्करणमा नेपालले समूह चरणका खेलमा भुटानलाई ३–० र बंगलादेशलाई ३–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल फेरि चौथोपटक फाइनलमा पुगेको थियो । घरेलु मैदान भएकाले पनि नेपाललाई त्यसपटक थप उर्जा र उपाधि घरेलु मैदानमै राख्ने दबाब थियो । तर, नेपाल चौथोपटक पनि भारतसँग फाइनलमा पराजित भयो । नेपाललाई ३–१ गेल अन्तरले पराजित गर्दै भारत लगातार पाँचौपटक च्याम्पियन बन्यो ।

छैटौँ संस्करण

साफ महिला च्याम्पियनसिपको दोस्रोपटक आयोजक बनेको नेपाल पटकपटक फाइनलमा पुगेर पनि उपविजेता बन्न परेको चोट लिएको नेपालले निक्कै राम्रो प्रस्तुती दिएको थियो ।

अघिल्लो संस्करणलाई विश्लेषण गर्दा सेमिफाइनल खेल निकै रोचक थियो । नेपालले साफमा पहिलो पटक आफ्नो तगारोको रुपमा रहेको भारतलाई समेत हराएसँगै नेपाली खेलाडी र खेलप्रेमीहरुमा केही आशा थपिएको थियो । ५ पटक विजेता भारतलाई पहिलो पटक पराजित गरेका कारण नेपालले नै उपाधि हात पार्छ भन्नेमा सबै नेपाली फुटबलप्रेमीहरु विश्वस्त थिए । तर नेपालको उपाधि चुम्ने सपनामा तुसारापात भयो, फाइनलमा नेपालले बंगलादेशसँग हार व्यहोर्यो ।

साफको उक्त संस्करणको सेमिफाइनलमा बंगलादेश भुटानलाई पराजित गर्दै प्रवेश गरेको थियो । उसो त बंगलादेश पनि नेपाललाई ३–१ ले हराउँदै पहिलो पटक विजेता बनेको थियो ।

सातौँ संस्करण

साफ महिला च्याम्पियनसिपको सातौँ संस्करण अन्तर्गतको फाइनल खेल आज हुँदैछ । यसअघि नै दुईपटक आयोजक राष्ट्र बनिसकेको नेपालले तेस्रो पटक आयोजक बन्दा नेपाल समूह चरणमा अपराजित रहँदै फाइनलमा पुगेको हो । नेपाली टोली समूहगत चरणका तीनमध्ये दुई खेलमा विजयी भएको थियो भने एक खेलमा भने बराबरीमा रोकिएको थियो । नेपाल समूह चरणको पहिलो खेल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलको फराकिलो अन्तरले हराएको थियो । त्यस्तै तेस्रो खेलमा श्रीलंकलाई ६–० गोल अन्तरले पराजित गरेको नेपालले पाँचपटक च्याम्पियन बनेको भारतलाई पेनाल्टीसुटआउटमा हराएको थियो । गोलको मान्यता नपाएर दबाबमा खेलेको नेपालले बराबरीमा खेल सकिँदा भारतसँग पेनाल्टीमा गएको सेमिफाइनल खेलमा नेपाल ४–२ को अन्तरले विजयी हुँदै फाइनलमा पुगेको थियो ।

थप सशक्त बन्दै गइरहेको नेपाली टोलीले घरेलु मैदानमा हजारौँ नेपाली दर्शकहरुको सामु पहिलोपटक इतिहास रच्ला वा दोस्रोपटक उही पुरानो प्रतिद्धन्दीसँग पराजित होला त्यो हेर्न फाइनलको प्रतिक्षा गरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?