काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको प्रतिवाद गरेका छन् ।
बुधबार पार्टीको पोलिटब्यूरो बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्डले धोका दिन लागेको बुझेर आफूले सहकार्य तोडेको बताए । साथै उनले प्रचण्डले गठबन्धन तोड्न छुरा तिखारेर बसेको तर आफूले राउण्ड किक हानेको टिप्पणी गरेका थिए ।
‘प्रचण्डले छुरा तिखारेर बसेका थिए । तर मैले एक राउण्ड किक दिएको हो, अहिले असन्तुलित भएर बोल्दैछन्,’ उनले भनेका थिए ।
त्यसबारे प्रतिक्रिया दिँदै प्रचण्डले जनताले ओलीमाथि राउण्ड किक हान्ने भन्दै कटाक्ष गरे ।
बिहीबार शहीदहरु शेरमान कुँवर र मोहनचन्द्र गौतमको २०औँ स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
‘प्रचण्डलाई राउण्ड किक हानेको भनेर पनि बोलेछन् प्रधानमन्त्रीमा बसेका मान्छेले । अब जनताको राउण्ड किक कस्तो हुन्छ तिनले देख्नेछन् । उनले त मलाई राउण्ड किक हानेका रहेछन्, अब जनताको राउण्ड किक कस्तो हुन्छ भन्ने म ठान्छु,’ उनले भने ।
त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक (टीआरसी) टुंगिसकेको अवस्थामा फागुन १ गते जनयुद्ध दिवस मनाउन कसैले रोक्न नसक्ने बताए । साथै माओवादी आन्दोलनप्रति अफवाह फैलाउने काम भइरहेको भन्दै त्यसको प्रतिवाद गर्न समेत नेता कार्यकर्ताहरुलाई आह्वान गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया